प्रधानमन्त्रीसँगकाे संवाद छाेडेर निरीक्षण गर्न आएँ : प्रचण्ड

 असार २७, २०७७ शनिबार १६:१५:४४ | रासस
unn.prixa.net

चितवन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नारायणी नदीको कटान रोक्नका लागि आवश्यक काम भइरहेकाले डर मान्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर २७ र २८ को सीमा क्षेत्र न्यूरेचोकमा नारायणीले कटान गरेको क्षेत्रको आज निरीक्षण गर्नुहुँदै उहाँले तत्कालका लागि अस्थायी समाधानको काम नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले गरिरहेको बताउनुभयो । 

यस क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित सांसदसमेत रहनुभएका दाहालले प्रधानमन्त्रीसँगको आजको संवादलाई छाडेर आफू निरीक्षणमा आएको बताउनुभयो । पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्रीसँग परामर्श गरेर आफू निरीक्षणमा आएको अध्यक्ष दाहालले जानकारी दिनुभयो । 

दाहालले आफू निर्वाचित भएदेखि नै राप्ती र नारायणीमा तटबन्धसहितको चक्रपथ अघि बढाएको बताउनुभयो । विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्याङ्कन कार्य भइसकेको र बजेटका लागि अर्थ मन्त्रालयमा कुरा भईरहेको दाहालले जानकारी दिनुभयो । उहाँले सरकार सकारात्मक रहेकाले सो काम सम्पन्न हुने विश्वास दिलाउनुभयो । 

पानी परेपछि शुक्रबारबाट त्यस क्षेत्रमा नारायणीले कटान गर्न सुरु गरेको हो । दाहाललाई यस क्षेत्रका प्रदेश सभा सदस्य कृष्ण भुर्तेल र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नदी कटानका बारेमा जानकारी गराउनुभएको थियो । दाहालले शनिबार नै माडी नगरपालिकाको बाढी प्रभावित विभिन्न क्षेत्रको पनि निरीक्षण गर्दै हुनुहुन्छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया