धुम्बाराहीमा धर्ना दिइरहेका नेता भन्छन्, ‘सचिवालय र स्थायी कमिटी फेल भयो, केन्द्रीय कमिटीको बैठक डाकौँ’

 असार २४, २०७७ बुधबार १५:९:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विभाजनतर्फ गइरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जोगाउन भन्दै यु्वा नेताहरुले बुधबार पनि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा धर्ना दिएका छन् । उनीहरुले पछिल्लो पाँच दिनदेखि धुम्बाराहीमा धर्ना दिइरहेका छन् ।

सचिवालय र स्थायी कमिटीले विवाद मिलाउन नसकेको भन्दै यु्वा नेताहरुले केन्द्रीय कमिटीको बैठक बोलाउन माग गर्दै हस्ताक्षर अभियान पनि चलाइरहेका छन् । लामो सङ्घर्षपछि एक भएको कम्युनिस्ट पार्टी फेरि फुट्दा नेपालको कम्युनिस्ट आन्दोलन नै धरापमा पर्ने भएकाले खबरदारी स्वरुप धर्ना दिइएको नेता हिमाल शर्माले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो । 

‘नीति र विधानअनुसार पार्टी अघि बढ्नुपर्छ, नेता प्रधान हुनु हुँदैन, विवादको समाधान पार्टीका बैठकबाट हुनुपर्छ । बाहिर भेला गर्दै हिँड्न नपाइने भएकाेले हामीले खबरदारी गरिरहेका छौँ’, नेता शर्माले भन्नुभयो । 

उहाँले सचिवालय र स्थायी कमिटीको बैठकले समाधान निकाल्न नसकेकोले अविलम्ब केन्द्रीय कमिटीको बैठक बोलाउन पनि माग गरिएको बताउनुभयो ।

बैठकको माग गर्दै आजसम्म एक सय जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन् । छिटै हस्ताक्षर शीर्ष नेतालाई बुझाएर ध्यानाकर्षण गराउने पनि नेता हिमाल शर्माले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया