दाङ : मोटरसाइकल चोरी गर्ने १४ जना पक्राउ, नक्कली ब्लु–बुक बनाउने यातायातका कर्मचारी पनि फन्दामा

 साउन ४, २०७७ आइतबार १४:१:४ | हेमराज शर्मा
unn.prixa.net

दाङ – प्रहरीले चोरीका मोटरसाइकलसहित दाङमा १४ जनालाई सार्वजनिक गरेको छ । 

जिल्ला प्रहरी कार्यालय दाङले आइतबार पत्रकार सम्मेलन गरी विभिन्न ठाउँबाट मोटरसाइकलसहित पक्राउ परेका १४ जनालाई सार्वजनिक गरेको हो।

पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका १३ का सञ्जय परियार, घोराही १४ का समिर सुनार, सुवास सार्की, केन्द्रबहादुर डाँगी, घोराही १६ का सागर हमाल र घोराही १७ का निरज योगी रहेका छन् ।

त्यसैगरी लमही नगरपालिका ७ का धनीराम चौधरी, हेमन्त गिरी, पाल्टुराम चौधरी, प्रकाश चौधरी, राजपुर २ का रविप्रताव बुढा, राजकुमार यादव, प्रियतम चौधरी र आयोज चौधरी चोरीका माेटरसाइकलसहित पक्राउ परेका हुन् ।

उनीहरुले विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गर्ने, नम्बर प्लेट परिवर्तन गर्ने र बेच्नेसमेत गर्दै आएको प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिनुभयो । साथै प्रहरीले यातायात व्यवस्था कार्यालय राप्ती तुलसीपुरका कार्यालय सहयोगी तुलसीपुर उपमहानगरपालिका ४ का ४८ वर्षीय कृष्णप्रसाद खनाललाई सरकारी छाप किर्ते बनाइ नक्कली ब्लु-बुक बनाएको अभियोगमा पक्राउ गरेको छ ।

खनालसहित तुलसीपुर ६ का अब्दुल हफिस सिद्धिकी, तुलसीपुर ५ का चक्रबहादुर वली, जीवन पोख्रेल र विष्णु घिमिरेलाई पनि लु ४६ प ३५४१ नम्बरको सवारी दर्ता किताब, यातायात व्यवस्था कार्यालय दाङ लेखेको छाप, शाखा अधिकृतको छाप, विभिन्न व्यक्तिको नागरिकताको प्रमाण पत्र, सवारी चालक अनुमति पत्र, ब्लु-बुक, निरोगिताको दस्तखतसहित पक्राउ गरिएको एसपी चन्दले जानकारी दिनुभयो ।

त्यसैगरी गएको जेठ २६ गते गढवा गाउँपालिका १ जेठानगाउँको राप्ती नदी किनारमा राखिएका पाँच वटा एक्साभर्टरमा आगजनी गरेको अभियोगमा विप्लव समूहका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।नेकपा विप्लव समूहका जिल्ला सदस्य तुलसीपुर उपमहानगरपालिका १९ बिजौरीका मदन केसीलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया