सीमा क्षेत्रमा भारतले बनाएकाे सडक, बाँधलगायतका भाैतिक संरचना हटाउने पहल गर्न निर्देशन

 असार २९, २०७७ सोमबार १७:७:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – संसदीय समितिले सीमा नजिक भारतले मापदण्ड विपरीत बनाएकाे सडक, बाँध, तटबन्धलगायतका भौतिक संरचनाहरु तत्काल हटाउन सरकारलाई निर्देशन दिएको छ । 

सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले अन्तर्राष्ट्रिय मापदण्ड विपरीत सीमा नजिकैका क्षेत्रहरुमा निर्माण भएका सडक, बाँध, तटबन्धलगायतका भौतिक संरचना तत्काल हटाउन पहल गर्न नेपाल सरकारकाे गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।   

सीमा नजिक बनेका संरचनाले नेपालतर्फ डुबान परेकोले त्यस्ता संरचना तत्काल हटाउनुपर्ने समिति सभापति शशी श्रेष्ठले बताउनुभयो । समितिले भू–बनोटको जाँच गरी उच्च जोखिममा रहेका बस्तीलाई अन्यत्र सुरक्षित ठाउँमा स्थानान्तरण गर्नसमेत निर्देशन दिएको छ । 

यस्तै डुबानमुक्त घरको नमुना तयार गरी एकीकृत बस्ती बसाल्न आवश्यक व्यवस्था गर्न निर्देशन दिइएको सभापति श्रेष्ठले बताउनुभयो । बाढी पहिरो र डुबानबाट प्रभावितहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी स्थायी समाधानकाे लागि कार्ययोजना वा गुरुयोजना तयार गर्नसमेत निर्देशन दिएको छ । 

समितिले बाढी पहिरो र डुबानबाट पर्न सक्ने असरलाई तत्काल व्यवस्थित गर्न पालिकामा स्राेत, साधनसहितकाे विपद् व्यवस्थापन कार्यालयको स्थापना गर्नसमेत निर्देशन दिएको छ । बाढी पहिरो र डुबानबाट बेपत्ता भएकाहरुको तत्काल खोजी उद्धार गर्ने र बाढीबाट प्रभावित पीडितहरुलाई विभिन्न तहहरुको समन्वयद्वारा एकद्वार प्रणालीमार्फत राहत उपलब्ध गराउनसमेत निर्देशन दिएको छ ।

समितिले बाढी प्रभावित क्षेत्रहरुमा स्वास्थ्य सेवा तथा सरसफाइ, सर्पदंश तथा अन्य औषधि उपचारको आवश्यक व्यवस्था गर्नसमेत निर्देशन दिएको छ । विपद्को समयमा हुन सक्ने सम्भावित चोरी डकैती, बलात्कार र महिलामाथि हुन सक्ने हिंसाका घटनाप्रति सजग रही भरपर्दो सुरक्षा प्रबन्ध मिलाउनसमेत गृह मन्त्रालयलाई निर्देशन दिएको छ । 

यस्तै नेपालमा बन्दै गरेका लोकमार्गको वैज्ञानिक व्यवस्थापन गरी राजमार्ग जोड्ने सडक, पानीधारलाई समानान्तर बनाउने, रेलमार्ग तथा सडकमा निश्चित दुरीमा पानीको निकासकाे लागि साइफन कल्भर्ट र सडक किनारमा नालाहरु अनिवार्य बनाउने व्यवस्था गर्नसमेत निर्देशन दिएको छ । 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया