पाल्पा : मास्क नलगाइ हिँडेका २७ जनालाई जरिबाना तिराइयाे, मास्क दिएर घर पठाइयाे

 असार २८, २०७७ आइतबार १८:५८:११ | देव पचभैया
unn.prixa.net

पाल्पा – पाल्पामा मास्क नलगाइ सडकमा हिँडेका २७ जनालाई प्रहरीले कारबाही गरेको छ ।

सदरमुकाम तानसेन बजारमा मास्कविना बजार हिँडेकालाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) मदन गिरीले जानकारी दिनुभयो ।  

सङ्क्रामक रोग ऐन २०२० र नेपाल सरकारले जारी गरेको लकडाउनको अवज्ञा गर्दै मास्कविना सडकमा हिँडेकालाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालयबाट एक सय रुपैयाँ जरिबाना गरी उनीहरुलाई मास्क दिएर घर पठाएको प्रवक्ता गिरीले जानकारी दिनुभयो । 

गएको हप्तादेखि लकडाउनकाे पालना गर्न प्रचारप्रसार एवं सचेतनामूलक कार्यक्रम गरेको र आइतबारदेखि लकडाउनको पालना नगर्नेलाई कारबाही सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

पाल्पामा अहिलेसम्म पाँच सय ४९ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाेमा तीन सय तीन जना निको भएर घर फर्किएका छन् । काेराेना सङ्क्रमणकाे कारण पाल्पामा ३६ वर्षीय एक पुरुषको ज्यान गएको छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया