विद्युत प्राधिकरणको बिलमा उपभोक्ताको असन्तुष्टि, कसरी उठ्यो धेरै रकम

 असार ३१, २०७७ बुधबार ७:३८:३ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – नेपाल विद्युत प्राधिकरण बिराटनगर वितरण केन्द्रमा हरेक दिन बिहान १० नबज्दै नागरिकको घुईंचो लाग्छ ।

नियमित अनलाइनबाट भुक्तानी गर्नेहरुको सङ्ख्या बढ्दै गए पनि घुईंचो अझ थपिएको प्राधिकरणका कर्मचारीहरु बताउँछन् । रकम भुक्तानी भएको तर रकम बढी हुने, बिलिङमा चित्त नबुझेर कार्यालयमा जानेहरुको सङ्ख्या निक्कै ठूलो छ ।

मंगलबार त्यही भीडमा हुनुहुन्थ्यो, प्रदेश १ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता डा. राजेन्द्र उप्रेती । उहाँले हरेक महिना बिजुलीको बिल आउने बित्तिकै ई–सेवा तथा विभिन्न अनलाइनको प्रयोग गरेर रकम भुक्तानी गर्नुहुन्छ । उहाँले जेठ महिनामा २ हजार एक सय ९ रुपैयाँ, चैत र वैशाखको ३ हजार ५ सय १३ रुपैयाँ भुक्तानी गर्नु भएको थियो ।

गएको वर्षको साउनदेखि जेठसम्म कुनै महिना पनि ३ हजार कटेको छैन । अहिलेसम्मै सबैभन्दा बढी गएको असारमा २ हजार ९ सय २ रुपैयाँ रकम उठेको थियो । तर यो महिना एक्कासी एक महिनाको बिलको रकम नै १३ हजार ४ सय ७४ रुपैयाँ उठेपछि के भएको रहेछ भनेर बुझ्न आफू त्यहाँ पुगेको उप्रेतीले बताउनुभयो ।

‘पहिले कहिल्यै पनि यसरी बिल बढेर आएको थिएन, तर यो महिना प्राधिकरणको बिलिङमा लापरवाही भएको हो की जस्तो लाग्यो’, उहाँले सुनाउनु भयो । लकडाउनको अवधिमा बिजुलीको बिलिङ नगरेको नेपाल विद्युत प्राधिकरणले एकै पटक असारको पहिलो साता आएर मात्र बिलिङ गर्‍यो ।

बीचमा जरिवाना पर्ने डरले विद्युत प्राधिकरणमा गएका सेवाग्राहीसँग पनि रकम लियो तर मिटर रिडिङपछि आएको बिलमा पहिले तिरेको रकम पनि थपिएर आएको आरोप उपभोक्ताको छ । हरेक महिना २ हजार २५ सयसम्म रकम तिरेका उपभोक्ताको रकम एक्कासि १३ हजार बढी आउनुको कारण कसैलाई थाहा छैन ।

यो समस्या उप्रेतीको मात्र हैन अरु सेवाग्राहीको पनि उस्तै नै छ । हरेक दिन यस्तै बढी रकम उठ्यो भनेर बुझ्न जानेहरुको सङ्ख्या प्राधिकरणमा धेरै छ । कार्यालय प्रमुखको कार्यकक्ष बाहिर निक्कै ठूलो भीड लाग्ने गरेको छ । दुई महिना पहिलासम्म महिनाको बिजुली बिल २ सय रुपैयाँ जति तिर्नुहुने बुढीगंगा गाउँपालिका–४ की लक्ष्मीमाया बस्नेतको पनि यो महिना एक हजार ४ सय बढी रकमको बिल आयो । यसरी बिल आएपछि उहाँ अचम्म पर्नुभयो ।

‘दुईवटा कोठामा दुईवटा पङ्खा चलाएको मात्र कसरी यति धेरै रकम आयो, त्यसैमाथि हरेक महिना पैसा तिर्ने गरेको छु’, बस्नेतले भन्नुभयो ।

नेपाल विद्युत प्राधिकरण बिराटनगर वितरण केन्द्रका प्रमुख राजिव सिंह यस विषयमा धेरैको गुनासो धेरै आएको स्वीकार गर्नुहुन्छ । प्राधिकरणमा लकडाउनपछि बिजुलीको बिलको रकमको विषयमा अलि बढी समस्या देखिएको उहाँको भनाइ छ ।

‘बीचमा हामीले अघिल्लो महिनाको बिललाई आधार बनाएर रकम लिएका थियौँ’, प्रमुख सिंहले भन्नुभयो, ‘पछि बिल काट्दा बढी देखिन आएपछि धेरैलाई अन्योल भएको दखियो ।’ यति हुँदासम्म पनि बढी रकम कसरी आयो भन्नेबारेमा प्राधिकरणले बोलेको छैन । प्राधिकरणले अझ बढी रकम नलिएको दाबी गर्दै आएको छ ।

प्रमुख सिंहले लकडाउनको कारण धेरै समस्याहरु आएको स्वीकार गर्दै तत्काल कुनै ग्राहकमा त्यस्तो समस्या परेको भए आपूmलाई सिधै सम्पर्क राख्न भनेको बताउनुभयो । बढी रकम तिरेको जस्तो लागेमा वा रकम धेरै भएको भए आफ्नो विद्युत मिटरको फोटो खिचेर बिल लिएर कार्यालयमा आउनु पर्ने उहाँको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

8 Comments

  • गजेन्द्र पण्डित

    July 16, 2020, 8:33 p.m.

    मैले लकडाउनको बेला इसेवा बाट त्यहाँ विद्युत प्राधिकरण को पेज मा उल्लेखित रकम (चैत्र वैशाख ज्येष्ठ ) को तिर्दै आए ।आषाढमा मीटर रिडरले वर्तमान अंकमा चैत्र अगावै को रिडिङ घटाएर एकै पल्ट अनपेक्षित ठूलो रकम को बिल दिएर गयो, यो त गलत हो ।

  •  0 Reply
  • Ajit thapa

    July 16, 2020, 2:43 p.m.

    मेरो 5amp को मिटर हो 3 देखि चार महिना सम्म 0 unite र न्युनतम सुल्क 30 रुपैयाँको दरमा bill आउँछ अनि 3/4महिना पछि एउटै महिनाको बिल 600देखि 900 सम्म आउछ ।report गर्दा अर्कोपटक यस्तो हुँदैन उठेको बिल त तिर्नै पर्छ भन्छ।के गर्नु तिर्नै पर्यो नत्र जरीवाना पनि तिर्नु पर्छ।

  •  0 Reply
  • मौनाबुधुक

    July 16, 2020, 5:55 a.m.

    पहाडतिर मिटर रिडर लगभग ४-५ महिनामा मात्र आउनेगर्छ । लगातार १३००० -१४००० को बिल थमाएर जाने गरेको अवस्था छ । यहाँ ५००० देखि १४००० सम्म तिर्ने धेरै नागरिकहरु छन् । यहाँ कुनै किसिमको मेसिन चलेको अवस्था होइन ।

  •  0 Reply
  • Balsher Rai

    July 15, 2020, 4:31 p.m.

    मेरो घर झापा शिवसताक्षी 9 हो, मैले मेरो घर मा बिजुलीको महसुल 500 रुपे भन्दा बढी कैले उठेको छैन तर यो महिना बिजुली महसुल 3600 रुपे उठो, किन यसरी धेरै बिल उठो भन्ने प्रश्न को जवाफ चित्त बुझ्दो दिएन ।

  •  0 Reply
  • जनार्दन रिजाल

    July 15, 2020, 11:19 a.m.

    मेराेमा पनि त्यहि समस्या । महिनाकाे १५ सय तिर्ने म ,मेराे घरमा पनि ७५ सय तिर्नु पर्याे।

  •  0 Reply
  • Sudarshan dhungana

    July 15, 2020, 10:09 a.m.

    मेरो घर खैरहनी 12 चितवन हो ,मैले धेरै ठाउँमा गुनासो गरे चित्तबुझ्दो कुरो आएन ,यसैपनि तिर्नै पर्छ ढिलो गरे झन हर्जाना थपिन्छ भनेर तिरे ।

  •  0 Reply
  • Nawaraj Poudel

    July 15, 2020, 8:54 a.m.

    येसरि प्रधिकरन ले बिल को पैसा धेरै लिने अनि ग्राहक लाइ अनेक किसिम का दुख दिने काम नगरियोस यो एक सचेत् नागरिक को तर्फ बाट खबरदारि हो ।

  •  0 Reply
  • सरोज

    July 15, 2020, 8:27 a.m.

    यो नीतिगत तहमै भ्रस्टाचार भएको हो। तीन महिनाको रिदिंग एकैपल्ट गर्दा उच्च दरको मूल्य परेकोले। उदाहरंको लागी: हरेक महिनाको रिदिंग गर्दा ५, ७, ८.५०, १०, ११, १२, १३ दरको मूल्य रहन्छ तर एकैपल्ट गर्दा १३ दरको धेरै रहन्छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया