लकडाउनमै छापियो साढे तीन लाख लाइसेन्स

 असार २४, २०७७ बुधबार १८:२२:५५ | रासस
unn.prixa.net

काठमाण्डौ – यातायात व्यवस्था विभागले लकडाउनमा झण्डै साढे तीन लाख चालक अनुमतिपत्र (लाइसेन्स) छापेको छ । याे आर्थिक वर्षकाे अहिलेसम्म साढे ६ लाख अनुमतिपत्र छापिएको छ । 

झण्डै दुई लाख अनुमतिपत्र छाप्न बाँकी छ । गएको पुस मसान्तसम्म नयाँ अनुमतिपत्रकाे लागि लिइएको परीक्षा उत्तीर्ण र नवीकरणकाे लागि आएका अनुमतिपत्र छापिएको छ । असार मसान्तभित्रमा थप अनुमतिपत्र छापिन सकिने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो । 

विभागले लकडाउनकै केही हप्तासम्म अनुमतिपत्र छपाइको काम ठप्प राखे पनि त्यसपछि आवश्यक स्वास्थ्य सावधानी अपनाएर छापिरहेको छ । 

लकडाउनमा वितरण हुन नसकेकाेमा अहिले यातायात व्यवस्था कार्यालयले अनुमतिपत्र वितरण गरिरहेको छ । संविधानअनुसार यातायातको जिम्मेवारी प्रदेश सरकारको भएकाले दुई वर्ष पहिले नै नेपाल सरकारले यातायात कार्यालय प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो ।

सरकारले पाँच वर्ष पहिले हस्तलिखित अनुमतिपत्र हटाएर स्मार्ट चालक अनुमतिपत्र सुरु गरेको थियो । देशभरका सबै कार्यालयको अनुमतिपत्र विभागले छाप्दै आएको छ । 

विभागमा अनुमतिपत्र छपाइको चाप भएकाले गएकाे वर्ष सरकारले ठूलो क्षमताको अनुमतिपत्र (मास प्रिन्टर) किनेको थियो । अहिले पुरानो उपकरण प्रयोग नभएर मास प्रिन्टरबाटै छपाइ भइरहेको छ ।  

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया