कोरोनाकाे उच्च जोखिममा रहेको बङ्गलाचुलीमा सङ्क्रमण 'शून्य'

 साउन १, २०७७ बिहिबार १८:३४:२० | हेमराज शर्मा
unn.prixa.net

दाङ – कोरोना भाइरस सङ्क्रमणकाे उच्च जोखिममा रहेको दाङको बङ्गलाचुली गाउँपालिकामा सङ्क्रमण शून्यमा झरेकाे छ । 

बङ्गलाचुली गाउँपालिकामा एक सय ६२ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको थियो । जसमा दुई जना प्युठानकाे माण्डवी गाउँपालिकामा रहेकाेमा उनीहरुलाई आफ्नाे ठाउँ पठाइएको छ ।

बाँकी सङ्क्रमितमध्ये १४ जना झुलीडाँडा आइसोलेशनबाट, ८७ जना पद्ममोदय आइसोलेशनबाट र ५८ जना कोरोना अस्पताल बेलझुण्डीबाट कोरोना जितेर घर फर्किसकेका छन् । त्यस्तै बेलझुण्डीमा उपचाररत एक जना पनि सङ्क्रमणमुक‍्त भएका छन् । 

बङ्गलाचुली गाउँपालिकाले १५ सय ३४ जनाको पीसीआर परीक्षणकाे लागि स्वाब सङ्कलन गरेकाेमा सबैको रिपोर्ट आइसकेको छ । जसमा एक सय ६२ जनामा कोरोना पोजिटिभ देखिएको थियो ।

बङ्गलाचुली गाउँपालिकामा भारतबाट फर्केका १४ सय बढीकाे कोरोना परीक्षण गरिएको थियो । साथै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, जनप्रतिनिधि र सङ्क्रमितहरुको सम्पर्कमा आएका स्थानीयको पनि कोरोना परीक्षण गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भक्तबहादुर जिसीले जानकारी दिनुभयो । 

अहिले बङ्गलाचुली गाउँपालिकामा रहेका सम्पूर्ण क्वरेण्टीन तथा आइसोलेशन खाली रहेको उहाँले बताउनुभयो । स्वास्थ्य शाखा प्रमुख जिसीका अनुसार बङ्गलाचुली गाउँपालिका ४ को झुलीडाँडामा रहेको आइसोलेशनलाई आपत्कालीन प्रयोजनका लागि तयारी अवस्थामा राखिएको छ ।

नेपाल सरकारले जारी गरेको स्वाब सङ्कलन निर्देशिकाअनुसार अहिलेलाई लक्षणविहीनकाे स्वाब सङ्कलन कार्य नगरिएको उहाँले बताउनुभयो । यसैबीच बङ्गलाचुली गाउँपालिकाको व्यवस्थापनमा घोराहीको भरतपुरमा रहेको पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालय भवनमा सञ्चालन गरिएको जिल्लास्तरीय आइसोलेशन बन्द गरिएको छ । 

बङ्गलाचुली गाउँपालिकामा कोरोना सङ्क्रमितहरुको सङ्ख्या शून्यमा झरेपछि आइसोलेशन बन्द गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वलीले बताउनुभयो । गाउँपालिकाले एक औपचारिक कार्यक्रमको आयोजना गरी आइसोलेशन स्थापना गर्न दिने पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालय परिवारलाई कदर पत्रसहित सम्मान गरेको छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया