सी जिनपिङसँग वार्ता गर्ने कुनै योजना छैन : ट्रम्प

 असार ३१, २०७७ बुधबार १८:१६:१६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हङकङलाई दिइएको विशेष हैसियत अन्त्य गर्ने आदेश जारी गरेका छन् । हङकङमा नयाँ सुरक्षा कानुन लागू भएपछि ट्रम्पले यस्तो घोषणा गरेका हुन् । 
ट्रम्पले आदेश जारी गर्दै भने, ‘अब हङकङको हैसियत पनि मुख्य भूमि चीनको जस्तै हुनेछ ।’

चीनले अमेरिकाको यो कदमको कडा आलोचना गर्दै जवाफी कारबाही गर्ने जनाएको छ । 

नयाँ सुरक्षा कानुनले हङकङका नागरिकको स्वतन्त्रता खतरामा परेको अमेरिकाले बताउँदै आएको छ । साथै अमेरिकी राष्ट्रपतिले एक पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै चिनियाँ राष्ट्रपति सी जिनपिङसँग वार्ता गर्ने कुनै योजना नभएको बताएका छन् । ‘मैले जिनपिङसँग कुनै कुराकानी गरेको छैन र उनीसँग कुराकानी गर्ने कुनै योजना छैन ।’

उनले भने, ‘कोरोना भाइरसको जानकारी लुकाएको पूरै विश्वमा भाइरस फैलिनुमा चीन नै जिम्मेवार रहेको हामीले भन्दै आएका छौँ ।’

तर अमेरिकामा कोरोना भाइरसको अवस्थालाई लिएर ट्रम्प सरकारमाथि पनि प्रश्न तेर्स्याइएको छ । अमेरिकामा अहिलेसम्म ३४ लाखभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकोमा एक लाख ३६ हजारभन्दा धेरैको मृत्यु भएको छ । 

ट्रम्पले के भने ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकारी आदेशमा हङकङलाई दिँदै आएको विशेष हैसियत अन्त्य गर्न लागेको बताए । 

उनले भने, ‘कुनै विशेष सुविधा छैन, कुनै विशेष आर्थिक सुविधा छैन र संवेदनशील प्रविधिको निर्यात पनि हुँदैन ।’

ट्रम्पले गएको मे महिनामा नै हङकङलाई दिँदै आएको विशेष हैसियतको अन्त्य गर्ने कदमको सुरुवात हुने बताएका थिए । 

राष्ट्रपति ट्रम्पले हङकङ स्वायत्ता विधेयकलाई अनुमोदन गरेको जानकारी दिए, जसलाई यो महिनाको सुरुमा नै अमेरिकी संसद्ले पास गरेको थियो । 

उनले भने, ‘यो कानुन मेरो प्रशासनलाई नयाँ शक्तिशाली अधिकार दिन्छ, जसमा हङकङको स्वतन्त्रता कम गर्ने व्यक्ति र संस्थाहरुलाई जिम्मेवार ठहराइनेछ ।’

सन् १९९७ मा हङकङ चीनलाई सुम्पिएको थियो । त्यसअघि हङकङ बेलायतको उपनिवशे थियो । सन् १९८४ मा हङकङलाई लिएर बेलायत र चीनबीच सम्झौता भएको थियो । 
हङकङलाई विशेष दर्जा दिने विषयमा दुई देशबीच सहमित भएको थियो । 

हङकङमा लागू भएको नयाँ सुरक्षा कानुनले यसको उल्लङ्घन हुने मानिएको छ । यो कानुनअनुसार चीन सरकारको आलोचना गर्न पनि प्रतिबन्ध छ । 

चीनले के भन्यो ?

चीनले भने यो आफ्नो आन्तरिक विषयमा हस्तक्षेप भएको बताएको छ । 

चीनको विदेश मन्त्रालयले अमेरिकाको यो कदमको आलोचना गरेको छ । विदेश मन्त्रालयमार्फत जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘चीनले पनि आफ्नो हितको रक्षाको लागि अमेरिकी नागरिक र संस्थामाथि प्रतिबन्ध लगाउनेछ ।’

हङकङमा नयाँ सुरक्षा कानुन लागू गर्नबाट रोक्ने अमेरिकी कोसिस कहिल्यै सफल नहुने पनि विज्ञप्तिमा उल्लेख छ । ‘गल्ती सुधार्नको लागि हामी अमेरिकालाई आग्रह गर्छाैँ । यदि अमेरिकाले यसो गरिरहने हो भने चीनले पनि यसको कडा जवाफ दिनेछ ।’

चीन–अमेरिका सम्बन्ध 

पछिल्ला केही महिनामा चीन र अमेरिकाबीचको सम्बन्ध निकै अस्तव्यस्त रहेको छ । 

ट्रम्पको सामु आउँदो नोभेम्बरमा हुने राष्ट्रपतीय चुनाव जित्ने चुनौती पनि छ । ट्रम्प र उनका प्रतिद्वन्द्वी जो बाइडन एकअर्कामाथि चीनको विषयमा कमजोर भएको आरोप लगाउँदै आएका छन् । 

गएको सोमबार अमेरिकाले दक्षिण चीन सागरमा चिनियाँ सैनिकको बढ्दो उपस्थितिको आलोचना गर्दै छिमेकीलाई तर्साउने गरेको आरोप लगाएको थियो । 

कोरोना भाइरसलाई लिएर सुरुदेखि नै दुई देशबीच विवाद रहँदै आएको छ । ट्रम्पले कोरोना भाइरसलाई चिनियाँ भाइरस भन्दै आइरहेको छन् । 

गएको हप्ता अमेरिका आधिकारिक रुपमा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) बाट पनि हटेको थियो । 

अमेरिकाले चीनमा विगर मुस्लिम समुदायमाथि यातना भइरहेको आरोप लगाउँदै कैयौँ चिनियाँ अधिकारीमाथि प्रतिबन्ध लगाएको थियो । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया