दाङ : एक हप्तापछि पीसीआर परीक्षण फेरि सुरु

 असार २४, २०७७ बुधबार २१:५:४१ | हेमराज शर्मा
unn.prixa.net

दाङ – झण्डै एक हप्तादेखि स्वाब परीक्षण रोकेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले बुधबारदेखि पीसीआर परीक्षण फेरि सुरु गरेको छ । 

बजेट अभाव भएको र पालिकाहरुले स्वाब जाँच गरेका प्रतिव्यक्ति पाँच हजार पाँच सय रुपैयाँ तिर्न ताकेता गरेसँगै रोकिएको परीक्षण बुधबारदेखि सुरु गरेको हो ।

प्रतिष्ठानले बुधबार घोराहीका ४८ जना र सल्यानको स्वाब जाँच प्रक्रिया सुरु गरेको हो । यी परीक्षणको रिपोर्ट बिहीबार आउने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले दाङका सबै पालिकाहरुलाई पीसीआर जाँच गरेका प्रतिव्यक्ति ५५ सय रुपैयाँका दरले शोध भर्ना गर्न पत्राचार गरेको थियो ।

त्यस रकम पालिकाहरुले दिन नसक्ने भनेपछि प्रतिष्ठानले जाँचका लागि पुर्‍याइएका स्वाबहरु गेटबाटै फर्काइ दिएको थियो । अहिले दाङका केही पालिकाहरुले बुटवल, भैरहवा र भेरी अस्पताल बाँकेमा स्वाब पठाउने गरेका छन् । साथै प्रतिष्ठानले रकम मागेपछि र शुल्कको कुरा उठाएपछि चौतर्फी विरोधसमेत भएको छ ।

प्रतिष्ठानले स्वाब परीक्षण रोकेकोप्रति सङ्घ र प्रदेश सरकारले निःशुल्क परीक्षण गर्न निर्देशन दिएपछि फेरि जाँच सुरु भएको हो ।

यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि काेराेना जाँचकाे शुल्क लिए कारबाही गर्ने चेतावनी दिएकाे छ । 

अन्तिम अपडेट: चैत १०, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया