काठमाण्डौ महानगरको स्मार्ट शौचालय योजना : भएका अव्यवस्थित, नयाँ व्यवस्थित हुनेमा के ग्यारेण्टी ?

 असार २६, २०७७ शुक्रबार ११:२५:२९ | जानुका दुवाडी
unn.prixa.net


काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा ६४ वटा स्मार्ट सार्वजनिक शौचालय बनाउने भनेको छ । उपत्यकामा अहिले भएका शौचालयसमेत व्यवस्थित नभएको बेलामा महानगरपालिकाले नयाँ स्मार्ट शौचालय बनाउने बताएको हो । कतिपयले काठमाण्डौ जस्तो ठाउँमा यति धेरैको सङ्ख्यामा शौचालय बनाउनु चुनौतीपूर्ण हुने बताएका छन् । यस्तै स्मार्ट शौचालय निर्माणको लागि आवश्यक जग्गा, पानीलगायतको अभावको समस्या पनि उपत्यकामा छन् । तर महानगरपालिकाले भने चाहने हो भने बनाउन सकिन्छ भन्दै आएको छ ।  

काठमाण्डौमा सार्वजनिक शौचालयको स्थिति दयनीय छ । कुपण्डोल–त्रिपुरेश्वर–कलङ्की जस्ता व्यस्त सडकमा सार्वजनिक शौचालय छैन । दैनिक भक्तजनको घुइँचो लाग्ने स्वयम्भू क्षेत्रमा पनि शौच गर्न झाडीमा जानुपर्ने बाध्यता छ । रत्नपार्क, भृकुण्टीमण्डप, पुरानो बसपार्क, हनुमानढोका दरबार क्षेत्रलगायतका ठाउँमा शौचालय त छन् तर सबै ठाउँमा व्यवस्थित छैनन् । व्यवस्थापनको कमीले फोहर भएर भित्र पस्नै नसकिने खालका छन् । अझ महिलामैत्री नहुँदा महिलाहरुको लागि झनै समस्या छ । 

व्यवस्थापनको नीति नै अव्यवस्थित भएकाले चुनौती   

पूर्वाधारविद् प्रकाश अमात्य शौचालय बनाउनु ठूलो कुरा नभएको तर भएका शौचालय व्यवस्थित तरिकारले चलाउनु महत्त्वपूर्ण भएको बताउनुहुन्छ । अहिले भएका शौचालयसमेत अव्यवस्थित भइरहेको अवस्थामा नयाँ बनाइने शौचालय व्यवस्थित बन्ला र ? भन्नेमा उहाँ शङ्का गर्नुहुन्छ । 

त्रिपुरेश्वर–कलङ्की सडकमा मात्रै चार वटा पेट्रोल पम्प छन् । यीबाहेक काठमाण्डौमा एक सय ३५ वटा पम्प छन् । नेपाल आयल निगम बिक्रेता विनियमावली २०६५ को दफा ७ मा बिक्रेताको बिक्री स्थलमा कार्यालय, बिक्री कक्ष, पिउने पानी वा ट्युबवेल तथा शौचालय पनि हुनुपर्ने मापदण्ड छ । एक हजार लिटरको पानी ट्याङ्की राख्नुपर्ने पनि कानुनी व्यवस्था छ । तर कुनैमा पनि उपभोक्तालाई लक्षित गरेर शौचालय व्यवस्थापन गरिएको छैन ।

प्रायः पम्प सञ्चालकले बाध्यताले जेनतेन शौचालय सञ्चालन गर्दै आइरहेका छन् । पम्प, होटेल, रेस्टुरेन्ट, सपिङ मल, कम्प्लेक्स सञ्चालकसँगको सहकार्यमा शौचालय सञ्चालन गर्नेतर्फ जनप्रतिनिधिको ध्यान नगएको अमात्य बताउनुहुन्छ । नयाँ शौचालय निर्माण गर्न खुल्ला जग्गाको पनि कमी भएको उहाँको भनाइ छ । महानगरले विभिन्न ठाउँमा शौचालय सञ्चालन गरिदिएबापत करोडौँ रुपैयाँ राजस्व सङ्कलन गर्छ । राजस्व उठे पनि व्यवस्थापन नीति नहुँदा भद्रगोल छ ।   

स्मार्टको मापदण्ड के हो त ? 

स्मार्ट शौचालय केलाई भन्ने र त्यसमा के–के मापदण्ड हुने भन्ने विषय नै अन्योलमा छ । शौचालयको सरसफाइ र व्यवस्थापन पनि जनस्वास्थ्यसँग जोडिएको विषय भएकोले स्मार्ट शौचालय भन्नेबित्तिक्कै आधुनिक प्रविधियुक्त, सुविधा सम्पन्न र व्यवस्थित हुनुपर्ने अमात्य बताउनुहुन्छ । स्मार्ट शौचालयमा महिलाका संवेदनशीलतादेखि लिएर अरु हरेक पक्षलाई समेटिएको हुनुपर्ने उहाँको भनाइ छ । 

स्मार्ट शौचालयको उदाहरणको रुपमा काठमाण्डौको रत्नपार्क, ललितपुरको मङ्गलबजार, नयाँ बानेश्वर लगायतका ठाउँमा भएका शौचालयलाई लिनुपर्ने उहाँ बताउनुहुन्छ । यी ठाउँमा भएका सार्वजनिक शौचालयमा आधुनिक प्रविधि जडान गरिएको छ । मेसिनबाट पैसा छिराएर स्यानिटरी प्याड निकाल्न मिल्ने, दुई जनाले शौच गरेपछि सरसरफाइ हुने, मान्छे भित्र छिरेपछि आफै बत्ती बल्ने, बाहिर निस्कँदा आफै निभ्ने, हात सुकाउने मेसिन, स्यानिटाइजरलगायत सुविधा तथा प्रविधि जडान गरिएका छन् । यस्तै स्मार्ट भन्नेबित्तिक्कै वातावरणमैत्री हुनुपर्ने उहाँको भनाइ छ । 

ललितपुरको मङ्गलबजारमा रहेको सार्वजनिक शौचालय निर्माण गरिएको एक वर्ष भयो । यो ललितपुर महानगरपालिकालगायतका विभिन्न सङ्घसंस्थाको सहयोगमा निर्माण भएको हो । लकडाउनको बेला साढे दुई महिनामात्रै यो शौचालय बन्द भयो ।  त्योबाहेक सधैँ सञ्चालनमा छ । यो ठाउँ पर्यटकका लागि पनि उत्तिकै महत्त्वपूर्ण छ । स्मार्ट शौचालय भए पनि शुल्क भने अरु शौचालयमा भन्दा खासै फरक छैन । पिसाब गरेबापत पाँच रुपैयाँ र दिसा गरेबापत १० रुपैयाँ तिर्नुपर्छ । 

एरोसान ट्वाइलेट हबले सञ्चालन गरेको यो शौचालय सुविधा सम्पन्न मात्र छैन, अपाङ्गता भएका, वृद्धवृद्धा र महिलामैत्री पनि छ । महिलाहरुको महिनावारीमा प्रयोग हुने स्यानिटरी प्याड पनि मेसिनबाट आफैँ निकाल्न सकिन्छ । यस सार्वजनिक शौचालय एरोसानका कर्मचारीहरुले दैनिक र नियमितरुपमा सरसफाइ गर्दछन् । कोरोनापछिको अवस्थामा सार्वजनिक शौचालयका प्रयोगकर्ताले अनलाइन भुक्तानी गर्ने प्रबन्ध मिलाइएको छ । स्क्वाड इज प्यानको प्रयोग गरिएको कारण हाडजोर्नी दुख्ने, विशेष त वृदवृद्धालाई सहज हुने गरेको छ । 

शौचालयको सरसफाइ मात्र नभएर सफाइ कर्मचारीको सुरक्षाको पनि विशेष ध्यान दिने भएकाले काम गर्न सजिलो रहेको एरोसानका नारायण अवाले बताउनुहुन्छ । 

यो सार्वजनिक शौचालयमा आकाशे पानी सञ्चित गरी सरसफाइमा प्रयोग गरिन्छ । जम्मा भएको शौचबाट बायो ग्यास उत्पादन गरिएको र नजिकका चिया पसलहरुमा ग्यास प्रयोग गर्न दिने योजना बनाएको उहाँको भनाइ छ । शौचकै मल बनाएर वितरण गर्ने योजनाअनुरुप नै सार्वजनिक शौचालय बनाइएको उहाँले बताउनुभयो । 

के छ त महानगरपालिकाको नीति तथा कार्यक्रममा ?

काठमाण्डौ महानगरपालिकाको नीति तथा कार्यक्रममा सार्वजनिक शौचालय निर्माण, सञ्चालन तथा व्यवस्थापन निर्देशिका कार्यान्वयनमा ल्याइने उल्लेख छ । अहिले सञ्चालनमा रहेका सार्वजनिक शौचालयहरुको मर्मत सम्भार, स्तरोन्नति गर्ने कार्यको सुरुवात गर्ने पनि भनिएको छ ।

यस्तै यसै आर्थिक वर्षभित्र निजी क्षेत्रसमेतको सहभागितामा प्रत्येक वडामा कम्तीमा दुई वटा सार्वजनिक शौचालय वडा कार्यालयमार्फत निर्माण तथा सञ्चालन गर्ने पनि नीति तथा कार्यक्रममा समावेश गरिएका छन् । सर्वसाधारणलाई सार्वजनिक शौचालयमा पहुँच वृृद्धि गर्न रेस्टुरेन्ट, सपिङ मल, पेट्रोल पम्प, अस्पताल, सार्वजनिक संस्थाहरुका शौचालयहरुसमेत प्रयोग गर्न सक्ने व्यवस्थाका लागि सम्बन्धित निकायसँग सहकार्य गर्ने पनि उल्लेख छ । 

शौचालय निर्माणको काम सुरु भइसक्यो : महानगरपालिका 

काठमाण्डौ महानगरपालिकाका प्रवत्ता ईश्वरमान डङ्गोल महानगरपालिकाले स्मार्ट सार्वजनिक शौचालय निर्माणको काम सुरु गरिसकेको बताउनुहुन्छ । उहाँका अनुसार नयाँ स्मार्ट सार्वजनिक शौचालय बनाउने काम सुरु भइसकेको र पुराना शौचालयलाई पनि व्यवस्थित गर्ने तयारी भइरहेको छ ।  

अहिले उपत्यकामा भएका शौचालयको अवस्था नाजुक भएको स्वीकार गर्दै उहाँले अब सुधार हुने बताउनुभयो । एउटा वडामा दुई वटा स्मार्ट शौचालय निर्माण गर्न केही चुनौती भए पनि सबै मिलेर लाग्ने हो भने सम्भव हुने उहाँले बताउनुभयो ।

महानगरपालिकाले पनि स्मार्ट शौचालयअन्तर्गत अटोमेटिक फ्ल्स हुने, त्यहाँ प्रयोग भएको पानी फेरि प्रयोग गर्न मिल्ने बनाउने भएको छ । त्यसमा प्रयोग गर्न आकाशे पानी सङ्कलन गर्ने उहाँले बताउनुभयो । यस्तो शौचालय निर्माणका लागि ३० देखि ३५ लाख रुपैयाँ लाग्ने उहाँको भनाइ छ । काठमाण्डौ महानगरपालिकाले सानो स्मार्ट शौचालयका लागि डेढ करोड, मझौलाका लागि दुई करोड र ठूलाको लागि तीन करोड रुपैयाँ बजेट छुट्याएको छ ।  

अन्तिम अपडेट: असार ३०, २०७७

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया