सामान आएको चार दिनसम्म पनि भन्सार जाँचपास हुन सकेन

 असार २५, २०७७ बिहिबार ८:७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

रसुवा – कोरोना भाइरसको त्रासका कारण बन्द भएर करिब पाँच महिनापछि सञ्चालनमा आएको रसुवागढी नाकामा सामग्री आयात निरन्तर भइरहे पनि भन्सार जाँचपास भने हुन सकेको छैन । नाकासम्म व्यापारी तथा व्यापारीका प्रतिनिधि आउन नसक्दा जाँचपास हुन नसकेको हो । 

व्यापारी तथा व्यापारीका प्रतिनिधि बाहिरी जिल्लाका रहेको र उनीहरूका लागि पासको असहजताको कारण समस्या सिर्जना भएको हो । व्यापारी वा व्यापारीका प्रतिनिधि आएर सामग्रीको घोषणा गरेपछि मात्र जाँचपास सुरु हुने रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताउनुभयो । 

सोमबारदेखि चीनले सामग्री आयात गर्नका लागि मात्रै एकतर्फी नाका खोलेको थियो । त्यसदिनदेखि चिनिँया सवारीले दैनिक चारवटा गाडीमा सामग्री ल्याइरहेका छन् । चिनियाँ एउटा गाडीले ल्याएको सामग्री नेपाली दुईवटा कन्टेनरमा राखिन्छ । 

विश्वव्यापी फैलिएको कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमण फैलिन नदिन भन्दै गएको माघ १५ गतेदेखि नाका बन्द भएको थियो । नेपालको तर्फबाट नाकामा अहिले १५ जना चालक र १६ जना कामदारले राखिएको छ । 
चिनियाँ गाडीले मितेरी पुलसम्म सामग्री ल्याएर झार्ने र चिनियाँ गाडी फर्किएपछि एकपटकमा दुईवटा नेपाली कन्टेनरले सामग्री नेपालतर्फ ल्याउने व्यवस्था मिलाइएको छ ।   

सीमामा व्यापारिक गतिविधि बढेपछि कोरोनाको सङ्क्रमण पनि फैलन सक्ने भएकाले स्वास्थ्य सुरक्षालाई ध्यान दिएर नाका खोल्ने सहमति भएको थियो । अहिले त्यसै अनुसार काम भइरहेको छ । कामदारले व्यक्तिगत सुरक्षा सामग्री ९पीपीइ० लगाउने, सामग्री लोड गरिसकेपछि डिसइन्फेक्सन गर्ने र आएको सामग्री २४ घण्टासम्म भन्सार यार्डमा राख्ने काम भइरहेको छ ।

नाका सञ्चालनमा आएपछि मितेरी पुलसम्म चिनियाँ पक्षले नै सामग्री ल्याइदिने छन् । मितेरी पुलमा सामग्री लिन जाने चालक तथा लोड अनलोडका लागि जाने कामदारको दैनिक परीक्षण भइरहेको उहाँले बताउनुभयो । मितेरी पुललाई प्यासेन्जर निषेधित क्षेत्र बनाइएको छ ।

यसअघि सरकारले सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाका एकसाथ सञ्चालन ल्याउने निर्णय गरेको थियो । तर चीनबाट सामग्री आयात गर्दा कोरोना भित्रने सक्ने त्रासमा स्थानीयले विरोध गरेपछि तातोपानी नाका मात्रै सञ्चालनमा आएको थियो

रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायतका सामग्री आयात हुने गरेको छ भने नेपालबाट बाँसको मुडा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात हुने गरेको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया