बैतडीका ८ वटा पालिका पहिरोको उच्च जोखिममा

 असार २८, २०७७ आइतबार १२:१८:५७ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – बैतडीका ८ वटा पालिका पहिरोको उच्च जोखिममा रहेका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुसार मेलौली नगरपालिका, दोगडाकेदार गाउँपालिका, पुरचौंडी नगरपालिका, सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, दशरथचन्द नगरपालिका र डिलाशैनी गाउँपालिका पहिरोको उच्च जोखिममा रहेका छन् ।

जिल्लाका अन्य पालिकाहरुमा विभिन्न प्रकोपको जोखिम रहेको भए पनि आठवटा पालिका पहिरोको उच्च जोखिममा रहेका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताउनुभयो । अहिलेसम्म पहिरोले पुर्याएको क्षति, प्रकोपको स्तरिकरण र सम्भावित जोखिमको विश्लेषण गर्दा ८ वटा पालिका पहिरोको उच्च जोखिममा रहेका नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका कार्यक्रम संयोजक तेजप्रसाद पाण्डेयले बताउनुभयो ।

सुर्नया र पाटन बाहेक अरु पालिका पहिरोको उच्च जोखिममा रहेका उहाँले बताउनुभयो । ती दुई पालिकामा पनि पहिरोको जोखिम कायमै रहेको छ । यस्तै जिल्लामा विभिन्न किसिमका प्रकोपहरुको जोखिम रहेको र ती प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनालाई अद्यावधिक गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताउनुभयो ।

जिल्लाको डिलाशैनी गाउँपालिकाको बांगाबगर, गोकुलेश्वर, रुद्रेश्वर, साउनगाउँ, देवगाउँ, ल्वारीखेत र दोगडाकेदार गाउँपालिकाको सित्तड र न्वाली पहिरोको उच्च जोखिममा छन् ।

यस्तै पुरचौंडी नगरपालिकाको मल्लादेही क्षेत्र र मेलौली नगरपालिकाको विशालपुर क्षेत्र पनि पहिरोको उच्च जोखिममा छन् । मल्लादेहीको लामुनी पहिरोका कारण प्रत्येक वर्ष धनजनको क्षति हुने गरेको स्थानीय नरेन्द्र साउँदले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २, २०८१

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया