सर्वसम्मतिले पारित भयाे कर्णाली प्रदेशको बजेट

 असार २४, २०७७ बुधबार १७:५८:५२ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेशले आउँदाे आर्थिक वर्ष २०७७/७८ का] लागि ल्याएको बजेट सर्वसम्मतिले पारित भएको छ । 

बुधबार बसेको प्रदेश सभाको छैटौँ अधिवेशनको २८ औँ बैठकले सर्वसम्मति रुपमा बजेट पारित गरेको हो । असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैयाँ बराबरको बजेट सभामा प्रस्तुत गर्नुभएकाे थियाे ।  

प्रदेश सरकारले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसकाे रोकथाम, उपचार, कृषि उत्पादन र रोजगारी केन्द्रित बजेट ल्याएको छ । बजेटमाथि असन्तुुष्ट जनाउँदा १० दिनसम्म प्रदेश सभा बैठक ठप्प थियो । तर सरकारले प्रदेश सभा सदस्यहरुको मागलाई सम्बोधन गरेपछि सत्ता पक्ष र प्रतिपक्षका सांसदले बजेटमा सहमति जनाएका थिए । 

बजेट एकमुष्ट ल्याएको र आधा बजेट मुख्यमन्त्री मातहत भएको भन्दै सत्तापक्षकै सांसद रुष्ट थिए ।  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बजेटमाथि असन्तुष्टि जनाउँदै असार १० गते संसद् अवरुद्ध गरेको थियो । त्यसयता चार पटक बैठक नबसेर नै स्थगित भएको थियो ।

का‌ंग्रेसले आफ्ना मागअनुसार बजेट ल्याएकाले समर्थन गरेको जनाएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सरकारले आफूहरुले माग गरेअनुसार बजेट ल्याएकाले समर्थन गरेको बताउनुभयाे । उहाँले मुख्य गरेर सरकारले तीन वटा विषयमा आफूहरुको माग सम्बोधन गरेको जानकारी दिनु भयाे । 

उहाँले भन्नुभयाे, ‘सरकारले एकमुष्ट बजेटलाई शीर्षकअनुसार ल्याएको छ । योजनामा चालु र पुँजीगत खर्च भनेर बजेट छुट्टाएको छ । मुख्यमन्त्री मातहत रहेको बजेट भौतिक मन्त्रालयमा ल्याउनुपर्छ भनेर भनेका थियौँ । सरकारले हाम्राे मागअनुसार नै सम्बोधन गरेको छ ।’   
     
नेकपाका प्रदेशसभा सदस्य ठम्मर विष्टले सरकारले बजेटलाई खण्डीकरण गरेर व्यवस्थित रुपमा ल्याइएकाले पारित गरेको बताउनु भयाे । बजेट असन्तुलन वितरणलाई सन्तुलित गराउने सरकारले प्रतिबद्धता गरेको उहाँको भनाइ छ ।                                                     

अन्तिम अपडेट: चैत १४, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया