आजदेखि चार दिनसम्म ठूलो पानी पर्ने भएकाले सतर्क रहन आग्रह

 असार २५, २०७७ बिहिबार ६:४८:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आजदेखि चार दिनसम्म ठूलो पानी पर्ने सम्भावना भएकाले सतर्क रहन गृह मन्त्रालयले आग्रह गरेको छ ।

गृह मन्त्रालय अन्तरर्गतको  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चार दिनसम्म ठूलो पानी पर्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम हुने भन्दै सर्तकता अपनाउन आग्रह गरेको हो ।  प्राधिकरणका अनुसार आजदेखि आइतबारसम्म प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशमा धेरै पानी पर्ने अनुमान गरिएको छ ।

पहाडी क्षेत्रमा साना खोला, खहरे, नदी र तालमा बाढी आउने सम्भावना छ । कतिपय ठाउँमा पहिरो पनि जान सक्ने भन्दै सतर्क रहन आग्रह गरिएको छ । 

भोलिदेखि आइतबारसम्म कन्काई, कोशी, कमला, वग्मती, नारायणी र यसका सहायक नदीमा पानीको सतह बढ्न सक्छ । विषेशगरी प्रदेश १ र २ का चुरे तथा तराई भएर बस्ने खोला तथा नदीहरुमा ठूलो बाढी आउनसक्ने हुनाले यस क्षेत्रका बासिन्दाहरुलाई  थप सर्तक रहन सूचनामार्फत आग्रह गरिएको छ ।

झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिराहा, सर्लाही, बारा, पर्सा, रौतहट, चितवनलगायतका जिल्लाका होचा ठाउँमा डुबानको खतरा रहेको पनि प्राधिकरणले जनाएको छ ।  

ठूला नदीमा आउने बाढीबारे जानकारी दिन जल तथा मौसम विज्ञान विभागको टोल फ्रि नम्बर ११५५ तथा आपत्कालीन सेवाका लागि राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको टोल फ्रि नम्बर ११४९ उपलब्ध हुने जनाएको छ ।  
यसैबीच अबको चार दिन अहिलेसम्मकै धेरै पानी पर्ने भन्ने कुरा गलत भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो वर्ष मनसुन सुरु भएदेखि नै राम्ररी पानी परिरहेको र आजदेखि मनसुन थप सक्रिय मात्रै हुने महाशाखाका मौसमविद् बरुण पौडेलले जानकारी दिनुभयो ।

 लगातार पानी परिरहेकाले हिजो अस्तिदेखि नै बाढी, पहिरो र डुबान भइरहेको र मनसुन थप सक्रिय हुँदा अझै सतर्कता अपनाउन मात्र आग्रह गरिएको उहाँको भनाई छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया