काठमाण्डौमा केही सार्वजनिक बस गुड्न थाले, साझाका बस साउन १ गतेदेखि चल्ने

 असार २९, २०७७ सोमबार १७:४७:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा सोमबारदेखि केही सार्वजनिक बस चल्न थालेका छन् । सोमबारदेखि मयूर र संयुक्त यातायातका केही बस चल्न थालेका हुन् । 

मयूर यातायातले सोमबारदेखि काठमाण्डौ उपत्यकाको चक्रपथ र चक्रपथ हुँदै काभ्रेको धुलिखेलसम्म सेवा दिन थालेको छ । 

मयूर यातायात प्रालीका सञ्चालक राज श्रेष्ठका अनुसार सोमबार चक्रपथमा तीन वटा र चक्रपथ हुँदै धुलिखेलसम्म दुई वटा बस सञ्चालन भइरहेको छ । यो सङ्ख्या मङ्गलबारदेखि बढ्दै जाने उहाँले बताउनुभयो । 

श्रेष्ठ भन्नुहुन्छ, ‘मङ्गलबारदेखि १५ २० वटा बस सञ्चालनको लागि तयारी भइरहेको छ, त्यसको लागि लकडाउनको क्रममा ठाउँ ठाउँमा रोकिएका गाडीलाई काठमाण्डौ ल्याउने तयारी भइरहेको छ ।’

मयूर यातायातले सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्डअनुसार गाडी चलाएको पनि जनाएको छ । ४०–४१ सिट क्षमताको बसमा सोमबार २० जना यात्रुलाई मात्रै राखेर यात्रा गराइएको श्रेष्ठले बताउनुभयो । 

यात्रुलाई मास्क लगाउन अनिवार्य गरिएको छ । ढोकामा स्यानिटाइजर पनि राखिएको छ । चालक र सहचालकले पञ्जा पनि लगाएको उहाँले बताउनुभयो ।

यस्तै सरकारको निर्णयअनुसार नै यात्रुबाट भाडा लिने गरेको पनि सञ्चालक श्रेष्ठले बताउनुभयो । सरकारले ५० प्रतिशतसम्म बढाएर भाडा लिन सकिने निर्णय गरेको छ । अहिले यात्रुबाट न्यूनतम भाडा २० रुपैयाँ लिने गरेको मयूर यातायातले जनाएको छ । 

साझा यातायातले साउन १ गतेदेखि गाडी चलाउने

सरकारले सार्वजनिक गाडी चलाउने निर्णय गरे पनि साझा यातायातका बस अझै ग्यारेजमै थन्किएका छन् । अब साउन १ गतेदेखि बस चलाउने तयारी गरेको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो । ‘अहिले सामान्य गाडी मर्मतको कामसँगै सुरक्षा सावधानीका विषयमा तयारी भइरहेको छ’, पाण्डेले भन्नुभयो, ‘यात्रु र कर्मचारीको सुरक्षाको विषयमा हामी संवेदनशील छौँ ।’ 

साझाले १ गते केही बस चलाउने र त्यसपछि अवस्था हेरेर गाडीको सङ्ख्या बढाउने उहाँले बताउनुभयो ।  

साझाले कोरोना भाइरसको सङ्क्रमणअघि लामो दुरीमा समेत सेवा दिँदै आएको  थियो । तर सरकारले अनुमति दिएका तीन जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरमा मात्रै अहिले बस चल्नेछ । साझाका ७१ वटा बस छन् ।  

बुटबलमा पनि सार्वजनिक गाडी चल्न थाल्यो

सरकारको निर्णयपछि बुटवलमा पनि केही सार्वजनिक गाडी चल्न थालेका छन् । लुम्बिनी मेट्रो सिटीले बुटवल–भैरहवा रुटमा आफ्ना गाडी चलाउन थालेको हो । आइतबारदेखि नै सुरक्षा सावधानी अपनाएर गाडी चलाउन थालेको लुम्बिनी मेट्रो सिटीले जनाएको छ । 

त्यहाँ अरु कम्पनीका गाडी नचले पनि सरकारको निर्णयअनुसार सावधानी अपनाएर गाडी चलाउन थालिएको लुम्बिनी मेट्रो सिटीले जनाएको छ । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ भने गाडी नचलाउने अडानमै

केही सार्वजनिक बस चल्न थाले पनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भने तत्काल गाडी नचलाउने अडान दोहोर्‍याएकाे छ । आफ्ना कर्मचारीको स्वास्थ्य सुरक्षाको ग्यारेण्टी नभएसम्म गाडी नचलाउने महासङ्घका महासचिव सरोज सिटौलाले बताउनुभयो । 

‘चलाउनेले चलाउँछन्, त्यसमा हामीले भन्ने कुरा केही छैन,’ सिटौला भन्नुहुन्छ – ‘हामी भने कर्मचारी र यात्रुको सुरक्षाको ग्यारेण्टी नभएसम्म गाडी चलाउँदैनौँ, आजका लागि मात्रै होइन भोलिको जोखिमबारे पनि सोचेका छौँ’, उहाँले भन्नुभयो ।

महासङ्घले गाडी कसरी चलाउने भन्नेबारे यातायात व्यवस्था विभागसँग छलफल गरिरहेको छ ।

सरकारले तोकेअनुसारको भाडा तिर्नु पर्ने, खुद्रा पैसा बोक्न यात्रुलाई आग्रह

कोभिड–१९ को सङ्क्रमणको कारण रोकिएका सार्वजनिक बस चलाउँदा भाडा ५० प्रतिशतसम्म बढी लिन सकिने व्यवस्था सरकारले गरेको छ । यही निर्णयअनुसार अब यात्रुले न्यूनतम १५ रुपैयाँको ठाउँमा २० रुपैयाँ या त्योभन्दा बढी पनि तिर्नुपर्ने हुन सक्छ । 

सार्वजनिक गाडी चलाइरहेका निजी कम्पनीले यही निर्णयलाई नै आधार मानेर भाडा लिन थालेका छन् । व्यवसायीले खुद्रा पैसा साथमा राख्न पनि यात्रुसँग आग्रह गरेका छन् ।

मास्क, पन्जा अनिवार्य लगाउनुपर्ने

सार्वजनिक बस चल्दा जोखिम बढ्न सक्ने भएकाले यात्रुलाई अनिवार्य मास्क, पन्जा र स्यानिटाइजरको प्रयोग गर्न यातायात कम्पनीले आग्रह गरेका छन् । स्वयं व्यक्ति आफै सचेत भए सङ्क्रमणको जोेखिम कम हुने भएकाले गाडी चढ्दा स्वास्थ्य मापदण्ड पालना गर्न कम्पनीले आग्रह गरेका हुन् । 

बसभित्र भौतिक दुरी कायम गरेर सिटमा बस्न, बेला बेलामा स्यानिटाइजरले हात सफा गर्न र मास्क तथा पन्जा लगाउन यातायात व्यवसायीको आग्रह छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया