यूएईले भिसाबारे पहिलेको नियम खारेज गर्दै लागू गर्‍यो नयाँ नियम

 असार ३०, २०७७ मंगलबार १३:१६:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यूएईले कोरोनाको कारण यसअघि लागू गरेको भिसा सम्बन्धी नियम खारेज गर्दै नयाँ निमय लागू गरेको छ ।

यूएईले कोरोनाको कारण यसअघि ३१ डिसेम्बर २०२० सम्मको लागि सबै किसिमका (रेसिडेन्स, भिजिट, टुरिस्ट) भिसा अवधि बढाउने भनिएको नियम खारेज गर्दै नयाँ नियम ल्याएको यूएईका स्थानीय सञ्चार माध्यमले जनाएको छ । नयाँ नियम अनुसार मार्च र अप्रिल महिनामा भिसा अवधि सकिएकाहरुले जुलाई १२ देखि १ महिनाभित्र नयाँ भिसा लगाइ सक्नुपर्ने यूएईले जनाएको छ ।

जुन १ देखि जुलाई ११ सम्ममा भिसाको अवधि सकिएकाले सेप्टेम्बर १० देखि एक महिनाभित्र नयाँ भिसा लिनु पर्नेछ । जुलाई ११ भन्दा पछि भिसाको म्याद सकिएकाले भने पहिलेकै नियम अनुसार नयाँ भिसाका लागि प्रक्रिया गर्नुपर्ने यूएई सरकारले जनाएको छ ।

बिदामा यूएईभन्दा बाहिर रहेका तर कोरोनाको कारण फर्कनुपर्ने समयमा फर्कने नसकेकाको हकमा भने दुई देशबीच उडान सुरु भएको एक महिनाको अवधिलाई ग्रेस अवधि भनेर दिएको छ । यूएईभन्दा बाहिर रहेका भिसाको अवधि सकिएकाहरुले नियमित उडान सुरु भएको एक महिनाभित्र यूएई गएर नयाँ भिसा लिनुपर्ने नियम बनाइएको छ ।

भिजिट भिसाको हकमा भने यूएईले प्रष्ट भनेको छैन । यसअघि भिजिट भिसासहित अन्य भिसाको हकमा डिसेम्बरसम्म भिसाको म्याद थपिने भनेकाले यो अहिले नियम रद्द हुँदा भिजिट भिसाको हकमा पनि त्यही नियम लागू हुन सक्छ । तर प्रष्ट भने पारिएको छैन । यूएईले जारी गरेको भिसा सम्बन्धी नयाँ नियम जुलाई १२ आइतबारदेखि लागू भएको छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया