सिन्धुपाल्चोक पहिरो अपडेट : खहरे खोलाको बाढीले २२ जना बेपत्ता, झण्डै दुई दर्जन घर बगायो

 असार २५, २०७७ बिहिबार ७:३७:४४ | उज्यालो सहकर्मी

सिन्धुपाल्चोक - (अपडेट) सिन्धुपाल्चोकको बाह्रबिसे र भोटेकोशीमा बाढीले घर बगाउँदा २२ जना बेपत्ता भएका छन् । दुई जनाको शव भेटिएको छ भने दुई जना घाइते भएका छन् । स्थानीय खहरे खोलामा आएको बाढीले झण्डै दुई दर्जन घर बगाएको छ ।

बाह्रबिसे नगरपालिका ३ जम्बु बजारमा खहरे खोलामा आएको बाढीले १८ जना बेपत्ता भएका नगरपालिकाका प्रमुख निमफुन्जो शेर्पाले उज्यालोलाई जानकारी दिनुभयो । त्यहाँ दुई जनाको शव समेत फेला परेको छ । २०÷२२ वटा घरमध्ये ३/४ वटाबाहेक अरु पहिरोले लगेको पनि शेर्पाले बताउनुभयो । त्यहाँको पक्की पुलसमेत बगाएको छ । जुरे, बाह्रबिसे लगायतका क्षेत्रमा सडक अवरुद्ध भएको छ । 

यस्तै भोटेकोशी गाउँपालिकामा चार जना बेपत्ता भएका छन् । बर्कुटे भन्ने ठाउँमा स्थानीय खहरे खोलामा बाढी आउँदा दुईवटा घर बगाएको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभयो । बाढी आएको थाहा पाएपछि एउटा घरमा भएका सबै भाग्न सफल भएका र अर्को घरका चार जना बेपत्ता भएका उहाँले बताउनुभयो । त्यहाँ दुई जना बालबालिका घाइते भएका छन् । 

घाइतेको उद्धार र बेपत्ताहरुको खोजी भैरहेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: साउन ११, २०७७

तपाईको प्रतिक्रिया