रुकुम पश्चिम : महिला कुटपिट घटनामा संलग्न ३ प्रहरी निलम्बित

 साउन १, २०७७ बिहिबार १९:७:१६ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – रूकुम पश्चिममा महिलामाथि कुटपिट गरेको घटनामा संलग्न नेपाल प्रहरीका दुई र नगर प्रहरीका एक जनालाई निलम्बन गरिएको छ । आठबीसकोट नगरपालिका ९ की २१ वर्षीया नेहा विष्टमाथि प्रहरीले कुटपिट गरेकाे भिडियो सार्वजनिक भएको थियो ।

घटनामा संलग्न रहेको भन्दै इलाका प्रहरी कार्यालय आठबीसकोटमा कार्यरत प्रहरी हवलदार पृथ्वीबहादुर आग्री, प्रहरी जवान शक्ति परियार र नगर प्रहरी जवान निर्मला विकलाई निलम्बन गरिएको हो । 

गएकाे जेठ १ गते महिलामाथि कुटपिट गरेकाे भिडियाे झण्डै दुई महिनापछि असार २३ गते सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो ।

घटनाको चौतर्फी विरोध भएपछि छानबिन गर्न जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम र आठबीसकोट नगरपालिकाले छुट्टाछुट्टै समिति गठन गरेका थिए । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा कार्यरत प्रहरी निरीक्षक कविराज रोक्काको नेतृत्वमा गठन गरिएको छानबिन समितिले सोमबार जिल्ला प्रहरी कार्यालयमार्फत कर्णाली प्रदेश प्रहरीलाई प्रतिवेदन बुझाएको थियो ।

त्यही प्रतिवेदनका आधारमा प्रहरी हवलदार आग्री र जवान परियारलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीले बताउनुभयो । 

घटनाको पूर्ण अनुसन्धान नसकिएसम्म उनीहरुलाई निलम्बनमा राखिएको डीएसपी केसीले जनाउनुभयो । असार २३ गते कुटपिटको भिडियो सार्वजनिक भएको भोलिपल्टै आठबीसकोट नगरपालिकाले नगर प्रहरी निर्मला विकलाई निलम्बन गरेको थियो । 

यो घटनाको छानबिनको लागि नगरपालिकाले नगरपालिकाका अधिकृत मानबहादुर बुढाथोकीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । 

जेठ १ गते दिउँसो जाजरकोटबाट अत्यधिक मदिरा सेवन गरेर फर्कँदै गरेकी नेहाले नगरपालिकाले स्थापना गरेको हेल्थ डेस्कमा रहेकी स्वास्थ्यकर्मी र प्रहरीलाई गालीगलौज गर्दै ढुङ्गासमेत प्रहार गरेकी थिइन् ।

उनलाई नियन्त्रणमा लिइ स्वास्थ्य परीक्षण गर्ने क्रममा प्रहरीमाथि गालीगलौज र दुर्व्यवहार गरेको स्थानीयले बताएका छन् । नियन्त्रणमा लिइसकेपछि ​कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियोे ।  

अन्तिम अपडेट: चैत २१, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया