फेसबुक लाइभ गरेर आत्महत्या : बेलैमा ध्यान दिएमा बचाउन सकिन्छ

 असार २५, २०७७ बिहिबार १२:६:३७ | इन्द्रसरा खड्का
unn.prixa.net

घटना १ : उदयपुर घर भइ काठमाण्डौ मनमैजुमा बस्दै आएकी २३ वर्षीया शर्मिला मगर गएको शनिबार मध्यरातमा फेसबुक लाइभमा आइन् । त्योभन्दा पहिले उनले जीवनमा बाँच्न नचाहेको भन्दै टिकटक बनाएर पोस्ट गरिन् । 

फेसबुक लाइभमा हात र कपाल मात्र देखिन्थ्यो । तर पूरै अनुहार देखिएको थिएन । शर्मिला लाइभ आएको उनको दिदी र छोरी नाता पर्नेले देखेका थिए । तर  पनि कसैले वास्तै गरेनन् । किनकी शर्मिला पहिले पनि रुँदै लाइभमा आएर आत्महत्याको कुरा गर्थिन् ।

सधै लाइभमा आएर जीवनप्रति दिक्क लागेको बताउने शर्मिलाले शनिबार भने लाइभ गरेरै आफ्नो ‘लाइफ’को अन्त्य गरिन् । घटना रातिको भए पनि पछिल्लो दिन बिहान मात्र थाहा भयो । 

सधैं बिहानै तरकारी पसल खोलेर बस्ने शर्मिला आइतबार बिहान ७ बजेसम्म नउठ्दा कोठा वरपरका मान्छेले बोलाए । तर शर्मिला बोलिनन् । स्थानीयले झ्यालबाट हेर्दा शर्मिलालाई झुण्डिएको अवस्थामा देखे । उनीहरुले बालाजु प्रहरीलाई फोन गरेको तारकेश्वर नगरपालिका ९ का वडाध्यक्ष बलाराम सिटौलाले बताउनुभयो । 

सिटौलाका अनुसार शर्मिलाको घर उदयपुरको नरेगढी गाउँपालिका वडा नं. ३ हो । उनी श्रीमानसँगै काठमाण्डौ आएकी थिइन् । श्रीमान श्रीमती दुवै ज्यामी काम गर्थे । उनीहरुबीच सम्बन्ध राम्रो नरहेको आफन्तहरु बताउँछन् । करिब ९ महिना पहिलेदेखि उनी श्रीमानबाट छुट्टै बस्दै आएकी थिइन् ।

घटना २ : केही दिनअघि चितवनको भरतपुरमा पनि १९ वर्षीया किशोरीले फेसबुकमा लाइभ गर्दे आत्महत्या गरिन् । १९ वर्षीया विद्या पाण्डे राति करिब ९ बजे तिर फेसबुक लाइभमा आइन् । उनले लाइभमा आएर यताउति हेरिन् । कोठाभित्र एउटा कुर्सी खोजिन् । 

कुर्सीमा चढेर सल पंखामा झुण्ड्याइन् । कुर्सीमा उभिएर पहिलो पटक सल पंखामा नअडेपछि सोफामा चढेर अड्याउने प्रयास गरिन्, तर पनि भएन । तीन चार पटकको प्रयासपछि सलले पंखामा झुण्डिएर आत्महत्या गरिन् । उनले यसो गरेको लाइभ भिडियोमा देख्न सकिन्छ ।

चितवन प्रहरीका अनुसार उनी भरतपुरको स्याउले बजारमा साथीसँग बस्दै आएकी थिइन् । 

कोठामा कोही साथीहरु नभएको बेला फेसबुक लाइभमा आएर आत्महत्या गरेकी विद्या ब्यूटीपार्लर र अनलाइन व्यवसायको काम गर्दै आएकी थिईन । विद्याले किन आत्महत्या गरिन भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटना ३ : दाङको तुल्सीपुर उपमहानगरपालिकाकी २३ वर्षीया एलिसा गौतमले पनि यसैगरी आत्महत्या गरिन् । गएको बुधबार फेसबुक लाइभ गर्दै उनले कोठाभित्रै पंखामा पासो लगाएर झुण्डिइन् । 

एलिसाले भिडियोमा रुँदै दुईहात जोडेर नमस्कार गरेको देखिन्छ । लगत्तै उनी कान समाउँछिन र माफ मागेर कोठाभित्र रहेको स्टुल समात्छिन् । अनि स्टुलमाथि चढेर पंखामा पासो लगाएर आत्महत्या गर्छिन् ।

एलिसाको २०७० सालमा रोल्पामा बिहे भएको थियो । बिहे भएको एक वर्षपछि छोरी जन्मिन् । छोरी जन्मेको अर्को वर्षपछि घरमा सम्बन्ध राम्रो भएन । उनी छोरी छोडेर माइतीमै बसिरहेकी थिइन् । त्यसको केही महिनापछि फेरि रोल्पामै अर्को बिहे गरिन् । तर एलिसाको त्यो घर पनि टिकेन । त्यसपछि उनी माइतीघर दाङमै बस्न थालिन् । उनका आमाबुवा भने भारत रहेको प्रहरीले जनाएको छ ।

प्रहरी भन्छ : ठाउँ पत्ता लगाउनै गाह्रो

एक हप्तामा तीन जनाले फेसबुकमा लाइभ गरेर आत्महत्या गरे । यसरी फेसबुक लाइभमा आएर आत्महत्या गर्ने घटना नौलो नभएको प्रहरीको भनाइ छ । योभन्दा पहिले पनि फेसबुक लाइभमा आएर आत्महत्या गरेका घटना भएका थिए । तर अहिलेसम्म कतिले यसरी आत्महत्या गरे भन्ने तथ्याँक नरहेको प्रहरी प्रधान कार्यालय नक्सालका प्रवक्ता निरज शाही बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, ‘कसैले लाईभ गरेर आत्महत्या गर्छ गरेको खबर पाए हामी जान्छौं, तर कोठाभित्रको घटना भएकाले कुन ठाउँ, कुन घर भनेर खोज्नै गाह्रो हुन्छ । ’ 

गएको बुधबार दाङमा भएको घटनाबारे पनि प्रहरीलाई पहिल्यै खबर आएको थियो । तर लोकेशन पत्ता लगाउन ढिलो हुँदा उद्धार गर्न नसकिएको साइबर ब्युरोका एसएसपी नविन्द्र अर्यालले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सूचना पाइसकेपछि फेसबुकको आधिकारिक टिमसँग समन्वय गर्‍यौं र घटना कुन ठाउँमा भएको हो भन्नेबारे थाहा पायौं । त्यसपछि घटना भइरहेको छिमेकीलाई खबर गर्‍यौं, तर छिमेकीले अलि तदारुकता देखाइ दिनुभएन । र बचाउन सकिएन । नभए त हामीले पहिले यसरी पनि बचाएकै थियौं ।’ 

आत्महत्या गर्नेले कुनै न कुनै रुपमा संकेत दिएकै हुन्छ

डा. शालिग्राम भट्टराई, चिकित्सा मनोविद्

​मान्छेले एउटै कुरोले मात्र आत्महत्या गर्दैन । आत्महत्या गर्ने विभिन्न कारणहरु हुन्छन् ।  रक्सी खाने मान्छेले पनि आत्महत्या गर्छ । लागूपदार्थ दुव्र्यसनीले पनि गर्छ । कडा खाले मानसिक समस्यामा परेकाहरुले पनि गर्छ । लामो समयसम्म डिप्रेशनमा गएकाहरु चिन्ताले, आवेगमा आएर आत्महत्या गर्छन् भने कसैलाई केही समस्या नै छैन भने पनि उसले आत्महत्या गर्छ । 

कसैले झुण्डिएर, कसैले नदीमा हाम फालेर, कसलै विष खाएर आत्महत्या गर्छन् । आत्महत्याका धेरै तरिका हुन्छन् । आवेशमा आएर आफूलाई कन्ट्रोल गर्न नसकेर नै मान्छेले आत्महत्या गर्छन् । 

आत्महत्या रोक्नको लागि सबैभन्दा ठूलो कुरा भनेको सचेतना हो । मानसिक समस्या के हो ? यसबाट कसरी बच्ने भन्ने कुरा सानैदेखि सिकाउनुपर्छ । विद्यालयमा शिक्षक, घरमा अभिभावकले यो विषयमा सचेत गराउन सकियो भने आत्महत्याका घटनाहरुलाई सजिलै रोक्न सकिन्छ । 

अर्को कुरा आत्महत्या गर्ने मान्छेले कुनै न कुनै संकेत देखाउँछ नै । कसैलाई जिन्दगी बेकार जस्तो लाग्छ  । बाँच्न मनै लाग्दैन, मर्न पाए हुन्थ्यो भन्छन् । कसैले म आज यति बजे यसरी मर्दैछु पनि भन्छ । अनि कसैले लिएको ऋण तिर्नुछ भने तिर्छ, मन परेको मान्छेलाई पनि भेट्छ र अन्त्यमा आत्महत्या गर्छ । त्यस्ता व्यक्तिको कुरा समयमै बुझ्न सक्यो र उसलाई सम्झाइबुझाइ ग¥यो भने बचाउन सकिन्छ ।

आत्महत्या गर्नुको कारण यही नै हो भन्ने नभए पनि परिवार, साथीभाइ आफन्तले उसको कुरा ध्यान दियो र बुझाउन सक्यो भने बचाउन सकिन्छ । यसका लागि सबैभन्दा ठूलो भनेको जनचेतना नै हो । 

कुरा सुने मात्रै पनि आत्महत्या रोक्न सकिन्छ : स्मृति घिमिरे, मनोविद

​हाम्रो समाजमा आत्महत्याको विषयमा बोल्नु हुन्न, यस्ता कुराहरु गर्‍यो र बाहिर ल्यायो भने घटना झनै बढ्छन् भन्ने सोच छ । त्यसो हैन । यो विषयमा झन गहन रुपमा बोल्नुपर्छ । 

आत्महत्याका विषयमा जति बोल्न सक्यो,  उति नै यस्ता घटना न्यूनीकरण हुन्छन् ।  कसैले मलार्ई बाँच्न मन छैन भने उसँग यो विषयमा बोल्दा झनै डरलाग्दो अवस्था आउँछ कि भन्ने ठान्यौं र बोलेनौं भने यो गलत हो । 
आत्महत्या गर्ने व्यक्तिले कुनै न कुनै ठाउँबाट अभिव्यक्ति दिएकै हुन्छ ।

फेसबुक लाइभकै कुरा गर्दा पनि उहाँहरुले कुनै न कुनै तरिकाबाट भन्न खोज्नुभयो । तर ठाउँ पाउनुभएन । उनीहरुको मनभित्रको कुरा सुनिएन । आफ्नो कुरा धेरै सामु पुगोस् भनेर नै उहाँहरुले फेसबुकमा लाइभ गरेर आत्महत्या गर्नुभएको हो । मेरो कुरा धेरै मान्छेले सुनिदिउन् भनेर पनि यसो गरिन्छ । 

अहिले फेसबुक भनेको आफ्नो मनको भावना अभिव्यक्त गर्ने ठाउँ बनेको छ । जहाँ तपाई देख्न सक्नुहुन्छ,  आफ्ना मनका भावनाहरु मान्छेले फेसबुकमा पोष्ट गरेका हुन्छन् । यहाँ यो विषयमा किन कुरा गरिस् भनेर कसैले नरोक्ने भएकाले फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालमा एकोहोरो मनको बेदना पोष्ट गर्न सकिन्छ । र उनीहरुको स्टाटस र शेयर गर्ने कुरा पनि उस्तै हुन्छन् ।

आत्महत्या भनेको अन्तिम अवस्था हो । त्योभन्दा पहिले उसलाई भइरहेको गाह्रो, अप्ठ्यारोमा साथ दिनुपर्‍यो । के कारणले यस्तो भएको हो भनेर सोधीखोजी गर्नुपर्‍यो । 

जीवनप्रति आस्था नहुने, आफ्नो कोही छैन, मेरो जीवनको कुनै मोल छैन भन्ने सोच्ने कारणले मान्छे आत्महत्या गर्छ । य उसको भावना सुनिदिने, बुझिदिने र तिम्रो लागि म छु मात्र भनिदियो भने बचाउन सकिन्छ । 
म एक्लो छैन, मसँग कोही छ भन्ने सानो आशाको किरण दिन सकियो भने मात्रै पनि बचाउन सकिन्छ । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

इन्द्रसरा खड्का

इन्द्रसरा खड्का महिला अधिकार र सामाजिक विषयमा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया