मापदण्ड पूरा गरी ट्याक्सी चलाउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन

 असार २४, २०७७ बुधबार १७:१४:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आवश्यक मापदण्ड पूरा गरी ट्याक्सी सञ्चालन गर्न दिन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । 

सरकारले तयार पारेको मापदण्डअनुसार विभिन्न पेसा, व्यवसाय सञ्चालन भएको अवस्थामा आवश्यक मापदण्ड पूरा गरी ट्याक्सी सेवा सञ्चालन गर्न समितिले निर्देशन दिएको हो । 

बुधबार सार्वजनिक यातायातसँग सम्बद्ध सरोकारवालाहरुको छलफलपछि विकास तथा प्रविधि समितिले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति कल्याणीकुमारी खड्काले बताउनुभयो । 

देशको अर्थतन्त्रलाई चलायमान बनाउन पनि सेवा सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो । लकडाउनकाे कारण चैत ११ गतेबाट सार्वजनिक यातायात बन्द रहेका छन् । समितिमा भएको छलफलमा सार्वजनिक यातायातसँग सम्बद्ध सरोकारवालाहरुले लकडाउनकाे कारण मजदुरहरुको दैनिकी कष्टकर बनेको, गुजारा चलाउन नसकेपछि आत्महत्या गर्ने अवस्थासमेत सिर्जना भएको गुनासो गरेका थिए ।   

अहिलेको अवस्थामा बैंकको ऋण तिर्नसमेत समस्या भएकाले यसतर्फ सरकारले ध्यान दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् । सार्वजनिक यातायात सञ्चालनकाे लागि मन्त्रालय, सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) लगायतका सरोकारवालासँग बिहीबार छलफल गर्ने तयारी समितिले गरेको छ ।  

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया