लुभुमा एकै घरका १० जनामा कोरोनाकाे सङ्क्रमण पुष्टि

 असार २८, २०७७ आइतबार २०:११:५७ | रासस
unn.prixa.net

ललितपुर – महालक्ष्मी नगरपालिका ८ लुभुको एकै घरका १० जना मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

बल्खुको वयाेधा अस्पतालमा कार्यरत ल्याब टेक्निसियनमा यही असार १७ गते कोरोना सङ्क्रमण पुष्टि भएसँगै उहाँका परिवारका अन्य सात जनामा र भाडामा बस्ने दुई गरी १० जनामा गरिएको स्वाब सङ्कलनमा सबैको नतिजा पोजिटिभ आएको हो । 

नर्सले आफू सङ्क्रमित देखिनुअघि आमालाई लुभुको स्वस्तिक फार्मेसीमा अन्य रोगको समस्या भएर उपचारकाे लागि ल्याउनुभएको वडाध्यक्ष विश्वराज श्रेष्ठले बताउनुभयो । यस फार्मेसीमा कार्यरत श्रेष्ठका दुई छोराले यही असार २१ गते पाटन र टेकुमा गरेको स्वाब परीक्षणमा उहाँहरुको रिपोर्टसमेत कोरोना पोजेटिभ आएको श्रेष्ठले जानकारी दिनुभयो । 

श्रेष्ठलगायत उहाँका नाती र बुहारी भने अहिले होम क्वरेण्टीनमा हुनुहुन्छ । फार्मेसीमा कार्यरत जेठो छोरा र अर्का चिकित्सक भनिएका कान्छा छोरा भने अहिले सशस्त्र प्रहरीको अस्पताल बलम्बुमा उपचार गराइरनुभएको छ ।

यस वडामा यसका अलवा विदेशबाट फर्किएकी एक महिला, ग्वार्कोको बी एण्ड बी अस्पतालमा उपचारकाे लागि गएका एक पुरुष र स्थानीय अर्की एक महिला गरी अहिलेसम्म लुभुका १५ जनालाई कोरोना सङ्क्रमण पुष्टि भइसकेको नगर प्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, 'यसका अलवा वडा नम्बर ६ सिद्धिपुरका तीन, वडा नम्बर १ र वडा नम्बर ४ इमाडोलका एक/एक गरी अन्य पाँच जनामा समेत कोरोना पोजेटिभ देखिएको छ, नगरपालिकाभित्र अहिलेसम्म कुल २० जनामा कोरोना पोजिटिभ देखिएकाे छ ।'

यी सङ्क्रमितको काठमाण्डौका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । लुभुका यी १२ व्यक्तिमा एकैदिन यही असार २५ गते कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डाक्टर खगेश्वर गेलालले बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया