बाढी पहिराे अपडेट : २३ जनाको ज्यान गयो, २४ जना बेपत्ता

 असार २६, २०७७ शुक्रबार १४:४६:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – देशका विभिन्न ठाउँमा बाढी र पहिरोमा परी २३ जनाको ज्यान गएको छ । २४ जना हराइरहेका छन् । विहीबार बेलुकादेखि  लगातार भएको वर्षासँगै देशका विभिन्न ठाउँमा बाढी तथा पहिरो गइरहेकाे छ ।  

पोखराको विभिन्न ठाउँमा पहिरो जाँदा ६ जनाको ज्यान गएको छ । एक जना हराइरहेका छन् भने आठ जना घाइते भएका छन् । पोखरा महानगरपालिका १८ सराङकोट गोठादीका टंकबहादुर थापा मगरको घरमा पहिरो जाँदा थापासहित उहाँकी श्रीमती सोममाया थापा, टंक थापाको दाइको नाति ६ वर्षीय सुवान थापा, त्यही ठाउँमा ११ वर्षीय इसिका थापा र तनहुँ दमौलीका आठ वर्षीय शीतल श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ ।

त्यस्तै पोखरा २५ हेम्जा मेलबाटेका रामचन्द्र अधिकारीको घर पहिरोले भत्किँदा उहाँकी आमा हिमकला अधिकारीको ज्यान गएको छ । पोखरा २६ पैतेडाँडाका दुर्गाबहादुर सुनारको घर भत्किँदा घरधनी सुनार हराइरहेका प्रहरीले जनाएको छ ।   

जाजरकोटको बारेकोट गाँउपालिका ४ सार्कीटाेलमा पहिरो खस्दा एक जनाको ज्यान गएको छ । ११ जना हराइरहेका छन् । पहिरोले गोपाल सार्की र कलु सार्कीकाे घर बगाउँदा पुरिएका १२ जनामध्ये एक जनाको शव भेटिएको प्रहरीले जनाएको छ । शवको पहिचान भएको छैन । हराएकाहरुको खोजी भइरहेको गाँउपालिकाका अध्यक्ष महेन्द्र शाहले बताउनुभयो । 

म्याग्दीमा बाढी र पहिरोमा पुरिएर १० जनाको ज्यान गएको छ । अरु १२ जना बेपत्ता भएका छन् । बाढी तथा पहिरोमा परेर मालिका गाउँपालिका ७ विममा आठ जना र धवलागिरी ७ ताकममा दुई जनाको ज्यान गएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिनुभयो । यसैगरी धवलागिरी ६ मराङमा बाढी तथा पहिरोमा परेर १२ जना बेपत्ता भएकाे प्रजिअ ढकालले बताउनुभयो । मराङमा २० घरधुरी, विममा १० घरधुरी र ताकममा पाँच घरधुरीमा क्षति भएको छ ।   

लमजुङको बेसीसहर नगरपालिका ७ सातबिसेमा पहिरोले घर पुरिँदा तीन जनाको ज्यान गएको छ । दीपक तामाङको घर पुरिँदा उहाँसहित उहाँकी श्रीमती बिमाया तामाङ र छोरा सेवाङ तामाङको ज्यान गएको लमजुङका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिनुभएको छ । 

रुकुम पश्चिममा पहिरो खस्दा एकै घरका दुई जनाको ज्यान गएको छ । आठबीसकोट नगरपालिका ३ की २८ वर्षीया सीता दमाई र उहाँका ६ वर्षीय छोरा हाविलको ज्यान गएको प्रहरीले जनाएको छ । आठ वर्षीया छोरी हिरालाई उद्धार गरिएको प्रहरीले जनाएको छ । 

यस्तै गुल्मीको कालीगण्डकी गाउँपालिका ४ फुस्रेका यामबहादुर श्रीसकाे खेतमा कुलो बनाउँदै गर्दा माथिबाट झरेको पहिरोमा पुरिएर ज्यान गएको प्रहरीले जनाएको छ । 

बिहीबार सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा बाढी र पहिरोमा बेपत्ता भएकाहरुको शुक्रबार बिहानदेखि खोजी सुरु गरिएकाे छ । हराइरहेका २१ जनाको खोजीको काम सुरु भएको हो । शुक्रबार बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकाका विभिन्न ठाउँमा बाढी र पहिरोमा परेर दुई जनाको ज्यान गएको छ । बाढी र पहिरोमा १६ घर पूर्णरुपमा क्षति भएकाे छ । 

बेनी–जोमसोम सडकखण्ड अन्तर्गत गलेश्वरकाे रघुगङ्गा खोलामाथिको पक्की बेलिब्रिजमा बाढीले पूर्णरुपमा क्षति पुर्‍याएकाे छ । रघुगङ्गा खोलामा आएको बाढीले पुलमा क्षति पुर्‍याएपछि रघुगङ्गा गाउँपालिकाको वडा नम्बर १, २, ३, ४, ७ र ८ नम्बर वडा तथा अन्नपूर्ण गाउँपालिका र मुस्ताङसँगको सिधा यातायात सम्पर्क विच्छेद भएको छ ।

यसैबीच सोलुखुम्बुको थुलुङ दुधकोशी र सोताङ गाउँपालिका जोड्ने दिप्लीघाटमा निर्माण भएको बेलिब्रिज निर्माण सम्पन्न भएको एक महिना नपुग्दै जोखिममा परेको छ । ठेकेदार कम्पनीले पुलको जगमा तारजालीसहित ढुङ्गा भर्नुपर्नेमा माटो मात्र राखेकोले एकातर्फको जग भत्किन थालेको सोताङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर राईले बताउनुभयो ।   

पानीको बहाव बढेपछि नारायणी र सप्तकोशी नदीमा खतराको सङ्केत दिइएको छ । अहिले पनि देशका धेरैजसो ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकोले अबको केही दिन देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित हलुकादेखि मध्यम र केही ठाउँमा भारी वर्षासमेत हुने महाशाखाले जनाएको छ ।

नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने तथा कतिपय ठाउँमा डुबानसमेत हुने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।  

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया