सुस्मिता हत्या प्रकरण : अभियुक्तलाई थुनामा राख्न आदेश

 असार ३१, २०७७ बुधबार १८:४१:५३ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – जिल्ला अदालत मकवानपुरले हेटौँडा उपमहानगरपालिका ४ कर्रा सूर्यचोककी २६ वर्षीया सुस्मिता थापाको हत्या अभियोगमा संलग्न चार जनालाई पुर्पक्षकाे लागि थुनामा राख्न आदेश दिएको छ । 

बुधबार जिल्ला अदालत मकवानपुरका न्यायाधीश सीता शर्मा अधिकारीको एकल इजलासले सुस्मिताको हत्यामा संलग्न चार जना अभियुक्तलाई पुर्पक्षकाे लागि थुनामा राख्न आदेश दिएको हो । मङ्गलबार नै थुनछेक बहस सकिए पनि समय अभावले आदेश भने बुधबारलाई सारिएको थियो ।

हत्या अभियोगमा पक्राउ परेका सुस्मिताका ससुरा ५८ वर्षीय प्रकाश थापा र नन्द २३ वर्षीया सीता थापा, सासु ५० वर्षीया तुलसाकुमारी थापा र अर्की नन्द २७ वर्षीया दुर्गा थापालाई पुर्पक्षकाे लागि थुनामा राख्न आदेश दिइएको जिल्ला अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिनुभयाे । 

हत्यामा संलग्न ससुरा प्रकाश थापा र नन्द सीता थापालाई आजीवन कैद सजायको माग दाबी गर्दै सरकारी वकिल कार्यालय मकवानपुरले आइतबार जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको थियो । त्यसैगरी घटनाको मतियारको रुपमा सासु तुलसीकुमारी थापालाई १२ वर्ष जेल सजायको माग गर्दै, अर्की नन्द दुर्गा थापा र उनका पति ३४ वर्षीय अरुण कार्कीलाई हत्यामा षड्यन्त्र गरेको दाबी गर्दै २५ वर्ष कैद माग गर्दै अभियोग पत्र दर्ता गरेको थियो ।  

मकवानपुर प्रहरीले असार १५ गते कार्यालय परिसरमा पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्न सासु–ससुरा र दुई जना नन्दलाई सार्वजनिक गरेको थियो भने दुर्गा थापाकी श्रीमान् अरुण कार्की भने अझै प्रहरी र अदालतको सम्पर्कमा आएका छैनन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया