महामारीमा परदेशीका भोगाइ : कुकुर आफ्नो भयो तर मान्छे पराइ

परदेशमा भुक्तमान, स्वदेशमा अपमान

 साउन १, २०७७ बिहिबार १५:५३:१५ | सन्जिता देवकोटा
unn.prixa.net

काठमाण्डौ – यूएईबाट फर्किएका रमेश बुढाथोकीसहित उहाँका साथीहरु गएको असार ६ गते साँझ खरिपाटीमा रहेको क्वरेण्टीनमा पुग्नुभयो । क्वरेण्टीन नजिकैको किराना पसलमा बिस्कुट र चाउचाउ किन्न जानुभयो । 

पसलेसँग बिस्कुट माग्नुभयो । तर रमेश र उहाँका साथीहरुलाई देख्नासाथ पसलेले हतारहतार सटर लगाउन थाले । 

रमेशले सटर लगाउनुभन्दा परबाटै खानेकुरा फालिदन आग्रह गर्नुभयो । तर पसलेले कुरा सुनेनन् । 

‘हामीलाई भोक लागेको छ परैबाट फालिदिनुस्, हामी पैसा यहीँबाट दिन्छौं भन्दा पनि मान्नु भएन’ रमेश त्यो क्षण सम्झँदै भन्नुहुन्छ, ‘विदेशबाट जे सोचेर आइएको थियो, यहाँ आउना साथ भोग्नु परेको त्यो व्यवहारले मनमा साह्रै नराम्रो लाग्यो ।’

परदेशबाट आएको भन्ने थाहा पाएपछि मानिस त छेउमा परेनन् । तर पिँढीमा बसेर बिस्कुट खाइरहेका रमेश र उहाँका साथीलाई देखेपछि एउटा कुकुर भने पुच्छर हल्लाउँदै उनीहरु नजिक आयो । आफ्नो गाँसको बिस्कुट रमेशले त्यो कुकुरलाई दिनुभयो । उसले एक टुक्रा पनि नछोडी खायो । बिस्टुक दिने रमेश र उहाँका साथीहरुलाई धन्यवाद दिन होला कुकुरले पुच्छर हल्लायो । 

थप खानेकुरा किन्न नपाएपछि सँगै आएका साथीसँग भएको दुई पुरिया बिस्कुट बाँडेर खानुभयो ।

परदेशबाट आएको भन्ने थाहा पाएपछि मानिस त छेउमा परेनन् । तर पिँढीमा बसेर बिस्कुट खाइरहेका रमेश र उहाँका साथीलाई देखेपछि एउटा कुकुर भने पुच्छर हल्लाउँदै उनीहरु नजिक आयो । 

आफ्नो गाँसको बिस्कुट रमेशले त्यो कुकुरलाई दिनुभयो । उसले एक टुक्रा पनि नछोडी खायो । बिस्टुक दिने रमेश र उहाँका साथीहरुलाई धन्यवाद दिन होला कुकुरले पुच्छर हल्लायो । 

‘त्यो कुकुरले बरु हामीलाई विभेद गरेन, मानिस त छेउमै परेनन्,’ रमेश नमिठो मान्दै सुनाउनुहुन्छ, ‘निकै बेर त्यो कुकुरलाई सुम्सुम्याएँ, लाग्यो मानिसले त हामीलाई मानिस ठानेनन्, हामी भोकै छौं भन्दा पनि सुनेनन्, साँच्चै दुःख र सुखको साथी त जनावर, पशु पो रहेछन् ।’

म्यानपावरको झुटमा पर्दा खाडीको धुप र कोरोनाको जोखिमबाट बच्दै स्वदेश आइपुग्दा मानिसले गरेको व्यवहार र जनावरको प्यार देख्दा रमेशको मन अमिलो भयो । 

स्वदेश आएर गल्ती पो गरिएछ कि भनेर सोच्न बाध्य बनायो । तर आफ्नो देश, आफ्नो घर नआएर कहाँ जानु ?

जान त कमाउनै भनेर गएको हो नि ! तर पैसाका लागि म्यानपावरले भविष्य र सपनामाथि खेलिदियो । ट्याक्सी चलाउने काममा महिनाको डेढ, दुई लाख रुपैयाँ कमाइ हुन्छ भनेर आश देखायो । तर त्यही झुटले १० महिनाअघि यूएई पुर्‍याएर अलपत्र पारिदियो ।

न भनेको काम मिल्यो, न त गरेको काममा पेट भर्न मिल्ने दाम नै । परदेशमा काम र दाम नभएपछि कसरी बस्नु ? रमेशसहित उहाँका थुप्रै साथीले स्वदेश फिर्तीको प्रक्रिया चाल्नुभयो । तर स्वदेश फर्कन नपाउँदै कोरोनाले संसारलाई छोप्यो । उहाँहरु उतै रोकिनुभयो । 

कोरोनासँग दुनियाँ डराएर घरभित्रै बसेका बेला गाँस र बासका लागि सडकमा आउनु पर्‍यो । कति रात त यूएईका पार्कमै निदाउनु पर्‍यो । बल्लबल्ल स्वदेश आउन जहाज चढ्न पाइयो । तर दुःखको समुद्र पार गर्दै आफ्नो माटोमा आइपुगेका परदेशीले आफ्नैबाट तिरस्कार सहनु पर्‍यो । 

झापाका रमेशसहित प्रदेश १ का अरुलाई खरिपाटीबाट सम्बन्धित जिल्ला लैजानका लागि गाडीमा राखियो । 

मन डराएको थियो । अब के के भोग्नुपर्ने हो भनेर सोच्न सक्ने अवस्थै थिएन । जे होला, परेको बेहोरौंला भन्दै रमेश आफ्नै पालिकाको क्वरेण्टीनमा बस्नका लागि गाडी चढ्नुभयो । 

खरिपाटीबाट गुडेको गाडी बेलाबेलामा रोकिन्थ्यो । त्यो पनि जंगलमा । जंगलमा दिसापिसाब गरिसकेपछि गाडी आफ्नै गतिमा अघि बढ्यो । साथमा खानेकुरा केही थिएन । गाडी खानेकुरा किन्न मिल्ने ठाउँमा रोकिएन । चालकलाई निकै अनुरोध गरेपछि बल्लबल्ल सिन्धुलीको खुर्कोटमा रोकियो । तर त्यहाँ पनि त्यस्तै अपमान सहनु पर्‍यो ।

खाडी रोकिनासाथ यता नआउनुस्, तपाईँहरु नझर्नुस्, यहाँ केही पाइँदैन भन्दै चालकलाई पनि गाडी किन रोकेको भन्दै थर्काए,’ रमेश यात्रामा भोगेको कठिनाइ सुनाउनुहुन्छ, ‘कोरोना बम उता जानुस्, छिटो गाडी लानुस् मात्र भने ।’

 

चालकले गाडी त रोके । तर स्थानीयले विदेशबाट फर्किएको थाहा पाएपछि ओर्लन पनि दिएनन् । चालकलाई समेत हप्काए । 

‘हामीले निकै अनुरोध गरेपछि चालकले गाडी रोक्नुभएको थियो, एउटा होटल खुल्ला थियो, तर खाडी रोकिनासाथ यता नआउनुस्, तपाईँहरु नझर्नुस्, यहाँ केही पाइँदैन भन्दै चालकलाई पनि गाडी किन रोकेको भन्दै थर्काए,’ रमेश यात्रामा भोगेको कठिनाइ सुनाउनुहुन्छ, ‘कोरोना बम उता जानुस्, छिटो गाडी लानुस् मात्र भने ।’

चुपचाप गाडीमा अघि बढ्नुबाहेक विकल्पै रहेन । अघिसम्म त भोकले पेट खाली भएको थियो । तर गाउँ समाजले गरेको व्यवहारले मन भरियो । गाडीमा रमेशजस्ता पुरुष मात्रै थिएनन् । जो भोक र तिर्खा सहन सक्थे । त्यहाँ त गर्भवती र बिरामी महिलाहरु पनि थिए । सबै जना भोकै/तिर्खै आफ्नो प्रदेशको होल्डिङ सेन्टरसम्म पुगे । त्यहाँबाट आफ्नै पालिकाको क्वरेण्टीनमा १४ दिन बस्नुभयो । क्वरेण्टीनको बसाइ भने परदेशको दुःख र बाटोभरी खेपेका अपमानभन्दा सुखद नै रह्यो ।

रमेश अहिले १४ दिन पालिकाको क्वरेण्टीनमा बसेर घर फर्किसक्नुभएको छ । कोरोना नेगेटिभ भएको रिपोर्ट हातमा छ । होम क्वरेण्टीनमा बसिरहनुभएको छ । दिनहरु बित्दै जाँदा मानिसले गर्ने विभेद कम हुँदै गएको छ । तर दुःखमा परेर सहरा खोज्दै आफ्नो गाउँठाउँ फर्कंदा आफ्नैले गरेको व्यवहार भने मनबाट हटेको छैन । 

जिल्ला पुग्दा पानी पनि दिएनन्

कोरोनाको कारण अर्घाखाँचीका उमानन्द भुषालको जागिर गुम्यो । तीन महिना यूएईमा बेरोजगार भएर बस्नु पर्‍यो । खाँदा बस्दा कमाएको पैसा परदेशमै सकियो । दूतावासको सूचीमा नाम परेपछि आफैंले टिकट काटेर उहाँ घर फर्कनुभयो ।

विदेशमा हुँदाखाँदाको काम गुम्यो । तीन महिनासम्म कामविहीन भएर ज्यान पाल्न पनि अनेकन समस्या झेल्न पर्‍यो । त्यसमाथि कोरोनाको जोखिम । जे भए पनि परदेशमा सबैको साथ र सहयोग मिल्यो । त्यहाँको दुःख तीन महिनामा टर्‍यो ।

तर जब आफ्नो देश फर्कनुभयो तब सोच्दै नसोचेका दुःख र व्यवहार सहनु पर्‍यो । जसोतसो नेपाली सेनाको संयोजनमा बुटवलमा रहेको होल्डिङ सेन्टरमा पुग्नुभयो । त्यहाँबाट न गाउँ जाने गाडी, न कुनै सुरक्षाका उपाय, न कुनै जाँच । विदेशबाट फर्कने साथीहरुसँग मिलेर जिप रिजर्भ गरेर अर्घाखाँची पुग्नुभयो । 

जिल्लामा होल्डिङ सेन्टरको व्यवस्था रहेनछ । प्रहरीले सामान्य सोधपुछ गरे र आफ्नो सम्बन्धित पालिका, नगरपालिकामा जान भनियो । 

बुटवलदेखि अर्घाखाँची पुग्दा पानी पनि पिउन पाउनुभएको थिएन उहाँले । पालिकामा पुग्ने हतारोभन्दा पनि पानीको तिर्खा बढी थियो । तर परिस्थिति यस्तो भयो कि, विदेशबाट आएको जानकारी पाउनासाथ कसैले पानीसम्म पनि दिएनन् । 

‘वरपर रहेका आफन्तसँग सम्पर्क गरेर पानी ल्याउन भन्यौं, तर उहाँहरु मान्नुभएन, होटल खुलेका थिए, तर पानी दिन मानेनन्,’ उमानन्द भन्नुहुन्छ

‘वरपर रहेका आफन्तसँग सम्पर्क गरेर पानी ल्याउन भन्यौं, तर उहाँहरु मान्नुभएन, होटल खुलेका थिए, तर पानी दिन मानेनन्,’ उमानन्द भन्नुहुन्छ, ‘चिनेका दाइलाई फोन गरेर पानीको व्यवस्था गरिदिन आग्रह गर्‍यौं, धन्न उहाँले पानी ल्याइदिनुभयो र पानी पिउन पाइयो ।’

नजिक नपर्नु, सावधानी अपनाउनु भन्नु त परको कुरा, विदेशबाट आएको भन्दैमा पानीसमेत नदिएको यो घटनाले असाध्यै पोल्यो उमानन्दलाई । परदेशमा दुःख थियो । खल्ती खाली थियो । तर यसको काम छैन, यो नेपाली हो भनेर भेदभाव थिएन । कोरोना सर्न सक्छ भनेर मानिस सचेत थिए । तर मानिस देख्नासाथ तर्सने र तर्कने अवस्था थिएन । 

उमानन्द भन्नुहुन्छ, ‘यहाँ त क्वरेण्टीमा बसेका छौं, न त मानिस नजिक पर्छन्, न जाँच हुन्छ, आफ्नै देशमा पनि यस्तो, कस्तो दिन आएछ !’

आफ्नो भन्ने कोही नभएको परदेशबाट नेपाल आउन पाएकोमा उहाँको मन त खुसी छ । तर मानिसले गरेको व्यवहार र क्वरेण्टीनको व्यवस्थापने मन दुःखेको छ उहाँको । 

‘क्वरेण्टीनमा कुनै जाँच पनि भएको छैन, ७ दिन भयो आएको,  न खानाको राम्रो व्यवस्था छ, न त सुत्ने ठाउँ नै राम्रो’ उमानन्द भन्नुहुन्छ, ‘पालिकासम्म त आइयो तर घर जान पाइन्छ कि पाइन्न थाहा छैन ।’

कुवेतबाट आएकी आमालाई भेटेको निहुँमा छोराछोरीलाई गाउँ निकाल्ने धम्की

मोरङ केराबारीकी दुर्गा तामाङ कुवेतबाट फर्किएको एक महिना हुन लाग्यो । विदेशबाट फर्किएकाले पूरा गनुपर्ने सबै प्रक्रिया पूरा गरेर दुर्गा घर जानुभएको हो । दुर्गा काठमाण्डौबाट गाउँपालिकाको क्वरेण्टीनमा पुगेको सुनेपछि छोराछोरी त्यहीँ भेट्न पुगे ।

सरकारले तोकेको मापदण्ड अनुसार नै छोराछोरीलाई भेट्नुभयो । दुई वर्षपछि छोराछोरीलाई भेट्दा मन त खुशी भयो । तर आमालाई भेटेर फर्किएका छोराछोरीलाई गाउँ समाजमा गरेको व्यवहारले भने उहाँलाई निकै दुःखी बनायो । 
‘तिमीहरु आमालाई भेटेर आउने, कोरोना फैलन्छ, तिमीहरुलाई अब गाउँमा बस्न दिँदैनौँ भनेछन्’ दुर्गा चित्त दुखाउँदै भन्नुहुन्छ, ‘विदेशबाट हामी आएका हौं, आफ्नो छोराछोरीलाई सर्ला भन्ने कुरामा म पनि सचेत थिएँ, तर जुन व्यवहार मेरो बालबच्चामाथि त्यो सुन्दा क्वरेण्टीनमा बसेकी मलाई कस्तो भयो होला !’

विदेशबाट फर्कनेलाई कोरोना रहेछ भने गाउँलेलाई भन्दा पहिला त आफ्नो परिवारलाई लाग्छ । आफ्नो परिवारको माया कसलाई हुँदैन र ! 

परदेशमा काम चलेकै हुँदो हो, राम्रै हुँदो हो त आफ्नो ज्यान जोखिममा पारेर को फर्कन्थ्यो र ! तर दुःखमा परेकालाई गर्नुपर्ने मानवीय व्यवहार बिर्सेर आफ्नो देशमा गरिएको व्यवहारले भने दुर्गालाई अहिले पनि झस्काइ रहन्छ । किनकी कोरोना नेगेटिभ आएको रिपोर्ट हातमा लिएर घर फर्कंदा पनि दुर्गामाथि हुने अपमान रोकिएको छैन ।

कतिले नाक खुम्च्याउँछन् । कतिले खासखुस गर्दै कुरा काट्छन् । तर दुर्गालाई भने त्यति साह्रो गर्नुपर्छ जस्तो लाग्दैन । किनकी विदेशबाट फर्कनेलाई कोरोना रहेछ भने गाउँलेलाई भन्दा पहिला त आफ्नो परिवारलाई लाग्छ । आफ्नो परिवारको माया कसलाई हुँदैन र ! 

दुर्गा भन्नुहुन्छ, ‘मलाई कोरोना लागोस् भनेर ​कस्ले कल्पना गर्न सक्छ र, सबैलाई ज्यानको माया छ, अरुलाई दोष लगाउनुभन्दा पनि सुरक्षा सतर्कता अपनाऔँ, मन बलियो बनाऔँ ।’

विभेदले समस्या निम्त्याउन सक्छ

विदेशमा समस्यामा परेर फर्कनेलाई आफ्नैले विभेद गर्दा शारीरिक र मानसिक समस्या हुने मनोविमर्शदाता पार्वती श्रेष्ठ बताउनुहुन्छ । कोरोना ल्यायो, यो नआएको भए पनि हुन्थ्यो भनेर विभेद गर्दा विदेशबाट फर्कनेले एक्लो अनुभव गर्ने र मनोभावना गिर्ने हुँदा पछि शारीरिक र मानसिक समस्या निम्तिने उहाँ बताउनुहुन्छ ।

मनोविमर्शदाता श्रेष्ठका अनुसार, समाजले विभेद गर्दा मानिसले क्वरेण्टीन र आइसोलेशनमा बस्न नमान्ने, कोरोनाको लक्षण भए पनि नभन्ने सम्भावना बढ्छ । यो समाजका लागि झन् हानिकारक हुन सक्छ । 

‘यदि कोही व्यक्ति मानसिक रुपमा अर्थात भावनात्मक रुपमा कमजोर वा समस्यामा रहेछ भने चाहिँ हाम्रो व्यवहार र विभेदले झन् त्यो समस्या बढ्छ, उसले अनेक सोच्न सक्छ, एक्लो ठान्न र यो जिन्दगी के काम भन्ने हुन सक्छ,’ मनोविमर्शदाता श्रेष्ठ भन्नुहुन्छ, ‘विदेशबाट फर्कनेलाई भेदभावभन्दा पनि उनीहरुको दुःखमा हामी पनि साथमा छौं भन्नुपर्छ र अपनत्व हुने व्यवहार गर्नपर्छ ।’

स्थानीय सरकार भन्छ : विभेद अन्त्य गर्न काम गरिरहेका छौँ

विदेशबाट फर्कनेमाथि भइरहेका विभेद अन्त्य गर्न जनचेतना फैलाउने काम भइरहेको स्थानीय सरकारको भनाइ छ । विदेशबाट फर्किएकामाथि भइरहेका विभेद कम गर्न र समाजमा सम्मानजनक पुनःस्थापनाका लागि पालिका र नगरपालिकाहरुमा जनप्रतिनिधि आफैं घर घरमा पुगेर सम्झाइ बुझाइ गर्ने गरेको नगरपालिका महासंघकी उपाध्यक्ष कविता ढुङ्गानाले बताउनुभयो ।

तर विदेशबाट फर्कने महिलाको हकमा भने अझ समाजले फरक व्यवहार गर्ने र उनीहरुको सम्मानजनक रुपमा पुनःस्थापनाको लागि जटिल देखिएको उहाँको भनाइ छ । ‘समाजमा विदेशबाट फर्कनेलाई हेलाँहोचो भइरहेका छ, त्यो नहोस् भनेर वडा वडाका जनप्रतिनिधि लागिपर्नुभएको छ, साथै विभिन्न सञ्चारमाध्यमबाट पनि जनचेतना फैलाउने काम भइरहेको छ’ ढुङ्गानाले भन्नुभयो । 

गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ पनि यस्ता विभेद हटाउन समुदायस्तरमा जनचेतना फैलाउने काम भइरहेको बताउनुहुन्छ । 

जनप्रतिनिधि, स्वास्थ्यकर्मी, अन्य कर्मचारीका साथै गाउँगाउँका सचेत युवाहरुसमेत विदेशबाट फर्कनेमाथि हुने विभेद अन्त्यका लागि लागि परेका छन् । तर नतिजा सोचेजस्तो नआएको र मानिसको मनोविज्ञान परिवर्तन गर्न गाह्रो भएको अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । 

तर  पछिल्लो समय सबैले सरकारले तोकेको मापदण्ड पूरा गरेर र कोरोना जाँच नगेटिभ रहेको नतिजा लिएर मात्र गाउँ जाने भएकाले अवस्था सामान्य हुँदै गएको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: साउन ४, २०७७

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया