सुदूरपश्चिम : सङ्क्रमितमध्ये १५ सय ८५ जना डिस्चार्ज, ६७ जना अस्पतालमा

 असार ३१, २०७७ बुधबार १४:४६:२३ | सीताराम ओझा
unn.prixa.net

कैलाली – सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म तीन हजार नौ सय ५६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या तीन हजार नौ सय ५६ पुगेको हो । अहिले विभिन्न अस्पताल र क्वरेण्टीनमा गरी ६७ जनाको उपचार भइरहेको छ । 

सङ्क्रमितकध्ये १५८५ जना डिस्चार्ज

सुदूरपश्चिमका विभिन्न अस्पताल र पालिकामा बनाइएका आइसोलेशनबाट एक हजार पाँच सय ८५ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । 

प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस ब्रिफिङमा मङ्गलबार साँझसम्म एक हजार पाँच सय ८५ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएको जानकारी दिनुभएको छ । उहाँका अनुसार मङ्गलबार मात्रै अछाम जिल्लाका ६७ जनालाई विभिन्न अस्पताल र क्वरेण्टीनबाट घर पठाइएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढी कञ्चनपुरका तीन सय ७५, अछामका तीन सय १४, डडेल्धुराका दुई सय ६७ र बैतडीका दुई सय ५२ जनालाई उपचारपछि डिस्चार्ज गरिएको छ । डोटीका एक सय ५७, कैलालीका एक सय १८, बझाङका ८७, दार्चुलाका १३ र बाजुराका दुई जना सङ्क्रमित डिस्चार्ज भएका छन् ।  

उनीहरुलाई १४ दिनसम्म अस्पतालमा भर्ना गरिएको र कोरोनाको लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको मन्त्रालयले जनाएको छ । तीमध्ये केही भने कोरोनालाई जितेर डिस्चार्ज भएका हुन् ।

६७ जनाको अस्पतालमा उपचार हुँदै

सुदूरपश्चिम प्रदेशका ६७ जना सङ्क्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मन्त्रालयका अनुसार टीकापुर अस्पतालमा २७, महाकाली अस्पतालमा १८, जिल्ला अस्पताल अछाममा १०, सेती अस्पतालमा सात, मालाखेती अस्पतालमा तीन र डोटी अस्पतालमा दुई जना गरी ६७ जनाको उपचार भइरहेको छ ।

सुदूरपश्चिमका दुई हजार दुई सय ९६ जना सङ्क्रमित विभिन्न क्वरेण्टीन र घरमा रहेका छन् । १४ दिनसम्म कुनै पनि लक्षण नदेखिएपछि ती सङ्क्रमितहरुलाई घर पठाइएको हो ।

आठ जना ज्यान गयो 

सुदूरपश्चिम प्रदेशमा काेराेना भाइरसकाे सङ्क्रमणकाे कारण अहिलेसम्म आठ जनाको ज्यान गएको छ । त्यसमा सबैभन्दा बढी कैलालीका चार जनाको ज्यान गएको छ । तीमध्ये कैलालीको धनगढीकी एक महिला अत्तरियाका दुई पुरुष र लम्कीकी एक महिला रहेकी छिन् ।

त्यसैगरी बाजुरामा दुई जना, अछाम र बझाङमा एक/एक जनाको ज्यान गएकाे छ । यीमध्ये एक जनाले कोरोना पोजिटिभ देखिएपछि आत्महत्या गरेका थिए । काेराेनाकाे कारण सुदूरपश्चिमभित्र ६ जना र प्रदेशबाहिर दुई जनाको ज्यान गएकाे सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: चैत २, २०८०

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया