कतारमा समस्या परेको छ ? अबदेखि दूतावासका यी नम्बरमा फोन गर्नुहोस्

 असार २५, २०७७ बिहिबार १४:४७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कतारमा रहेको नेपाली दूतावासले समस्या अनुसारका फोन नम्बरहरु तोकेको छ । यसअघि कायम रहेका विभिन्न मोबाइल नम्बरहरु अब कायम नरहेको भन्दै दूतावासले नयाँ नम्बरमा समस्या अनुसारका आफ्नो गुनासा राख्न भनेको हो ।

अब ४४६७५६८९ मा फोन गरी आफ्नो समस्या र जिज्ञासा अनुसारको एक्सटेन्शन नम्बर डायल गरी सेवा लिन सकिनेछ ।

– रोजगारीजन्य समस्याका लागि ११५ एक्सटेन्शन नम्बर तोकिएको छ ।

– कम्पनीमार्फत नेपाल फर्कने प्रक्रियाका लागि १६६ एक्सटेन्शन नम्बर तोकिएको छ ।

– आफन्तको मृत्यु भइ काजकिरियाका लागि नेपाल फर्कंन पर्नेले १११ एक्सटेन्शन नम्बर तोकिएको छ ।

– कोरोना बाहेक जटिल स्वास्थ्य समस्या भइ तत्काल नेपाल फर्कनुपर्ने भएमा ११३ एक्सटेन्शन नम्बर तोकिएको छ ।

– पर्यटक तथा पारिवारिक भिसामा कतारमा रही तत्काल नेपाल फर्कनुपर्ने भएमा १०५ एक्सटेन्शन नम्बर तोकिएको छ ।

–नेपालीको मृत्यु तथा शव लैजाने विषयका बारेमा ११४ एक्सटेन्शन नम्बर तोकिएको छ ।

– नेपाल जानुपर्ने र ट्राभल डकुमेन्ट आवश्यक भएमा ११० एक्सटेन्शन नम्बर तोकिएको छ ।

– श्रम सहचारीका लागि ११९ एक्सटेन्शन नम्बर तोकिएको छ ।

– लेखा शाखाका लागि १०९ एक्सटेन्शन नम्बर तोकिएको छ ।

– अन्य जानकारीका लागि ० मा फोन गर्न सकिने कतारमा रहेको नेपाली दूतावासले जनाएको छ । यी नम्बरमा फोन गरेर आफ्नो समस्या राख्दा दूतावास नै आउन नपर्ने गरी व्यवस्था मिलाइएको दूतावासले जनाएको छ ।

सार्वजनिक बिदाको दिन बाहेक हरेक आइतरबादेखि बिहीबारसम्म बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म दूतावास खुल्ला रहने हुँदा त्यही समयमा फोन गर्न अनुरोध गरिएको छ । ४ जुनमा सूचना प्रकाशित गरी सार्वजनिक गरिएका मोबाइल नम्बरहरु ३३८८०३२१, ६६९६३६१६, ६६९५०७२४, ७०४५३३८८ र ३३५६०११७ (ह्वाट्स्एप) अब प्रयोगमा नरहेको दूतावासले जनाएको छ ।

अहिलेसम्म मार्च २ सम्म रोजगारी सकिएका व्यक्तिहरुको नामावली प्रकाशन गरेको र त्यसमध्येमा धेरैजसो नेपाल फर्किसकेको र अब पनि क्रमैसँग प्राथमिकताको आधारमा नामावली प्रकाशन गर्ने दूतावासले जनाएको छ ।

आफन्तको मृत्यु भई काजकिरियाका लागि नेपाल जानु पर्ने, कोरोना बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य समस्या भएका, सुत्केरी तथा गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका, अध्ययन समाप्त भएका विद्यार्थी (इन्टर्नसमेत), पारिवारिक पुनर्मिलनका लागि आएका, पर्यटक तथा व्यापारिक भिसामा आएका बाहेक कतार आइडी र भिसा समाप्त भएका वा आइडी रद्द भएका, श्रम करार अवधि समाप्त भएका वा रोजगारी गुमाएका र वार्षिक र बेतलबी बिदामा रहेकाहरुको हकमा रोजगारी समाप्त भएको मिति र नेपालबाट तय हुने उडानको संख्या र मितिको आधारमा प्राथमिकताको सूची तय गर्ने दूतावासले जनाएको छ ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया