काेराेना परीक्षण गर्न अनुमति पाएका निजी प्रयाेगशाला यी हुन्

 असार २९, २०७७ सोमबार १४:५२:५६ | रासस
unn.prixa.net

काठमाण्डाै – सरकारले ६ वटा निजी प्रयोगशालालाई कोभिड–१९ को पीसीआर परीक्षण गर्न अनुमति दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मापदण्ड पुगेका ६ निजी प्रयोगशालालाई पीसीआर परीक्षण गर्न अनुमति दिएको प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले जानकारी दिनुभयो । 

उहाँका अनुसार स्टार अस्पताल काठमाण्डाै, काठमाण्डाै मेडिकल कलेज काठमाण्डाै, सेन्ट्रल डाइग्नोस्टिक ल्याब्रोटोरी काठमाण्डाै र सूर्या हेल्थ केयर सेन्टर रहेका छन् । यस्तै उपत्यकाका बाहिर नेशनल प्याथल्याब बुटवल र वागेश्वरी प्रयोगशाला कोहलपुर बाँकेले अनुमति पाएका छन् । 

प्रयोगशालाले पीसीआर परीक्षणको दायरा बढाउनकाे लागि गएकाे जेठ २२ गते इच्छुक निजी प्रयोगशालालाई प्रस्ताव आह्वान गरेको थियो । त्याे प्रस्तावमा १९ वटा प्रयोगशालाले आफूले पीसीआरको परीक्षण गर्न प्रस्ताव दर्ता गराएका थिए । 'हामीले प्रस्ताव दर्ता गराएका प्रयोगशालाको मापदण्ड हेरेर पहिलो चरणमा ६ वटा प्रयोगशालालाई परीक्षण गर्न दिएका छौँ', उहाँले भन्नुभयो, 'अन्य प्रयोशालाकाे मापदण्ड पुगेपछि अनुगमन गरेर परीक्षणकाे लागि अनुमति दिन्छौँ ।' 

ती १९ मध्ये नौ वटा प्रयोगशालाको भने आफ्नै पीसीआर परीक्षण गर्ने मेसिन रहेको थियो । ती ६ प्रयोगशालाले आफैँ नमूना सङ्कलन गर्ने नभइ मन्त्रालयले उपलब्ध गराएको नमूना परीक्षण गर्नेछन् । यसरी परीक्षण गरेबापत ती प्रयोशगालाले एक वटा नमूना परीक्षणको पाँच हजार पाँच सय रुपैयाँ शुल्क लिन पाउनेछन् ।

कोभिड– १९ को परीक्षणको दायरा बढाउन मन्त्रालयले निजीलाई समेत कोभिड १९ को पीसीआर विधिबाट परीक्षण दिने निर्णय गरेको थियो । अहिले देशभरि २५ वटा प्रयोगशालाबाट पीसीआर प्रविधिबाट परीक्षण हुँदै आएको छ । अहिलेसम्म दुई लाख ८३ हजार पाँच सय १५ जनाको पीसीआर परीक्षण गरिएको छ ।

यसअघि सरकारले सातै प्रदेशका सरकारी एक/एक प्रयोगशालामा पाँच हजार पाँच सय रुपैयाँ शुल्कमा पीसीआर विधि परीक्षण गर्न पाउने व्यवस्था गरेको छ । ती प्रयोगशालामा प्रदेश नं १ मा कोशी अस्पताल, प्रदेश नं २ मा नारायणी अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश नं ५ मा लुम्बिनी अस्पताल बुटवल, कर्णाली प्रदेशमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेत र सुदूरपश्चिम प्रदेशमा प्रादेशिक प्रयोगशाला धनगढीको प्रयोगशाला रहेका छन् । ती प्रयोगशालामामा निर्देशिकाभन्दा बाहेकका व्यक्तिले पनि आफूलाई इच्छ्याएका बेला शुल्क तिरेर नमुना परीक्षण गर्न पाउने छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया