मनसुन थप सक्रिय भएसँगै सरकार ‘हाई अलर्ट’मा

 असार २६, २०७७ शुक्रबार ७:१६:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – मनसुन थप सक्रिय भएसँगै सरकारले उच्च सावधानी (हाई अलर्ट) मा रहेको जनाएको छ ।

मनसुनजन्य विपद्का घटना हुनासाथ तत्काल परिचालन हुनेगरी तयारीमा रहन समेत गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ । लगातारको वर्षाले देशका विभिन्न ठाउँमा बाढी, पहिरो र डुबान हुने पुर्वानुमानसँगै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यमा खटिने मातहतका निकायलाई तत्कालै परिचालन गर्नसक्ने गरी सरकारले उच्च तयारी गरेको हो ।

उद्धारका कुन कुन सामग्री कहाँ कहाँ छन् भनेर यकिन गरिएको र तत्कालै परिचालन हुने गरी संयन्त्र तयारी अवस्थामा राखिएको गृह मन्त्रालयले जनाएको छ । आवश्यक राहत तथा खाद्य सामग्रीको मौज्दातको अध्यावधिक समेत गरिएको छ ।

गृहमन्त्री रामबहादुर थापाले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित जिम्मेवार निकायलाई आवश्यक तयारीमा रहन र विपद् जोखिम न्यूनीकरणको काममा खटिन आवश्यक निर्देशन दिनुभएको छ । कोरोनाको संक्रमणसँगै विपद्जन्य घटनाको पनि सामना गर्नुपर्ने भन्दै उहाँले सबै निकायलाई हाई अलर्टमा रहन समेत निर्देशन दिनुभएको छ ।

गृहसचिव महेश्वर न्यौपानेले विपद्बाट जोखिम कम गर्न उद्धार र राहत व्यवस्थापनमा आवश्यक तयारी गरिएको र मातहतका निकायलाई तयारीमा रहन भनिसकेको जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया