दैलेख : जनप्रतिनिधि र कर्मचारीमा काेराेना पुष्टि भएपछि कागजपत्र गेटमै सङ्कलन

 असार २२, २०७७ सोमबार २०:८:५ | अमर सुनार
unn.prixa.net

दैलेख – नारायण नगरपालिकाका दुई जना जनप्रतिनिधि र चार जना कर्मचारी गरी ६ जनामा कोरोना सङ्क्रमण देखिएपछि सेवाग्राहीको कागजपत्र मूल गेटमै सङ्कलन गर्न थालिएको छ ।

एक महिला जनप्रतिनिधि, एक जना वडाध्यक्ष र चार जना कर्मचारीमा आइतबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

पालिकामा सेवाग्राहीले गेटमै कागजपत्र छोड्ने र कर्मचारीहरुले सम्बन्धित फाँट पुर्‍याइ काम सम्पादन गर्ने व्यवस्था मिलाइएको छ । भिडभाड हुन नदिन बाध्यताबस त्यसो गरिएको नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपालीले बताउनुभयाे ।   

कार्यालयको मूलगेटमै कागजपत्र सङ्कलन गर्ने प्रबन्ध मिलाएपछि रीत पुगेका काम छिटो गराउन सहज भएको नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले बताउनुभयो ।

आर्थिक वर्षको अन्तिम समय नजिक आइरहेकाे कारण सुरक्षाका विभिन्न उपाय अपनाएर दैनिक प्रशासनिक काम सञ्चालन गरिएको नारायण नगरपालिकाका सूचना अधिकारी निरकबहादुर रावलले बताउनुभयो ।  ‘आर्थिक वर्षको अन्तिम समय नभएको भए नगरपालिका सिल गर्नुपर्ने हुन्थ्यो’, रावलले भन्नुभयो ।  

कोरोना सङ्क्रमण पुष्टि भएकाहरु आफ्नै घरमा आइसोलेशन बस्न चाहेको कारण घरमै बस्नुभएको र सबैको स्वास्थ्य अवस्था राम्रो रहेको नारायण नगरपालिकाका स्वास्थ्य शाखाका सिनियर अहेब लालबहादुर खड्काले बताउनुभयो ।

नारायण नगरपालिका कार्यालयमा आइतबार ४८ जनाकाे स्वाब सङ्कलन गरिएकोमा दैलेख प्रयोगशालाले गरेको परीक्षणमा दुई जना जनप्रतिनिधि र चार जना कर्मचारीसहित ६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयका कोभिड फोकल पर्सन थीरप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

दैलेख प्रयोगशालामा गएको सोमबारदेखि परीक्षण थालिएको एक हप्ता अवधिमा तीन सय ११ जनाको परीक्षण गरिएकामध्ये २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयले जनाएकाे छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया