बाजुरा : सुत्केरी हुन नसकेर छट्पटाउँदै

 असार २६, २०७७ शुक्रबार १५:४४:३७ | निमेन्द्र शाही
unn.prixa.net

बाजुरा – बाजुराको हिमाली गाउँपालिका ३ यूनाकी २५ वर्षीया लालसरी बुढा तीन दिनदेखि सुत्केरी व्यथा लागेर छटपटाइ रहनुभएको छ ।

सुत्केरी व्यथा लागेकी बुढाले बच्चा जन्माउन सक्नुभएको छैन । उहाँकाे शरीरबाट अत्यधिक रक्तश्राव भइरहेको छ । गाउँ नजिकै रहेको यूना आधारभूत स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मी नभएको स्थानीयबासीले बताएका छन् । 

नजिकैकाे स्वास्थ्य केन्द्रमा सुत्केरी गराउन स्वास्थ्यकर्मी नभएकाेले बुढालाई अर्को स्वास्थ्य चौकीमा लैजान खोज्दा वर्षाका कारण बाटाे बन्द हुँदा सम्भव नभएको स्थानीयवासी अर्जुन रोकायाले बताउनुभयो ।

स्थानीयवासीको सक्रियतामा गर्भवतीलाई बिच्छ्या स्वास्थ्य चौकी पुर्‍याउने पहल गरिए पनि सफल नभएपछि उहाँलाई घर फर्काइएको छ । रगत बगेको र सुत्केरी हुन नसकेकोबारे स्वास्थ्यकर्मीलाई खबर गरेर गाउँमै बोलाइए पनि पहिरोले गर्दा स्वास्थ्यकर्मीसमेत आउन नसकेको रोकायाको भनाइ छ । बिच्छ्या स्वास्थ्य चौकी युनाबाट झण्डै पाँच घण्टाको पैदल दुरीमा पर्छ ।

दुर्गम यस गाउँबाट कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा गर्भवती बोकेर ल्याउन तीन दिनको पैदल यात्रा गर्नुपर्ने बाध्यता छ । बुढालाई बोकेर ल्याउँदा वर्षाकाे कारण पहिरो आएमा बीच बाटामा अलपत्र पर्ने र ज्यान जाने जोखिमका डरले कोल्टी ल्याउन नसकिएको रोकायाले बताउनुभयो ।

गर्भवतीको उच्च रक्तश्राव भइरहेकाले तत्काल उपचार नभए ज्यान जाने जोखिम रहेको छ । हिमाली गाउँपालिकाले भने स्वास्थ्य संस्थाले गर्भवतीको उपचारकाे लागि सिफारिस नगर्दासम्म गाउँपालिका स्वास्थ्य शाखाले कुनै प्रक्रिया अघि बढाउन नसक्ने जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

निमेन्द्र शाही

बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया