शिक्षाविद् भन्छन्, ‘वैकल्पिक सिकाइलाई ‘मोटू पतलू’ जस्तो आकर्षक बनाऔँ’

 साउन ४, २०७७ आइतबार १५:६:२७ | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डाै – धादिङको ज्वालामुखी गाउँपालिका ४ का किशोर श्रेष्ठ कक्षा आठ पास गरेर ९ मा पुगे । तर नयाँ कक्षामा एक दिन पनि बसेर पढ्न पाएका छैनन् । लकडाउनको कारण स्कुल जान नपाएपछि घरायसी काममै व्यस्त छन् । स्कुलले वैकल्पिक माध्यमबाट पढाएको छैन । सरकारले सञ्चालन गरेको टेलिभिजन र रेडियोबाट सञ्चालन भइरहेका कक्षा पनि लिन पाएका छैनन् ।

किशोरकी आमा सीता भन्नुहुन्छ, ‘घरमा टेलिभिजन छैन । घाँस काट्नै पर्‍याे । बारीमा रेडियो बोकेर हिँड्ने कुरा पनि भएन । कसरी पढ्नु खै ? अब कोरोना कहिले सकिन्छ र छोरा स्कुल जान पाउने हो थाहा छैन ।’
उहाँलाई छोराको भविष्यप्रति चिन्ता छ । उहाँ भन्नुहुन्छ,  ‘खेती किसानी गरेर परिवारको छाक टार्ने बेलामा कसरी टेलिभिजन र कम्प्युटर किन्ने ? खै सहरतिर पढाएका छन् भन्छन् । धनीका छोराछोरीले मात्रै पढ्न पाउने भए  । हाम्राले त अलिअलि जानेको पनि बिर्सने भए ।’   

धादिङबेसीमा रहेको धादिङ आवासीय बोर्डिङमा कक्षा ६ मा  पढ्दै आएका उज्जवल दुवाडीले भने केही समय अनलाइन कक्षा लिए । अहिले कक्षा बन्द भइसकेको छ । उज्ज्वल बुबा उमेश भन्नहुन्छ, ‘अनलाइनमा पढ्दा पनि छोराले कक्षाकोठामा जस्तो जाँगर देखाउँदैन थियो । हामी हुँदासम्म पढेको जस्तो गर्ने, नभएको बेला भने गेम खेलेर बस्ने गर्थ्याे । अनलाइन कक्षा पनि स्कुलमा जस्तो प्रभावकारी त नहुने रहेछ । तर पनि केही कुरा भने सिकेकै थियो । अब त स्कुलले अनलाइनबाट पनि नपढाउने भनेको छ ।’ 

कीर्तिपुरका सुभम महर्जन अहिले कक्षा आठमा पढ्छन् । उनी पनि लकडाउन भएदेखि नै स्कुल जान पाएका छैनन् । उनले अनलाइनबाट कक्षा लिँदै आएका छन् । अनलाइन कक्षाबाट पढ्दा धेरै कुरा सिके पनि कक्षाकोठामा पढ्दा जस्तो रमाइलो भने नहुने उनको अनुभव छ । उनी भन्छन्, ‘अनलाइनमा पढ्न त मज्जा नै आउँदैन । स्कुल जान पाएको भए साथीहरुसँग खेल्न पाइन्थ्यो । शिक्षकहरुसँग पनि खाली समयमा पनि रमाइला कुरा गर्न पाइन्थ्यो ।’  

सुभमकी आमा सुनिता पनि छोराको भविष्यप्रति चिन्तित हुनुहुन्छ । लकडाउनपछि छोराको पढाइप्रति रुचि घट्दै गएको उहाँ बताउनुहुन्छ । कोरोनाको कहर त एक दिन सकिएर जाला तर बालबालिकामा यसको असर नराम्ररी पर्छ कि भन्ने उहाँलाई चिन्ता लाग्छ । 

‘कन्सेप्ट’ मा भन्दा ‘कन्टेन्ट’ मा ध्यान दिइयो  

कोरोना भाइरसको त्रासका कारण स्कुल बन्द भएको लामो समय भइसकेको छ । अझै कति समय स्कुल खुल्छ भन्न सकिने अवस्था छैन । वैकल्पिक माध्यमबाट बालबालिकालाई पढाउँदा त्यति प्रभावकारी हुन नसकेको शिक्षाविद्हरु बताउँछन् । शिक्षाविद् डाक्टर विद्यानाथ कोइराला ‘कन्सेप्ट’ मा भन्दा ‘कन्टेन्ट’ मा ध्यान दिएकाले समस्या भएको बताउनुहुन्छ ।  वैकल्पिक शिक्षाको माध्यमबाट हुने पढाइबारे सुने पनि अहिले आएर मात्रै प्रयोग हुँदा यसले अत्याएको उहाँको भनाइ छ ।

कोइराला भन्नुहुन्छ, ‘प्रभावकारी भन्ने कुरा  दुनियाँमा केही हुँदैन । त्यसलाई बनाउने हो ।’ कोइराला उदाहरण दिँदै भन्नुहुन्छ, ‘हामी पाइन्ट किन्न पसलमा जान्छौँ । पसलमा पुगेपछि बेच्न बसेकाले सिधै यो लैजानु भनेर प्याक त गर्दैन नि, होइन र ? । बरु उसले तपाईंलाई कस्तो प्रकारको पाइन्ट राम्रो लाग्छ ? कुन रङको मन पर्छ ? कस्तो निकालौँ भनेर सोधेको हुन्छ । त्यसपछि हामी आफूलाई मन पर्ने पाइन्ट किन्छौँ । विद्यार्थीलाई पनि एउटा तरिकाले जबर्जस्ती सिकाउने प्रयास गर्न हुँदैन ।’

उहाँ अर्को उदाहरण दिँदै भन्नुहुन्छ, ‘मोटू पतलू कार्टुन बालबालिकाले कसरी झुम्मिएर, चाख दिएर हेर्छन् । त्यो हेर्नुको कारण छ । त्यो कार्टुन कन्टेन्टको आधारमा होइन, कन्सेप्टको आधारमा बनाइएको छ । हामीले हाम्रो सिकाइ मोटू पतलू जस्तो प्रभावकारी बनाउन सकेमा वैकल्पिक माध्यमबाट बालबालिकालाई सिकाउँदा पनि प्रभावकारी हुन सक्छ ।  तर हाम्रोमा त्यो हुन सकेको छैन र वैकल्पिक शिक्षा पनि प्रभावकारी हुन सकेको छैन ।’ 

विद्यार्थीले पढ्ने सामग्री शिक्षकले तयार पार्नुपर्छ । त्यो सामग्री सरकारले किनेर प्रयोग गर्ने हो । तर अहिले विना तयारी एक,दुई घण्टा अनलाइन, टीभी र रेडियोमा आउने अनि भट्भट्याउने परिपाटीका कारण विद्यार्थीले राम्रोसँग बुझ्न नसकेको कोइरालाको भनाइ छ । पालिकाहरुले पनि राम्रोसँग समन्वय नगर्दा विद्यार्थीहरु पनि यस्तो शिक्षाबाट बञ्चित हुनुपरेको उहाँले बताउनुभयो ।

कसरी प्रभावकारी बनाउने ?   

शिक्षाविद् विद्यानाथ कोइरालाकाअनुसार सिकाइलाई प्रभावकारी बनाउने धेरै उपाय छन् । त्यसका लागि केही रचनात्मक तरिकाले सोच्नुपर्छ । अहिले वैकल्पिक माध्यमबाट पढाइ भइरहेका ठाउँमा विद्यार्थीलाई रुचि जगाउने तरिकाले पढाउन उहाँको सुझाव छ ।   त्यसका लागि फरक खालको पाठ्यसामग्री तयार गर्नुपर्छ । सबै विद्यार्थीको यसमा पहुँच नहुन पनि सक्छ । यस्तो पहँुच नपुगेका बालबालिकाको लागि सबै पालिकाले आफनो पालिकामा पुर्‍याउनका लागि पहल गर्नुपर्छ । जसको घरमा रेडियो, टेलिभिजन र अनलाइन नभएर पढ्न पाएका छैनन्, त्यस्तो ठाउँमा पालिकाले विभिन्न ठाउँमा श्रव्य,दृश्य सामग्री देखाएर पढ्ने व्यवस्था मिलाउनुपर्ने उहाँ बताउनुहुन्छ । सार्वजनिक ठाउँमा राख्दा धेरै बालबालिकाले त्यो पढ्न पाउँछन् । 

त्यस्तै हुलाकको माध्यमबाट पनि बालबालिकालाई वैकल्पिक शिक्षासँग जोड्न सकिने उहाँको भनाइ छ । उहाँकाअनुसार पालिकाहरुमा विभिन्न पाठ्यसामग्री तयार पारेर पठाउन सकिन्छ । केही दिन लगाएर त्यो विद्यार्थीलाई खोज्न लगाउने गर्दा नयाँ तथ्य पनि फेला पर्ने र बालबालिकालाई व्यस्त राख्नका साथै सिकाइ अभ्यासमा सरिक गराउन सकिने उहाँ बताउनुहुन्छ । 

यस्तै शिक्षकहरुले घरघरमा गएर बालबालिकालाई पढाउने काम पनि गर्न सक्छन् । मकवानपुरलगायतका अरु केही ठाउँमा यस्तो अभ्यास भएको छ । गृहकार्य दिने, गृहकार्य जाँच गर्न, फेरि जाने र सिकाउने काम गरे विद्यार्थीलाई सिकाइप्रति रुचि बढाउन सकिन्छ ।

स्कुल नखुलेको बेला अभिभावकको भूमिका महत्त्वपूर्ण

अर्थ मन्त्रालयले प्रकाशन गरेको आर्थिक वर्ष २०७६/०७७ को आर्थिक सर्वेक्षणअनुसार देशभर  सञ्चालित ३५ हजार पाँच सय २० विद्यालयमध्ये २९ हजार ६ सय सात सामुदायिक विद्यालय छन् । सामुदायिक विद्यालयमध्ये आठ हजार तीन सय ६६ विद्यालयमा कम्प्युटर सुविधा उपलब्ध छ । यी विद्यालयमध्ये तीन हजार ६ सय ७६ विद्यालयले शिक्षण सिकाइ क्रियाकलापमा सूचना प्रविधिको प्रयोग गर्दै आएका छन् । नेपालमा सात हजार निजी विद्यालय रहेका छन् । 

यी सबै विद्यालयले अनलाइन माध्यमबाट कक्षा सञ्चालन गरेका छैनन् । सञ्चालन गरेका कतिले पनि कक्षा बन्द गरिसकेका छन् । सञ्चालन भइरहेकामध्येका पनि धेरै बालबालिका पढाइ लिनबाट छुटेका छन् । त्यस्ता विद्यार्थीलाई सिकाउनको लागि भने अभिभावकको भूमिका महत्त्वपूर्ण हुने शिक्षाविद् कोइराला बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, ‘खेतमा कसरी काम गर्ने, बिरुवा कसरी रोप्ने, फूल कसरी गोड्ने, बिरुवा कसरी उम्रन्छन् भनेर सिकाउन सकिन्छ । घाँस काट्दा कति वटा मुठा भयो । कति वटा त्यान्द्रो हातमा छन् भनेर गन्न लगाउन सकिन्छ ।’ यसो गर्दा बालबालिकाको गणितीय ज्ञानको विकास हुने उहाँ बताउहुन्छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया