पहिरोले परिवारसँगै सपना पनि बगायो

 असार २२, २०७७ सोमबार १०:१०:१४ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – छोराछोरीको पढाई खर्च र घरायसी खर्चको जोहो गर्ने सपना बोकेर केदारस्युँ गाउँपालिका–८ मल्लेसीका कटे जेठारा गएको माघमा भारत जानुभयो । उहाँ अहिले पनि भारतमै हुनुहुन्छ ।

गाउँघरमा आम्दानीको बाटो केही पनि नहुने र खेती किसानीले खान नपुग्ने भएपछि उहाँ घरखर्च चलाउन र छोराछोरीका लागि एकजोर नयाँ लुगाकपडा ल्याउने सपना बोकेर रोजगारीका लागि भारत पुग्नुभएको थियो । तर उहाँको सपना अधुरै रह्यो । 

गएको शुक्रबार बेलुकीे पहिरोमा परेर कटेकाे परिवारका सबै सदस्यले ज्यान गुमाए । उहाँकी ४१ वर्षीया श्रीमती राममती देवी जेठारा, १६ र ७ वर्षीया छोरी शान्तिकुमारी र अश्मिता जेठारा र ११ वर्षीय छोरा प्रयाग जेठाराको एउटै चिहान भयो । राति सबै सुतिरहेको बेला घर माथिबाट आएको पहिरोबाट कोही पनि बच्न सकेनन् ।

राति १ बजेतिर गाउँमा कोलाहल मच्चियो । बाहिर मुसलधारे पानी परिरहेको थियो । रातिको समय ढुङ्गा खसेको आवाज सुनेर स्थानीय जय जेठारा घर बाहिर निस्किनुभयो । हातमा टर्चलाईट बोकेर गाउँमाथि जानुभयो । पहिरो जाने संकेत पाएपछि उहाँले गाउँलेलाई जानकारी गराउनुभयो । सबै जना भागे । 

तर राममती भने भाग्न पाउनुभएन । उहाँ एक्लै भएको भए सायद भाग्न सफल हुनुहुन्थ्यो होला । गाउँलेहरु भन्छन्, ‘छोराछोरीलाई बिउँझाएर सँगै बाहिर निस्कन खोज्दा सबैको एउटै चिहान भयो ।’

राममतीको पहिरोमा पुरिएको शव निकाल्दा उहाँको हातमा टर्चलाइट पनि भेटिएको थियो । उहाँकै घरमा सुत्न आएकी नवराज जेठाराकी १५ वर्षीया छोरी सन्तु जेठाराको समेत त्यहीँ पुरिएर ज्यान गयो । नवराज जेठारा र कटे जेठारा भाइ–भाइका छोरा हुन् । परिवारका सबै सदस्यको पहिरोमा परेर ज्यान गएपछि कटे अब एक्लो बन्नुभयो । 

यस्तै ८० वर्षीय दले जेठारा पनि भाग्न नसकेर पहिरोमा पर्नुभयो । उहाँकै घरका अरु सदस्यहरुले भने भागेर ज्यान बचाउन सफल भए । यस्तै २० वर्षीय गिरिजा जेठारा अहिलेसम्म बेपत्ता हुनुहुन्छ । उहाँसँगै रहेका राजेश जेठाराले भने आफू हाम फालेर ज्यान बचाउन सफल भएको बताउनुभयो ।

‘घर माथिबाट पानी आउन थालेपछि पानी आउने बाटो बन्द गर्न गिरिजा र म सँगै गएका थियौं, गाउँ जान थालेको पानीलाई यताउता सोझ्याउने काम गरिरहेका थियौ’, राजेशले भन्नुभयो, ‘अचानक भुइँचालो आएजस्तो भयो र हल्लिएर जमिन नै उठेपछि मैले नजिकैको एउटा बेरुको रुखतर्फ हाम फालेर त्यही रुखमा झुण्डिएर ज्यान बचाएँ तर गिरिजालाई भने पहिरोले कहाँ लग्यो पत्तै भएन ।’ 

पहिरोले २० घरमा क्षति गरेपछि ती परिवारका मान्छेलाई कहाँ बस्ने, के खाने भन्ने समेत ठेगान छैन । मल्लेसी जेठाराहरुको बाहुल्यता भएको गाउँ हो । पहिरोले चनि जेठारा, गम्भीरे जेठारा, सुरेश जेठारा, दमन जेठारा, जय जेठारा, कैले जेठारा, मान्या जेठारा, गजेन्द्र जेठारा, गणेश जेठारा, ओकील जेठारा, अम्मर जेठारा, ईन्द्र जेठारा, लोक जेठारा, दिपक जेठारा, गोरे जेठारा, जय जेठारा, धनु जेठारा, सन्तोस जेठारा, कटे जेठाराको घर बगाएको छ । जय जेठाराका भने २ वटा घर रहेका थिए । १९ परिवारका २० घर बगाएपछि उनीहरुलाई अहिले नवादेव प्रावि मेल्लेसीमा राखिएको केदारस्युँ गाउँपालिका–८ का वडा अध्यक्ष गणेश बोहराले बताउनुभयो । 

यस्तै पहिरोमा परेर २२ वटा भैंसी, २४ वटा गाई–गोरु र ६५ वटा बाख्रा पहिरोमा पुरिएका छन् । आफूसँग भएको सम्पत्ति पहिरोमा पुरिएपछि गाउँलेहरुमा थप बिचल्लीमा छन् । 

‘सम्पतिको नाममा जीवनभर आर्जन गरेको सानो घर थियो, त्यही पनि पहिरोले बगाएर लग्यो’, पीडित गम्भीरे जेठाराले भन्नुभयो, ‘खाने खेत पनि पहिरोमा पुरियो, अब कसरी खुट्टा टेक्ने भन्ने चिन्ता छ ।’

सरकारको राहात पुगेन 

सरकारले पहिरो पीडित परिवारहरुलाई तत्कालै राहात दिन नेपाली सेनाको हेलिकोप्टरमा सामान पठाए पनि घटनास्थलमा बस्न नसकेर सदरमुकाम चैनपुरमा झारेको थियो । पहिरो पीडितहरुका लागि भनेर सेनाको हेलिकप्टरबाट आठ क्विन्टल चामल, ३७ वटा त्रिपाल र ४० वटा कम्मल ल्याएको भए पनि अहिलेसम्म घटनास्थलमा पुर्याउन सकेको छैन ।

पहिरोले सडक अवरुद्ध भएपछि मल्लेसी गाउँमा जान समस्या छ । वडाध्यक्ष गणेश बोहराका अनुसार खानाका लागि व्यवस्था गरे पनि यतिबेला लत्ताकपडाको समस्या भएको छ ।

१९ परिवारका झण्डै ६० जना अहिले विद्यालयमा आश्रय लिएर बसेका छन् । तर उनीहरुको व्यवस्थापनको लागि प्रदेश सरकार र केन्द्र सरकारले जोड दिनुपर्ने वडाध्यक्ष गणेश बोहोराले बताउनुभयो ।

‘बालबालिका, महिला तथा वृद्धहरु बढी समस्यामा परेका छन्’, उहाँले भन्नुभयो, ‘विद्यालयमा सबैलाई बस्ने ठाउँ समेत नभएका कारण उहाँहरु थप समस्यामा हुनुहुन्छ ।’

अन्तिम अपडेट: चैत १५, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • kp

    July 6, 2020, 11:39 a.m.

    घटनास्थलको फोटो हेर्दा खोल्सोको पानी सङ्ग पहिरो गएको देखयो ।सम्भाव्य विपदबाट बच्न यस्ता खोल्सा खोल्सीकाे तलतिर बस्न , घर बनाउन नहुने पाठ सिकेर अावास सुरक्षित गर्न सके यस्ता घटना सुन्न पर्ने थियन ।

  •  0 Reply

तपाईको प्रतिक्रिया