यूएईमा लकडाउन अवधिमा ८९ जना नेपालीको ज्यान गयो, कोरोनाबाट मात्रै २९ को मृत्यु

 असार २८, २०७७ आइतबार ७:३३:५६ | उमाकान्त पाण्डे
unn.prixa.net

यूएई – संयुक्त अरब एमिरेट्स यूएईमा लकडाउन अबधिभर ८९ जना नेपालीको ज्यान गएको छ ।

गएको चार महिनामा विभिन्न कारणले ८९ जना नेपालीको ज्यान गएको यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ । त्यसमध्ये २९ जनाको कोरोनाका कारण ज्यान गएको हो । कोरोनाका कारण ज्यान गुमाउनेमध्ये १ जना महिला र बाँकी २८ जना पुरुष रहेका छन् ।

गएको मार्च अन्तिम सातादेखि सुरु भएर जुलाई पहिलो सातासम्ममा (लकडाउन अवधिभर) यूएईमा ८९ जना नेपालीको ज्यान गएको दूतावासले जनाएको छ । ४२ जनाको अन्त्येष्टि यूएईमै ज्यान गुमाएका ८९ मध्ये ४२ जनाको अन्त्येष्टि यूएईमै गर्न दूतावासले ‘नो अब्जेक्सन’ जारी गरेको छ । ​यूएईमै अन्त्येष्टिका लागि नो अब्जेक्सन जारी गरेका ४२ जना कोरोनाबाहेक अन्य कारणले ज्यान गुमाएका हुन ।

त्यस्तै कोरोनाको कारण ज्यान गुमाउने २९ जनाको पनि अन्त्येष्टि भइसकेको छ । बाँकी १८ जनामध्ये ११ जनाको शव नेपाल पठाइएको दूतावासले जनाएको छ । बाँकी ७ जनाको शव अझै पनि विभिन्न अस्पतालको शवगृहमा राखिएको छ ।

यूएईबाट क–कस्को शव नेपाल लगियो ?

यूएईमा ज्यान गुमाएका ८९ जनामध्ये शनिबारसम्ममा ११ जनाको शव नेपालमा आफन्तले बुझेका छन् । गएको चैत २८ गते यूएईको फुजेराहमा ब्रेन ट्युमरका कारण ज्यान गुमाएका सिन्धुपाल्चोकका पेमा नुर्बु यल्मोको शव गएको जुन १९ को पहिलो उडानमा पठाइएको थियो ।

त्यस्तै, धनुषाका वीरेन्द्र दास, उदयपुरका टुकबहादुर बुढाथोकी, काठमाण्डौकी सगीता घलाङ, महोत्तरीका श्रीचरण यादव, भोजपुरका खगेन्द्र गिरी, स्याङ्जाका प्रेमबहादुर थापा र राजेन्द्र विक, सर्लाहीका देवनारायण महतो सुडी, खोटाङका इन्द्र कटुवाल र सप्तरीका राम सेवक खाङको शव नेपाल पठाइएको दूतावासकी श्रम काउन्सिलर निर्मला थापाले जानकारी दिनुभयो ।

लकडाउनका कारण उडान नहुँदा यहाँ ज्यान गुमाउनेको शव नेपाल पठाउन सकिएको थिएन । शव नेपाल पठाउन नसकेपछि स्थानीय प्रशासनले पटक पटक कुटनैतीक माध्यममार्फत शव व्यवस्थापनमा सहयोग गर्न दूतावासलाई अनुरोध गर्दै आएको र दूतावासले परिवारसँगै विभिन्न निकायसँग शव व्यवस्थामा समन्वय गरिरहेको दूतावासले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया