कोरोनाबाट सावधानी अपनाउँदा अरु रोगको जोखिम कम

 असार २२, २०७७ सोमबार १७:४:२९ | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डाै – अघिल्ला वर्षहरुमा यतिबेला गर्मी बढेसँगै अस्पतालमा बिरामीको घुइँचो हुन्थ्यो । धेरैलाई डेङ्गी, भाइरल ज्वरो, रुघाखोकी, टाइफाइड, दम, जन्डिस, झाडापखालालगायतका रोगले सताउँथ्यो । तर यो वर्ष गर्मी लागिसक्दा समेत अस्पतालमा बिरामीको चाप छैन । कोरोनाको उपचार हुनेबाहेक अरु अस्पताल सुनसान जस्तै छन् । 

यो वर्ष कोरोनाबाहेक अरु बिरामीको सङ्ख्यामा कमी आएको डाक्टरले बताएका छन् । असारको अन्तिम हप्ता हुनै लाग्दा पनि अस्पतालहरुमा अघिल्ला वर्षहरुमा जस्तो बिरामी नदेखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेले बताउनुभयो ।

गएको वर्ष डेङ्गीका कारण १६ हजारभन्दा धेरै बिरामी भएका थिए, पाँच जनाको ज्यान गएको थियो । तर यो वर्ष भने अहिलेसम्म एक सय ३५ जनामा मात्र डेङ्गी देखिएको डा. पाण्डेले बताउनुभयो । गएको वर्ष धरानबाट सुरु भएको डेङ्गीको सङ्क्रमण अरु विभिन्न जिल्लामा फैलिएको थियो । त्यस्तै झाडापखाला, स्क्रब टाइफसलगायतका बिरामी पनि देखिन थालिसकेका थिए ।

गएका वर्षको तुलनामा यो वर्ष डेङ्गी, झाडापखाला, निमोनिया, रुघाखोकी, मलेरिया, स्क्रब टाइफसलगायतका बिरामीको सङ्ख्यामा ५० प्रतिशतले कमी भएको डाक्टर पाण्डेले बताउनुभयो ।

अस्पतालमा बिरामी नजानुको एउटा कारण कोरोनाको डरले गर्दा पनि हुन सक्छ । ‘तर कोरोनाको डरले अस्पताल नगएको भए पनि गाउँठाउँमा कतै बिरामी भएका खबर थाहा हुनुपर्थ्याे, अहिलेसम्म हामीलाई त्यस्तो जानकारी आएको छैन’, डा. पाण्डेले भन्नुभयो, ‘कोरोनाको डरको कारण मात्र नभइ रोग नै कम लागेर हो भन्न सकिन्छ ।’

हरेक रोग सरसफाइ र खानपानसँग जोडिएर आउने भएकाले पछिल्लो समय मानिसले सरसफाइ र खानपानमा ध्यान दिएकाले पनि यस्ता रोगको जोखिम कम भएको उहाँ बताउनुहुन्छ ।

व्यक्तिगत दुरी कायम गर्ने, खानपानमा ध्यान दिने, माक्सको प्रयोग गर्ने, पटक–पटक हात धुने, अनावश्यक रुपमा मुख तथा नाकमा हात नलैजाने, भिडभाडमा नजाने, खानेकुराहरु राम्रोसँग पकाएर खाने गरेका कारण पनि यस वर्ष कोरोनाबाहेकका अरु रोगको सङ्क्रमण धेरै नदेखिएको उहाँले बताउनुभयो ।

तर गर्मी र वर्षाको सिजन बाँकी भएकाले सावधानी अपनाउन उहाँको सल्लाह छ । ‘यस वर्ष कोरोनाबाहेक अरु रोगको जोखिम धेरै छैन भनेर ढुक्क भएर बस्न चाहिँ हुँदैन’, उहाँले भन्नुभयो, ‘सम्भावित सङ्क्रमणबाट जोगिन सावधानी अपनाउनुपर्छ ।’

व्यक्तिगत सरसफाइ र खानपानमा ध्यान नदिँदा तथा लामखुट्टेलगायतका जीवाणुको टोकाइबाट बच्न नसकिएमा अझै पनि रोगको जोखिम हुन सक्ने भएकाले सावधानी अपनाउन उहाँको आग्रह छ । 

अन्तिम अपडेट: चैत १०, २०८०

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया