म्याग्दी : कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किने बढ्दै, आइसाेलेशनमा रहनेकाे सङ्ख्या ५

 असार ३०, २०७७ मंगलबार १६:०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

म्याग्दी – म्याग्दीमा कोरोना भाइरस सङ्क्रमणमुक्त भएर घर फर्किनेको सङ्ख्या थपिँदै गएको छ । मङ्गलबारमात्रै थप चार जना कोरोना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

म्याग्दीमा अहिलेसम्म २५ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाेमा सङ्क्रमणमुक्त भएर घर फर्कनेको सङ्ख्या २० पुगेको छ । सङ्क्रमितमध्ये २१ जना पुरुष र पाँच जना महिला छन् ।

आइसोलेशनमा रहेका पाँच जना पुरुषकाे स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको छ । 

भारत र कुवेतबाट आएर बेनीको क्वरेण्टीनमा रहेका बेला कोरोनाकाे सङ्क्रमण पुष्टि भएका चार जना आइसोलेशन अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । डिस्चार्ज हुनेहरुमा भारतबाट आएका बेनी नगरपालिका १ रत्नेचौरका एकै परिवारका दुई दाजुभाइ ३३ र २३ वर्षीय पुरुष रहेका छन् । 

यसैगरी कुवेतबाट आएका बेनपा३ भकिम्लीकी ३० वर्षीया एक महिला र मङ्गला गाउँपालिका २ बाबियाचौरको हिदीका ३५ वर्षीय एक पुरुष डिस्चार्ज भएको कोभिड १९ कमाण्ड पोस्टका सदस्य सुरत केसीले जानकारी दिनुभयो ।

वैदेशिक रोजगारीको सिलसिलामा विदेश पुगेका उनीहरु यसअघि म्याग्दी आएर बेनीको क्वरेण्टीनमा बसेका थिए । उनीहरुलाई मङ्गलबार एक कार्यक्रमको आयोजना गरी बिदाइ गरिएको हो । डिस्चार्ज भएका उनीहरुलाई बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाल, मेडिकल अधिकृत डाक्टर सुरेन्द्र अधिकारी र कमाण्ड पोस्टका सदस्य केसीले खादा लगाएर बिदाइ गरेका थिए ।  

उनीहरुलाई डिस्चार्ज प्रमाणपत्र हस्तान्तरण गर्दै डा. अधिकारीले आइसोलेशन अस्पतालबाट घर फर्किए पनि कम्तीमा एक हप्तासम्म आवश्यक सुरक्षा सावधानी अपनाएर होम क्वरेण्टीनमै बस्न सुझाव दिनुभयो ।अहिले सदरमुकाम बेनीमा रहेका तीन वटा क्वरेण्टीनमा रहेका एक सय ४९ जनामध्ये पाँच जना महिला र एक सय ४४ जना पुरुषा रहेकाे कमाण्ड पोस्टका सदस्य केसीले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया