ब्राजिलका राष्ट्रपति बोलसोनारोलाई कोरोना सङ्क्रमण

 असार २४, २०७७ बुधबार ६:५९:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

६५ वर्षीय राष्ट्रपति बोलसोनारोले टेलिभिजनमार्फत सम्बोधन गर्दै आफूमा कोरोना भाइरसको सङ्क्रमण भएको जानकारी दिनुभएको हो । उच्च ज्वरोका कारण गएको सोमबार उहाँले कोरोना भाइरसको परीक्षण गराउनुभएको थियो ।

हिजो आएको रिपोर्टमा कोरोना भाइरसको सङ्क्रमण देखिएको भन्दै उहाँले यसमा डराउनुपर्ने कुनै कारण नरहेको बताउनुभएको छ ।  मास्क र भौतिक दूरीको पक्षमा नभएको भन्दै राष्ट्रपति बोलसोनारोको आलोचनासमेत हुने गरेको थियो ।

उहाँले पटक–पटक भाइरसलाई हल्का रुपमा लिँदै कोरोना भाइरस भनेको केवल साधारण रुघाखोकी भएको र आफूलाई यसले थला पार्न नसक्ने बताउँदै आउनुभएको थियो । उहाँले अर्थतन्त्र प्रभावित भएको भन्दै क्षेत्रीय गभर्नरहरुलाई लकडाउन हटाउन पनि आब्हान गर्नुभएको थियो ।

हिजो पनि उहाँले टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा आफूलाई ज्वरो हराएको  र निकै आराम महसुस भइरहेको बताउनुभएको थियो ।  उहाँले संचार माध्यमलाई कोरोना भाइरसको सन्त्रास फैलाउने गरेको आरोपसमेत लगाउने गर्नुभएको छ ।

ब्राजिल, कोरोना भाइरसको सङ्क्रमणका हिसाबले अमेरिकापछि संसारको सबैभन्दा बढी प्रभावित देश हो ।  ब्राजिलमा कोरोना भाइरस सङ्क्रमणका कारण ६५ हजारभन्दा धेरैको ज्यान गइसकेको छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया