विदेशमा काम चलेन, स्वदेश आउँदा पानी पनि दिएनन्

 असार ३१, २०७७ बुधबार १२:१७:८ | मेरो कथा मेरो भोगाई

उमानन्द भुसाल, अर्घाखाँची ।

म यूएईबाट फर्किएको हुँ । कोरोनाको कारण मेरो दुबईमा भइरहेको काम गुम्यो । तीन महिनासम्म काम नभएकै कारण कोठामा थुनिएर बल्ल नेपाल आउन पाइयो । तर यहाँ आएपछि पनि क्वरेण्टीनमा विदेशको जस्तै पो बिजोग रहेछ । आज म नेपाल आएको ७ दिन जति भयो ।

विदेशको दुःख बिसाएर नेपाल फर्किएका हाम्रो अर्को दुःख विमानस्थलमा ओर्लनासाथ सुरु हुने रहेछ । विमानस्थलमा प्रदेश अनुसारको गाडी हुने रहेछन् । आफ्नो प्रदेशको गाडी चढियो । होल्डिङ सेन्टरमा पुगियो । सेनाका मान्छेले हातमुख धुन लगाउनुभयो । त्यहाँ पालो आउन निकै समय लाग्ने रहेछ । सोधपुछ भयो । आफ्नो विवरण टिपाइयो ।

तर सरसफाईको साह्रै समस्या रहेछ होल्डिङ सेन्टरमै पनि । फोहोर र दुर्गन्ध थियो । शौचालयको फोहोर देख्दा लाग्यो, यहाँ त यस्तो छ, प्रदेशमा के हाल होला त ? मनमा अनेक प्रश्न र जिज्ञासाहरु हुँडलिन थाले । जे भए पनि आफ्नो गाउँ, आफ्नै ठाउँ आउनै पर्‍यो । मसहित २७ जनाको टोली बुटवलको होल्डिकाेङ सेन्टरमा आइयो । त्यहाँ पनि सोधपुछ भयो । त्यहाँको पनि अवस्था त उस्तै रहेछ ।

मानिसको भिडभाड, फोहोर चर्पी अनि व्यवस्थापन पनि उस्तै खत्तम । त्यहाँ हामीलाई व्यवहार पनि त्यस्तै भयो । पालिकाका प्रतिनिधिले गाडी व्यवस्था गरेको भए जानुहोस् नभए आफैं गाडी रिजर्भ गरेर जानुहोस् भन्नुभयो । केही साथीहरुले सम्बन्धित नगरपालिकामा फोन गर्नुभयो, तर त्यस्तो व्यवस्था नभएको बताए । कसैले फोन नै उठाएनन् ।

अनि हामी सबैजना मिलेर गाडीको व्यवस्था गरेर आफ्नो जिल्लातर्फ हिँड्यौं । जिल्लामा होल्डिङ सेन्टरको व्यवस्था रहेनछ । प्रहरी आउनुभयो । सामान्य सोधपुछ गर्नुभयो । बुटवलबाट आफ्नो जिल्ला पुग्दा हामीलाई असाध्यै गाह्रो भइसकेको थियो । पानी पनि पिएका थिएनौं । प्यास उस्तै लागेको थियो ।

त्यसैले त्यहाँ वरपर रहेका आफन्तसँग सम्पर्क गरेर पानी ल्याउन भन्यौं, तर उहाँहरु मान्नुभएन । होटल खुलेका थिए, तर पानी पनि दिएनन् । एक जना चिनेको दाइलाई सम्पर्क गरी पानीको व्यवस्था गरिदिन आग्रह गरेपछि उहाँले आफैंले पानी लिएर आउनुभयो । परदेशमा बरु विदेशीले पानी दिन्थे, खान दिन्थे, तर स्वदेशमा आफ्नैले पानीसम्म दिएनन् ।

अब फेरि नगरपालिका जान वडा प्रमुखलाई फोन गरियो । तर त्यहाँ पनि गाडीको सुबिधा नभएको जानकारी आयो । फेरि गाडी रिजर्भ गरेर नगरपालिका पुगियो । विदेशमा भोगेका झैं विभिन्न समस्या भोग्दै आफ्नो ठाउँमा पुगियो । तर त्यहाँ पनि व्यवस्थापन त सोच्दै नसोचेको रहेछ । अर्घाखाँचीको भुमेकास्थान नगरपालिकाको पिपलनेटामा छु ।

यहाँको क्वरेण्टीनमा न सरसफाइ न शौचालयको ब्यवस्था । न केही रेखदेख । ६ दिन भयो मुसुराको दाल, आलु र चामल दिएको । त्योबाहेक अरु केही पनि पाएका छैनौं । न त क्वरेण्टीन निरीक्षणको लागि कोही आउनु हुन्छ । नेपाल आइयो खुसी छ मन, तर यहाँको व्यवस्थापन र हामीलाई गरिएको व्यवहारले दुःखी पनि भएका छौं । कुनै जाँच पनि भएको छैन । न खानाको राम्रो व्यवस्था छ, न त सुत्ने ठाउँ नै राम्रो ।

मानिसले मानिसलाई गर्ने व्यवहार देख्दा लाग्छ हामी क्वरेण्टीनमा बसेकाहरु मानिस नै होइनौं । चेतनाको कमी हो या यहाँको नेतृत्वको कमजोरी मैले बुझ्न सकेको छैन । यस्तो भन्दा त बरु घरमा बस्न दिएको भए हुन्थ्यो, जाँचै हुँदैन, हाम्रो स्वास्थ्यको ख्याल नै हुँदैन भने किन क्वरेण्टीनमा राख्नुहुन्छ ? म यो प्रश्न भुमेकास्थान नगरपालिकालाई सोध्न चाहान्छु ।

अन्तिम अपडेट: साउन ७, २०७७

तपाईको प्रतिक्रिया