शुक्रबार मात्रै १९ अन्तर्राष्ट्रिय उडान, स्वदेश आइपुगे १६ सय ११ नेपाली, २०५ जना कोरिया गए

 असार २६, २०७७ शुक्रबार २०:१३:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज विभिन्न ९ उडानमार्फत नेपाली स्वदेश आइपुगेका छन् ।

खाडीमा देश मलेसिया र कोरियाबाट त्यहाँ समस्यामा रहेका १६ सय ११ जना नेपाली चार्टर्ड उडानमार्फत स्वदेश आएका हुन् । आज नेपाली लिएर कोरियाबाट आएको कोरियन एअरले भने एक बच्चासहित २०५ जना यात्रु लिएर गएको छ ।

खाडीका देश, मलेसियासहित विभिन्न देशबाट कोरोना महामारीका कारण समस्यामा परेर स्वदेश फर्कंनै पर्ने अवस्थामा रहेका नेपालीहरुलाई सरकारले लिनका लागि चार्टर्ड जहाजहरु पठाइरहेको छ । आज खाडी र मलेसियाबाट ४ नेपालीको शव पनि आएको छ ।

आज कहाँबाट कति फर्किए ?

आज मलेसियाबाट मात्रै तीन उडानमार्फत नेपाली फर्किएका छन् । मलिण्डो एअरबाट १७० जना र हिमालय एअरलाइन्समार्फत १४६ जना काठमाण्डौ आइसकेका र नेपाल एअरलाइन्सको जहाज भने नेपाली लिएर आउँदै गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

मलेसियाबाट हिमालय एअरलान्सले दुई जना नेपालीको शव पनि ल्याएको छ । यस्तै आज साउदीबाट पनि दुई उडानमार्फत नेपालीहरु स्वदेश फर्किएका छन् । साउदीको रियादबाट नेपाल एअरलाइन्सको चार्टर्ड जहाजमार्फत २४७ जना स्वदेश आइपुगेका छन् भने दमामबाट हिमालय एअरलाइन्सको चार्टर्ड जहाजमार्फत १५४ जना नेपाली काठमाण्डौ आइपुगेका छन् ।

खाडीकै अर्को देश कुवेतबाट पनि आज हिमालय एअरलाइन्सकै चार्टर्ड जहाजले त्यहाँ समस्यामा रहेका १५१ जना नेपाली ल्याएको छ । आज कतारबाट पनि १४९ जना नेपाली स्वदेश फर्किएका छन् । कतारबाट नेपाली लिएर आएको जहाजले दुई जना नेपालीको शव पनि ल्याएको छ । एअर अरेबियामार्फत यूएईको सारजहाबाट १६७ जना नेपाली स्वदेश आइपुगेका विमानस्थलले जनाएको छ ।

यस्तै आज ओमानबाट पनि सलाम एअरले नेपाली लिएर आएको छ । सलाम एअरमार्फत त्यहाँ समस्यामा रहेका १७९ जना नेपाली स्वदेश आएका हुन् । यो ओमानबाट नेपालीको स्वदेश फिर्तीका लागि भएको तेस्रो उडान हो । अन्य देशमा नेपाली एअरलाइन्सको जहाज लिन गए पनि ओमानबाट भने सरकारले तोकेकोभन्दा सस्तो मूल्यमा सलाम अएरले नेपाली स्वदेश ल्याइदिएको छ ।

यस्तै आज कोरियाबाट पनि कोरियन एअरमार्फत २४८ जना स्वदेश आइपुगेका विमान्स्थलले जनाएको छ । त्यहाँ समस्यामा रहेका नेपाली लिएर आएको कोरियन एअरले फर्कंदा एक बच्चासहित २०५ जना यात्रु लिएर गएको छ। कोरियाको भ्यालिड भिसा र श्रम भएकाहरु महामारीकै बीचमा पनि कोरिया गइरहेका छन् ।

आजै, हिमालय र नेपाल एअरलाइन्सका जहाज खाडीका देशमा नेपाली लिन जाँदैछन् । हिमालय एअरका दुई जहाज साउदीको दमाम र यूएईको आबुधावी जाँदैछन् भने नेपाल एअरलाइन्सको जहाज साउदीको जेद्धा र यूएईको दुबई जाँदैछन् । त्यहाँबाट नेपाली लिएर भोलि बिहान यी जहाज स्वदेश फर्कनेछन् । आज नेपाली ल्याउन, लिन जान र नेपाली लिएर आएका जहाज फर्कन गरी विमानस्थलमा १९ वटा अन्तर्राष्ट्रिय उडान भएको छ ।

शनिबार पनि १९ अन्तर्राष्ट्रिय उडान तालिका तय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार भोलि शनिबार पनि नेपाली ल्याउन, लिन जान र नेपाली लिएर आएका जहाज फर्कनका लागि १९ वटा अन्तर्राष्ट्रिय उडान हुने भएको छ ।

भोलि १० उडानमार्फत विभिन्न देशबाट नेपालीहरु स्वदेश फर्कंदै छन् । नेपाल एअरलाइन्सले साउदी र दुबई र मलेसियाको क्लालाम्पुरबाट नेपाली लिएर आउनेछ भने हिमालय एअरलाइन्सले साउदीको दमाम र यूएईको आबुधाबीबाट नेपालीहरुलाई लिएर आउनेछ ।

यस्तै भोलि टर्किस् एअरलाइन्सले इस्तानबुलबाट, इतिहाद एअरले ओमानबाट, एअर अरेबियाले यूएईको सारजहाबाट, जजिरा एअरले कुवेतबाट, हिमालय एअरले कुन्मिङबाट नेपाली लिएर आउनेछन् । यी जहाज आगमन र प्रस्थान भोलि नै हुने विमानस्थलले जनाएको छ । यस्तै भोलि नै हिमालय एअरलाइन्सका जहाज फिलिपिन्सको मनिला र साउदीको दमाममा त्यहाँ समस्यामा रहेका नेपाली लिन जाने तालिका रहेको विमानस्थलले जनाएको छ ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया