चार महिनाको विद्युत् महसुल साउन ७ गतेसम्म तिरेमा जरिबाना नलाग्ने

 असार २४, २०७७ बुधबार १७:४६:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणले गएको चैत, वैशाख, जेठ र असारको विद्युत् महसुल यही साउन ७ गतेभित्रमा तिरेमा जरिबाना नलाग्ने व्यवस्था गरेको छ । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको असार १९ गतेको निर्णयबाट साउन ७ गतेभित्रमा महसुल तिरेमा सबै प्रकारका ग्राहकलाई जरिबाना नलाग्ने व्यवस्था गरिएको हो । 

निर्धारित समयभित्र भुक्तानी नगरेमा जरिबाना लाग्ने व्यवस्था छ । तर नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार प्राधिकरणले लकडाउन अवधिमा महसुल नतिर्ने ग्राहकलाई जरिबाना नलाग्ने निर्णय गरेको हो । 

सरकारले अहिलेकै रुपको लकडाउनलाई साउन ७ गतेसम्म निरन्तरता दिएको छ । सरकारले लकडाउन अवधि लम्ब्याएपछि प्राधिकरणले पनि त्यहीअनुसार महसुलमा जरिबाना नलाग्ने व्यवस्था गरेको हो । 

अब गएको चैत, वैशाख, जेठ र असारको विद्युत् महसुल यही साउन ७ गतेभित्रमा तिरेमा जरिबाना लाग्ने छैन । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) काे कारण अर्थतन्त्रमा समेत गम्भीर असर परेको भन्दै मन्त्रिपरिषद्को चैत १६ गतेकाे बैठकले उपभोक्ताहरुलाई विद्युत् महसुल तथा विलम्बबापत लाग्ने जरिबाना एवं अतिरिक्त शुल्क छुट दिने निर्णय गरेको थियो । 

त्यही निर्णयलाई कार्यान्वयन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको चैत २५ गतेको ८३० औँ बैठकले जरिबाना छुट दिने निर्णय गरेको थियो । 

सञ्चालक समितिले लकडाउन अवधि थपिएमा त्यहीअनुसार जरिबाना छुटको निर्णय गर्न कार्यकारी निर्देशकलाई अधिकार दिएको थियो । प्राधिकरणले लकडाउन खुकुलो भएसँगै सिङ्गल फेज मिटर रहेका घरायसी ग्राहकको घरघरमा गएर मिटर रिडिङ गर्न सुरु गरिसकेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया