हावाबाट कोरोना फैलिने प्रमाण भेटिएको ३२ देशका २३९ वैज्ञानिकको दाबी, डब्ल्यूएचओ भन्छ, ‘पर्याप्त छैन’

 असार २२, २०७७ सोमबार १६:१३:४६ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – हावाबाट पनि कोरोना भाइरस सर्न सक्ने भन्दै केही वैज्ञानिकहरुले विश्व स्वास्थ्य सङ्गठनलाई कोरोना भाइरसम्बन्धी निर्देशिका संशोधन गर्न आग्रह गरेका छन् । 

हावाको सानो कणमा रहेका कोरोना भाइरसबाट पनि मानिस सङ्क्रमित हुन सक्ने भन्दै केही वैज्ञानिकले डब्ल्यूएचओलाई कोभिड–१९ सम्बन्धी निर्देशिका संशोधित गर्न माग गरेको विवरण न्युयोर्क टाइम्समा प्रकाशित छ । 

खबरका अनुसार शोधकर्ताहरुले डब्ल्यूएचओलाई एक खुला पत्र लेख्दै यस्तो आग्रह गरेका हुन् । त्यो पत्रलाई आउँदो हप्ता कुनै साइन्स जर्नलमा प्रकाशित गर्ने योजना छ । यसमा ३२ देशका दुई सय ३९ वैज्ञानिकले यो दाबीसँग जोडिएका प्रमाण दिने न्युयोर्क टाइम्समा उल्लेख छ ।  

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोना भाइरस सङ्क्रमित व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा नाक र मुखबाट निस्कने छिटाबाट अर्काे व्यक्तिमा सर्छ । पाँच माइक्रोनभन्दा साना छिटा बनेको अवस्थामा हावाको माध्यमबाट पनि कोरोना भाइरस सर्न मद्दत पुग्न सक्ने उसले जनाएको छ । 

वैज्ञानिकहरुले भने हाच्छिउँ गर्दा निस्किने छिटा हावामा टाढासम्म फैलिन सक्ने भएकोले कोरोना सङ्क्रमण हुन सक्ने दाबी गरेको न्युयोर्क टाइम्स भनिएको छ । 

यद्यपि विश्व स्वास्थ्य सङ्गठनले भने वैज्ञानिकहरुले दिएको प्रमाणले त्यो दाबी पुष्टि नहुने बताएको छ । 

डब्ल्यूएचओका डाक्टर बेनेडेटा अलेङ्ग्रान्जीले न्युयोर्क टाइम्ससँग भने, ‘कोरोना भाइरस हावाको माध्यमबाट फैलिन सक्नेबारेमा हामीले पछिल्लो दुई महिनादेखि विचार गर्दै आइरहेका छौँ तर यो पुष्टि गर्न कुनै ठोस प्रमाण भेटिएको छैन ।’ 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया