बाँके : गैरकानुनी सम्पत्ति आर्जन गरेको आराेपमा खानेपानी विभागका इन्जिनियरविरुद्ध मुद्दा

 असार २३, २०७७ मंगलबार २०:२४:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके – क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय नेपालगञ्जमा कार्यरत सिनियर डिभिजन इन्जिनियर पूर्णप्रसाद उपाध्यायले तीन करोड १० लाख रुपैयाँभन्दा धेरै गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप लागेको छ ।

गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपाध्यायविरुद्ध विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरेको छ । उपाध्यायले जग्गा खरिद, घर निर्माण, विद्युतीय उपकरण खरिद, जीवन बीमा प्रिमियम शुल्क, सापटी रकम, शेयर तथा डिभेन्चर खरिद, विभिन्न बैंकमा विभिन्न मितिमा मुद्दती निक्षेप जम्मा, शैक्षिक खर्च, सुनचाँदी खरिद, साथमा रहेको नगद र श्रीमती दुर्गा खनाल रिमालको नाममा विभिन्न बैंक खातामा रकम राखेको खुल्न आएको अख्तियारले जनाएको छ ।

अख्तियारले श्रीमती दुर्गा खनाल रिमाल उपाध्यायलाई समेत प्रतिवादी कायम गरी मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताउनुभयो ।

उपाध्याय सामुदायिक खानेपानी तथा सरसफाइ इकाइ कार्यालय डडेल्धुरामा राजपत्राङ्कित तृतीय श्रेणी इन्जिनियरको पदमा २०६३ साल माघ ५ गते स्थायी नियुक्त हुनुभएकाे थियाे ।

विसं २०६९ चैत १५ गते सिनियर डिभिजन इन्जिनियर पदमा बढुवा भएर विभिन्न कार्यालय हुँदै सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयमा दरबन्दी भइ क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय नेपालगञ्जमा कार्यरत रहनुभएकाे अख्तियारले जनाएको छ ।  

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया