इजी ट्याक्सी नेपाल एपले ११ हजार चालकको कोरोना बीमा गरिदिने

 असार २८, २०७७ आइतबार १०:५८:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इजी ट्याक्सी नेपाल एपले टयाक्सी चालकहरुको सुरक्षालाई ध्यानमा राखेर कोरोनाको बीमा गरिदिने व्यवस्था ल्याएको छ ।

पछिल्लो समय देशमा बढ्दै गएको कोराना सङ्क्रमणलाई मध्यनजर गर्दै काठमाण्डौ उपत्यकाका करिब ११ हजार ट्याक्सी चालकहरुको कोरोना बीमा गर्ने व्यवस्था गरेको हो । यस योजना अन्तर्गत ट्याक्सी चालकहरुले इजी ट्याक्सी नेपाल एपमार्फत ट्याक्सी सेवा सञ्चालन गरेको हुनुपर्नेछ वा आगामी दिनमा इजी ट्याक्सी नेपाल एपमा आवद्ध हुने प्रतिबद्धता गर्नुपर्नेछ ।

देशभर लागू भएको लकडाउनका कारण लामो समयसम्म ट्याक्सी व्यवसाय समेत बन्द भएको र समस्यामा रहेको हुँदा यसलाई सहज बनाउन बीमा गर्न लागिएको इजी ट्याक्सी नेपालका अध्यक्ष संजित पौडेलले बताउनुभयो ।

यस एपभित्र चालक तथा यात्रुलाई सुरक्षित गराउनको लागि म्यानुअल दर्ता सिस्टमको पनि व्यवस्था गरिएको छ । जसको माध्यमबाट यात्रुको मोबाइलमा कुन नम्बरको ट्याक्सीमा कुन स्थानसम्म जाँदैछु भन्ने कुराको जानकारी प्राप्त हुन्छ । 

इजी ट्याक्सी नेपालकाका अध्यक्ष पौडेलका अनुसार यसबाट चालक तथा यात्रु दुवै सुरक्षित हुनुको साथै कुनै मालसामान छुटेको अवस्थामा पनि सजिलै आफू चढेको ट्याक्सीको बारेमा जानकारी प्राप्त गर्न सकिने र मालसामान फिर्ता पाउन सहज हुनेछ ।

यस प्रकारको सिस्टमको माध्यमबाट नेपाल सरकारलाई आवश्यक परेको बेलामा कोरोनाको ट्रेसिङ्ग गर्नुपर्दा सहयोग पुग्नुको साथै आवश्यक विवरणहरु पनि सजिलै संकलन गर्न सकिने पनि अध्यक्ष पौडेलले बताउनुभयो ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया