सुदूरपश्चिम प्रदेशमा मङ्गलबार एक सय ११ जनामा कोरोना पुष्टि

 असार २३, २०७७ मंगलबार १८:३३:९ | सीताराम ओझा
unn.prixa.net

कैलाली – सुदूरपश्चिम प्रदेशमा मङ्गलबार थप एक सय ११ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौ, धुलिखेल अस्पताल, डडेल्धुरा अस्पताल र धनगढीकाे प्रयोगशालामा गरिएको परीक्षणमा मङ्गलबार एक सय ११ जनामा कोरोना पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा अछाम र बैतडीका ११/११ र डोटीका सात जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार धुलिखेल अस्पतालमा भएको परीक्षणमा बाजुराका ५४ जनामा कोरोना पुष्टि भएको छ । यस्तै डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा डडेल्धुराकै ६ जनामा कोरोना पुष्टि भएको उहाँले बताउनुभयो । 

यता धनगढी प्रयोगशालामा भएको परीक्षणमा कैलालीका १७ र अछामका पाँच जना गरी २२ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले कैलालीको लम्कीचुहा नगरपालिकाका तीन महिला र १० पुरुष गरी १३ जना, गोदावरी नगरपालिकाका तीन महिला र एक पुरुष गरी चार जनामा कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार अछामको मेल्लेख गाउँपालिकाका दुई महिला र तीन पुरुष गरी पाँच जनामा पनि कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा धनगढी प्रयोगशालामा दुई सय नौ जनाको कोरोना परीक्षण भएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

योसँगै सुदूरपश्चिममा कोरोना सङ्क्रमितको संख्या तीन हजार आठ सय दुई पुगेको छ । सङ्क्रमण पुष्टि भएकामध्ये आठ जनाको मृत्यु भएकाे छ भने नौ सय चार जना डिस्चार्ज भएका छन् । 

अन्तिम अपडेट: बैशाख १, २०८१

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया