रामराज्यको रामकहानी : राम जप्न पाइयोस्, राम राम भन्न नपरोस्  ... !

 साउन ३, २०७७ शनिबार ८:१४:५९ | मिलन तिमिल्सिना
unn.prixa.net

काठमाण्डाै – ‘रामको घरमा रामैराम’ । ‘राम जहाँ गए पनि अयोध्या’ । मैले र प्रधानमन्त्रीले भनेको होइन, प्रचलित नेपाली उखान ।

उखान मात्र हो र, कपुरी क भन्न जानेदेखि पढ्न थालेको हो –रामले भात खाए, सीताले भात खाइन् । भात खाने सीता हाम्री हुन् भने भात खाने राम पनि हाम्रै हुन् । विवाद गर्नुपर्ने कुरै होइन ।

त्यसमाथि नेपालमा जताजतै राम छन् । सत्तामा राम, रामबहादुर थापा । विपक्षमा राम, रामचन्द्र पौडेल । पहिले सत्ता अहिले चाहिँ यता न उताका अर्का राम, बाबुराम । गाउँटोलमा त झन् श्रीराम, सिताराम, बलराम, बाबुराम, रामबहादुर, रामकृष्ण, रामगोपाल, रामराजा, रामप्यारी, रामनाथ...........कति राम, कति राम । यतै राम, उतै राम । अनि जताततै राम भएपछि राम बस्ने ठाउँ अयोध्या पनि जताततै हुने नै भयो ।

नाम मात्रै होइन, रामसँग जोडिएका कति छन् कति कुरा । तपाईंहामी सधैं ठण्डाराम भए पनि देश हाँक्नेलाई रामराज्य छ भन्ने भ्रम छँदैछ । रामराज्य भनेको देशका सबै नागरिकलाई सुखशान्ति परिपूर्ण हुने रामको जस्तो शासन भएको आदर्श राज्य ।

सत्तादेखि सडक हुँदै गाउँसम्म रामै राम भएका मान्छे बस्ने राज्यलाई रामराज्य नै भन्न मिल्छ ।

दुई तिहाईको बलियो सरकार भएको देशमा रामराज्य छैन कसरी भन्ने ? व्यवहारमा पो छैन, आदर्शमा त रामराज्य नै छ । कोरोनाको डर भए पनि मान्छे सुतेकै छन्, उठेकै छन् । जन्मेकै छन्, मरेकै छन् । हुनेले टन्न खाएकै छन्, नहुनेले पनि आधी पेट भरेकै छन् । सडकमा बस र आकाशमा जहाज चल्न छाडे पनि बेलाबेला रेल र पानीजहाजको सपना देख्न पाइएकै छ ।

त्यसमाथि सत्तादेखि सडक हुँदै गाउँसम्म रामै राम भएका मान्छे बस्ने राज्यलाई रामराज्य नै भन्न मिल्छ ।

बिहान उज्यालो भएकै छ, राति अँध्यारो भएकै छ । छिनमा पानी परेकै छ, छिनमा घाम लागेकै छ । तरकारी फलेकै छ, आगो बलेकै छ । कुर्सीको लागि मारमुङ्ग्री, लुछाचुँडी भएकै छ । भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती, बेथिती जस्ता परम्परागत कार्यशैलीले निरन्तरता पाएकै छ । पहिले जे जे थियो, त्यो त्यो भैरहेको छ भनेपछि यसै पनि रामराज्य छ ।

त्यसमाथि सत्तादेखि सडक हुँदै गाउँसम्म रामै राम भएका मान्छे बस्ने राज्यलाई रामराज्य नै भन्न मिल्छ ।

त्यसो त रामराज्य रामछायाँ भयो भने मात्रै मज्जा हुन्छ । रामछायाँ अर्थात थोरै समयको आनन्द, क्षणिक सुख । आनन्द या सुख थोरै भएकै राम्रो । चुनावअघि कम्युनिष्टको घोषणापत्र पढेर नागरिकलाई रामछायाँ भयो । कम्युनिष्टले चुनाव जितेपछि अर्को रामछायाँ मिल्यो ।

एकपटक सरकारको नेतृत्व गरेर सपना बाँडेका ओली नै फेरि प्रधानमन्त्री भएपछि पनि रामछायाँ भयो । ओलीले बेलाबेला सपना, योजना र चुड्किला, उखान सुनाउँछन् । त्योबेला पनि रामछायाँ नै हुन्छ । रामराज्यमा बेलाबेला रामछायाँ पनि चाहिन्छ ।

रामराज्यको शासन गर्छु भन्नेहरु एकले अर्कोलाई रामवाणको सट्टा वचनवाण हान्छन् । हनुमान पाल्छन् । रामरमिता गर्छन् । अनि नागरिकको आशा चाहिँ रामभरोसामा बित्ने गरेको छ ।

रामराज्य भएपछि रामझुपडीमा बस्न पाइन्छ भन्ने नागरिकको आश थियो । रामझुपडी भनेको सानो छाप्रो, सानो भए पनि रामकृपाले पाएको, आरामदायी ठानिएको आफ्नै घर । घर मुन्तिर रामतोरियाँ, अनि सधैंभरि रामरमिता, रामरस । रामरमिता अर्थात आनन्ददायी उत्सवको रमिता, रमाइलो, रमझम । रामरस अर्थात मनलाई सुख दिने वस्तुको उपभोग, सुखचैन । रामराज्य चलाएको छु भन्नेहरुबाट नागरिकले रामरस र रामरमिताको अपेक्षा गर्नु ठूलो कुरा होइन ।

तर रामराज्यको शासन गर्छु भन्नेहरु एकले अर्कोलाई रामवाणको सट्टा वचनवाण हान्छन् । हनुमान पाल्छन् । रामरमिता गर्छन् । अनि नागरिकको आशा चाहिँ रामभरोसामा बित्ने गरेको छ । रामराज्य चलाइरहेको छु भन्नेहरुलाई नै बेलाबेला रामराम भन्नुपर्ने अवस्था आइरहन्छ । 

तर रामराज्यमा पनि ठण्डाराम भएर बस्नुपर्ने हामी रामहरुले अरु के नै गर्न सक्छौं र ? राम बोल्न सकिन्छ, काँध थाप्न सकिन्न । त्यसमाथि रामले पाल्दैन, कामले पाल्छ । राम भने राम छ, घर बसे आराम छ । रामका नाममा आराम हुने भएपछि राम नाम सत्य हो, जाने बाटो पनि त्यतै हो भन्ने पक्का भैहाल्यो ।

अरु जे हुन्छ रामको नाममा हुन्छ । त्यसैले हप्तैपिच्छे नयाँ नयाँ राम राम पाईयोस् । राम नाम सत्य होस्, जाने बाटो स्वर्गै हो । त्यसैले राम जप्न पाईयोस्, राम राम भन्न नपरोस् ।
 

अन्तिम अपडेट: चैत १२, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

1 Comments

  • अरविन्द यादव

    July 18, 2020, 3:16 p.m.

    भारतले budhha was born in India भन्दैमा भारतीयहरूले समर्थन गर्ने तर यही कुरा नेपालले राम नेपालमा जन्मेको कुरा भन्दा नेपालले नै विरोध गर्ने कुरा सान्दर्भिक देखिँदैन।

  •  0 Reply

तपाईको प्रतिक्रिया