चरिकोट अस्पतालको सफलता : बाँच्ने आशा मारेकी तामाङको ज्यान बच्यो

 असार ३०, २०७७ मंगलबार ११:५१:० | उषा तामाङ
unn.prixa.net

नर्स मीनुयाञ्जी शेर्पा र रश्मी बासी (बीचमा शान्ति तामाङ)

दोलखा – दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ७ फस्कुकी शान्ति तामाङ आफ्नो उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई सम्झँदा निकै खुसी हुनुहुन्छ । आफू जीवित रहने आशा मारिसकेकी ४५ वर्षकी तामाङलाई स्वास्थ्यकर्मीले बचाएपछि नयाँ जीवन पाएको भन्दै उहाँ खुसी हुनुभएको हो । 

उहाँले गएको शनिबार फस्कु स्वास्थ्य चौकीमा पाँचौ सन्तान जन्माउनुभयो । बच्चा जन्मने बेलामा भएको रक्तश्राप नरोकिएपछि उहाँले आफू बाँच्ने आशा मार्नुभएको थियो । तर स्वास्थ्यकर्मीको मेहनतले आफू बाँचेको उहाँको भनाई छ । आइतबार अस्पतालको बेडमा छोरो सुम्सुम्याउँदै तामाङले भन्नुभयो, ‘म त मरें भन्ने लागिसकेको थियो, अस्पतालमा दक्ष नर्स र डाक्टर भएकै कारण म बाँचे ।’

उमेरले हजुरआमा बन्ने बेला उहाँ फेरि आमा बन्नुभएको हो । २२ वर्षकी छोरीको विवाह भैसक्यो । तीन छोरी साथमै छन् । तीन सन्तान घरमै जन्माएकी शान्ति कान्छी छोरीको पालामा भने अस्पताल पुग्नुभएको थियो । कान्छी छोरी नै अहिले ८ वर्षकी भइन् । 

‘चार वटी छोरी जन्माउँदा पनि श्रीमानले किन छोरा जन्माएनौ, छोरा जन्माउनै पर्छ भनेका थिएनन् । बरु छोरीहरुले एउटा भाइ त जसरी पनि चाहिन्छ भनिरहेका थिए । समाजले पनि छोरा नभइ हुन्न भनेपछि जे होला भनेको छोरा नै भयो’ तामाङले सुनाउनुभयो । 

प्रशव पीडा सुरु भएपछि असार २६ गते ४५ वर्षकी तामाङ फस्कु स्वास्थ्य चौकी पुग्नुभयो । २७ गते दिउँसो ४ बजे छोरा जन्माउनुभयो । छोरा जन्मियो । तर बच्चा जन्मिएपछि निस्कने साल अड्कियो, साल अड्किएकाले रक्तश्राव हुन थाल्यो । स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको प्रयासबाट पनि साल ननिस्किएपछि काठमाण्डौ लैजान हेलिकप्टर मगाउन सुझाव आयो । तर मौसम खराब भएकाले हेलिकोप्टर आउन सकेन । शान्तिको ज्यान जोखिममा पर्दै थियो । 

रक्तश्राव कम गर्न फस्कु स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले उपलब्ध विधि अपनाए । गाउँमै उपलब्ध बोलेरोमा राखेर शान्तिलाई प्रस्तावित चरिकोट अस्पताल÷प्राथमिक स्वास्थ्य केन्द्र पु¥याइयो । 

अस्पताल पुग्नेबित्तिकै साल निकाल्ने विधि (एमआरपी) बाट साल निकालियो । अत्यधिक रक्तस्राब भएकाले रगत चढाइयो । बाँच्ने आशा मारेकी तामाङको ज्यान बच्यो । 

दक्ष प्रसुतिकर्मी उपलब्ध भएकाले जोगियो ज्यान

न्याय हेल्थ नेपालले व्यवस्थापन गरेको प्रस्तावित चरिकोट अस्पतालमा कार्यरत स्टाफ नर्समध्येका केहीलाई दक्ष प्रसुतिकर्मीको रुपमा चिनिन्छ । गर्भवतीको अवस्था हेरेर निःशुल्क रुपमा सुत्केरी गराउन थालेपछि प्रस्तावित चरिकोट अस्पताल पुग्नेको संख्या बढ्दो छ ।

‘प्रस्तावित चरिकोट अस्पतालमा दक्ष स्टाफ नर्स छन्, त्यसैले कतिपय अवस्थामा डाक्टरलाई समेत बोलाउनु पर्दैन’ अस्पतालकी नर्स इन्चार्ज जेनी श्रेष्ठले भन्नुभयो । शान्ति तामाङको ज्यान जोगिनुमा स्टाफ नर्सको मुख्य भूमिका रहेको अस्पतालका प्रमुख डाक्टर विनोद दंगालले बताउनुभयो । दक्ष स्टाफ नर्स दोलखाका पालिकाले हरेक स्वास्थ्य चौकीमा नियुक्त गर्ने हो भने पनि सुत्केरीको ज्यान जोखिममा नपर्ने उहाँको भनाई छ । 

बर्थिङ सेन्टरमा छैनन् पर्याप्त स्वास्थ्यकर्मी

दोलखाको विभिन्न पालिकामा चौबीसै घण्टा सञ्चालन हुनेगरी बर्थिङ सेन्टर स्थापना गरिएका छन् । तर आवश्यक प्रविधि र दक्ष, तालिम प्राप्त स्वास्थ्यकर्मी छैनन् । दोलखाको फस्कु स्वास्थ्य चौकीमा समेत शान्ति तामाङको प्रसुतिमा एक जना स्वास्थ्यकर्मीको मात्रै संलग्नता थियो । एक जना बाहेक बाँकी स्वास्थ्यकर्मी स्वास्थ्य चौकीमा थिएनन् । स्वास्थ्य चौकीका त्यसमा पनि वर्थिङ सेन्टरका लागी आवश्यक पर्ने दक्ष स्वास्थ्यकर्मीको अभावमा गर्भवती तथा सुत्केरीको ज्यान जोखिममा पर्ने गरेको छ । 

नेपालमा एक लाख महिला सुत्केरी हुँदा २ सय ३९ जनाको सुत्केरीपछि हुने रक्तश्रावकै कारण ज्यान जाने गरेको तथ्यांकले देखाउँछ । यो तथ्याङक कम गर्न पनि दक्ष जनशक्तिको आवश्यकता छ ।

 

अन्तिम अपडेट: चैत १२, २०८०

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया