सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, ताेलाकाे १ लाख २७ हजार ९ सय...
चैत १५, २०८० बिहिबार
काठमाण्डाै – पछिल्ला केही दिनयता पहाडी जिल्लामा पहिरो र तराईका जिल्लामा डुबानका थुप्रै घटनाहरु भइरहेका छन् । प्राकृतिक विपत्तिकाे कारण जनधनको ठूलो क्षति भएको छ । पहिरोमा पुरिएका र बाढीले बगाएकाको खोजी कार्य अझै चल्दै छ ।
तत्कालीन अवस्थामा हामीले खोजी, उद्धार र राहतमा जोड दिइरहेका छौँ । हाम्रो पहिलो प्राथमिकता घाइतेको उद्धार गर्नु हो । त्यसपछि हराएका एवं बेपत्ता भएकाहरुको खोजी गर्ने र विस्थापित भएकालाई सुरक्षित ठाउँमा लगेर राख्ने, खाने/बस्ने व्यवस्था गरिदिने गरिरहेका छौँ ।
अहिले देशका विभिन्न ठाउँमा बाढी पहिरोमा परेका र जोखिममा परेकालाई सुरक्षाकर्मीले नै राहत र उद्धार तथा खोजीको काम गरिरहेका छन् । केही ठाउँमा मौसमले साथ नदिएर तत्काल सुरक्षाकर्मी खटाउन समस्या भइरहेको छ ।
तर नजिकको प्रहरी चौकीबाट त्यहाँ भएका सुरक्षाकर्मी परिचालन गर्ने र अपुग जनशक्ति अरु ठाउँबाट व्यवस्थापन गरेर भए पनि हामीले राहत र उद्धारकाे काम घनिभूत रुपमा गरिरहेकै छौँ ।
सुरक्षाकर्मी एवं उद्धारकर्ता घटनास्थलसम्म पुग्न सडक नै नभएको ठाउँमा हेलिकप्टरमार्फत पनि उहाँहरुलाई त्यहाँ लगेर काम गरिरहेका छौँ । अहिले पनि काम जारी छ ।
हरेक वर्ष बाढी पहिरोले सताउँछ, रोकथाम खै ?
प्राकृतिक विपद्लाई पूर्णतः रोकथाम गर्न सकिँदैन । हामीले क्षति कम हुने उपाय अवलम्बन गर्न चाहिँ सक्छौँ । अहिले नेपाल सरकारको प्रयास पनि क्षति कम हुने उपाय अवलम्बन गर्ने नै छ । न्यूनीकरणका लागि हामीले काम गर्दा गर्दै पनि कतिपय घटनाहरु भएका छन् । घटनापछि पनि हामीले आफ्नो तर्फबाट घनिभूत भूमिका निर्वाह गरिरहेका छौँ ।
हाम्रो पूर्वसूचना प्रणाली कस्तो ?
जल तथा मौसम विज्ञान विभागले पानी कति पर्छ, पानीको सतह कति माथिसम्म आउँछ र त्यो प्रक्रिया कति समयसम्म रहन्छ भन्ने पूर्वानुमान गर्ने गर्छ । पानी कुन–कुन क्षेत्रमा पर्छ भन्ने अनुमान पनि यही विभागमार्फत गर्ने गरिन्छ । विभागले तीन दिन अघिदेखि नै सङ्कलन गरेको सूचनाको आधारमा बाढीको पनि पूर्वानुमान गर्न सकिने अवस्था रहन्छ । बाढी आउन सक्ने ठाउँहरुमा जोखिम कम गर्न सकिन्छ ।
यसबारे पूर्व सावधानीका लागि खतरा हुनेबित्तिकै मोबाइलमा एसएमएस पठाउने र स्थानीय रेडियोमार्फत स्थानीय भाषामा सूचना प्रसारण गर्ने काम पनि भइरहेकै छ । हामीले खतरा कुन तहमा पुग्यो भनेर सजग चाहिँ गराउन सक्छौँ । तर कुन बस्तीमा यसले धेरै असर गर्न सक्छ भन्ने आँकलन गर्न भने अझै गाह्राे भइरहेको छ । त्यसका लागि पनि काम गरिरहेका छौँ ।
समुदायभित्रकै मान्छेलाई जोखिमबारे धेरै जानकारी हुन्छ
कुन–कुन ठाउँ बाढीको जोखिमयुक्त क्षेत्र हो भन्ने कुरा समुदायभित्रकै मान्छेलाई अलि धेरै जानकारी हुन सक्छ । विगतका समयमा बाढी पहिरो गएको थियो कि थिएन, पहिले–पहिले कसरी क्षति पुर्याएको थियो लगायतका विषयको लेखाजोखा स्थानीय बासिन्दाले नै गर्न सक्छन् । त्यहाँ विगतमा भएका घटनालाई मध्यनजर गरेर कस्तो ठाउँमा बस्ती बसाल्ने भन्नेबारे उहाँहरुले नै निर्णय गर्नुपर्छ ।
पहिरोको पूर्वसूचना प्रणाली अझै छैन
अझै पनि हामीसँग पहिरोको सूचना प्रणाली नै छैन । त्यसको विकासकाे लागि एक वर्षभित्रमा काम गरिसक्ने हाम्रो तयारी छ । आउँदो वर्षदेखि पहिरोको पूर्वसूचना दिने प्रणाली हामीले विकास गर्दैछौँ । यो वर्ष जनधनको क्षति पहिरोका कारण भएको हुनाले हामीले पूर्वसूचना दिन नसकेका हौँ । त्यसका लागि प्रणाली विस्तार गर्ने काम भइरहेकै छन् ।
अयाेग्य बस्ती र अनियन्त्रित सडक विस्तार जोखिमको कारक
अहिले जति पनि पहिरो गएका छन्, त्यहाँ ग्रामीण सडक निर्माण भइरहेका छन् । सिन्धुपाल्चोककै कुरा गर्ने हो भने पनि त्यो ठाउँ भूकम्पले हल्लाएको ठाउँ हो । भूकम्प प्रभावित विभिन्न १४ जिल्लामा कुन–कुन ठाउँमा जोखिम छ भन्नेबारे अध्ययन गरेर सूचना हरेक पालिकामार्फत पुगिसकेको छ ।
त्यस्ता ठाउँमा बस्ती बसाउन हुँदैन र बसाल्ने हो भने संरक्षण गर्नुपर्ने कुराहरु पनि गरिएको हो । व्यवस्थित बस्ती बसाउने काम शहरी विकास मन्त्रालयको हो । मन्त्रालयले आफ्नो नियमित कामहरु गरिरहेको छ । कतिपय समुदाय थाहा पाउँदा पाउँदै पनि उनीहरु त्यो ठाउँबाट सर्न तयार भइरहेका छैनन् ।
अहिले आफू जोखिमयुक्त ठाउँमा बसिरहेको छु भन्ने थाहा हुँदा हुँदै पनि जीविकोपार्जनलगायतका कारणले उनीहरु अरु ठाउँमा बसाइसराइ गर्न सकिरहेका छैनन् । जोखिम नहुने गरेर विकास निर्माणका काम अघि बढाउने र जोखिम नभएका ठाउँमा बस्ती बसाउने हो भने पनि पहिरोको उच्च जोखिमबाट हामी बाहिर निस्कन सक्छौँ ।
कोरोनाको कहरसँगै बाढी पहिरोमा परेकाहरुको उद्धार
कोरोना भाइरसको सङ्क्रमणसँग हामीले केही महिनादेखि जुधिरहेका छौँ । मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजनामा नै कोभिड–१९ सँगसँगै खोज, उद्धार र विस्थापितहरुको व्यवस्थापन कसरी गर्न सक्छौँ भन्ने तयारी गरेका छौँ । स्वास्थ्य सुरक्षाकाे प्रोटोकल कसरी तयार गर्न सक्छौँ भनेर हामीले पूर्वतयारी गरेर नै अघि बढेका छौँ ।
हरेक जिल्ला प्रशासन कार्यालय र पालिकाहरुलाई पनि हामीले त्यहीअनुसारको निर्देशन दिएका छौँ । कोरोनाको सङ्क्रमणसँगै बाढी र पहिरोले निम्त्याएको क्षति व्यवस्थापनमा चुनौती रहेको कुरा हामीलाई यसअघि नै आभास भएको कुरा हो ।
उद्धारकर्तालाई उद्धारका क्रममा कोभिड–१९ को सङ्क्रमण हुने हो कि भन्ने भयले पनि त्यहीअनुसारको तयारी हामीले गरेका छौँ । सम्भव भएसम्म स्वास्थ्यका प्रोटोकल अपनाएर सुरक्षाकर्मीहरु खटिरहनुभएको छ । उहाँहरुको उद्धारपछि कोरोना परीक्षण गर्ने, सबैसँग सम्पर्कमा जान नदिनेलगायतका काम भइरहेको छ।
विस्थापितलाई राख्ने ठाउँ कत्तिकाे सुरक्षित ?
कोरोनाको सङ्क्रमण दर बढ्न नदिनकाे लागि केही समयअघि विद्यालयलाई क्वरेण्टीनकाे रुपमा प्रयोग गरिएको थियो । खाली रहेका ती विद्यालयहरुमा अहिले बाढी पहिरो प्रभावित राख्नुपर्ने भएको छ । सबै क्वरेण्टीनमा कोरोना सङ्क्रमित नभएकाले त्यस्ता ठाउँमा स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर व्यवस्थापन गर्ने गरेका छौँ ।
उहाँहरुलाई मास्क, स्यानिटाइजरलगायत सामग्री उपलब्ध गराउने गरेका छौँ । अहिले भौतिक दुरीको पनि कुरा आएको छ । उद्धारकाे क्रममा भौतिक दुरी भनेर बस्न सक्ने अवस्था नरहेकोले पहिलो प्राथमिकतामा पहिरोमा फसेका व्यक्तिलाई उद्धार गर्नुपर्ने हुन्छ । त्यसपछि स्वास्थ्यका प्रोटोकलहरु अपनाउने र कार्यान्वयनमा ल्याउनुपर्ने हुन्छ ।
प्रदेश र पालिकाले कसरी काम गर्न सक्छ ?
बाढी पहिरोसँगै कोरोना र अरु सङ्क्रमण हुन नदिन विपद् व्यवस्थापनकाे लागि पनि सरकारले घनिभूत रुपमा काम गरिरहेको छ । राहत, खोजी र उद्धारकाे लागि पहिलो काम सुरक्षा निकायले नै गर्ने हो ।
यसका लागि तालिम प्राप्त जनशक्ति पनि चाहिने भएकोले सुरक्षाकर्मीलाई नै लगाउनुपर्ने हुन्छ । प्रकोप हुनुभन्दा पहिले र त्यसपछि मात्रै पालिकाहरुको काम हुने हो । पूर्वतयारीका लागि पालिकाले भूमिका निर्वाह गर्न सक्छ । त्यस्तै प्रकोपपछि तत्काल राहत उपलब्ध गराउनकाे लागि पालिकाहरुले भूमिका खेल्न सक्छ । प्रदेश सरकारले पनि सङ्घ र पालिकासँग आवश्यक समन्वय गरिरहेको छ ।
(गृह मन्त्रालयकी सहसचिव एवं मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाकी प्रमुख ईन्दु घिमिरेसँग टेकमान शाक्यले गरेको कुराकानीमा आधारित)
ईन्दु घिमिरे गृह मन्त्रालयकी सहसचिव एवं मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाकी प्रमुख हुनुहुन्छ ।