गाडी चढ्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

 साउन ४, २०७७ आइतबार १९:८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – यातायात व्यवसायी राष्ट्रिय महासङ्घले तत्काल सार्वजनिक गाडी नचलाउने भएका छन् । यातायात सञ्चालनसम्बन्धी व्यवस्थित कार्यविधि नबनेसम्म गाडी नचलाउने महासङ्घले जनाएको छ ।

यातायात मजदुरको स्वास्थ्य सुरक्षा, कोरोना बीमा र गाडी रोक्ने निश्चित ठाँउलगायतको टुङ्गो नलागेसम्म गाडी नचलाउने महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो ।

सरकारले गएकाे असार २६ गतेदेखि जिल्लाभित्र र काठमाण्डाैकाे हकमा उपत्यकाभित्र छोटा दुरीका सार्वजनिक यातायात सञ्चालन गर्ने अनुमति दिएको थियो । तर यातायात व्यवसायीले सरकारसँग विभिन्न माग राखेर सेवा सञ्चालन नगरे पनि केही यातायातले भने सेवा दिन थालेका छन् ।

काठमाण्डौं उपत्यकामा साझा यातायात, मयूर यातायात, सुन्दर यातायात, केही माइक्रो र टेम्पु चलिरहेका छन् ।  

चल्न थालेका गाडीमा सुरक्षा सतर्कता कस्ता छन् ?   

सुन्दर यातायात

सिट क्षमताकाे आधामात्र यात्रु बाेक्न पाइने हुनाले सरकारले ५० प्रतिशत धेरै भाडा लिन पाउने निणर्य गरे पनि सुन्दर यातायातले लकडाउन अगाडिकै भाडामा चार वटा बिजुली गाडी चलाइरहेको छ ।

गाडीमा सरकारले तोकेको भन्दा सुरक्षित स्वास्थ्य सुरक्षा अपनाइएको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिनुभयो । उहाँले सुन्दर यातायातमा चालक, सहचालकले आफ्नै कम्पनीले उपलब्ध गराएको बुट, प्रोटेक्टिभ ग्लास, प्रोटेक्टिभ सुट, वाशएबल ग्लब्स, मास्क लगाउने गरेकाे बताउनुभयो ।

गाडी चढ्नुअघि प्रत्येक यात्रुको तापक्रम जाँचिने छ भने मास्क नलगाउने यात्रुलाई चढ्न दिइने छैन । त्यस्तै मास्क नलगाएका ६० वर्ष माथिका जेष्ठ नागरिकलाई निःशुल्क मास्क वितरण भइरहेको छ । गाडीलाई दिनदिनै स्यानिटाइज गरिने र प्रत्येक ट्रिपपछि स्प्रे गरिन्छ ।  

मयूर यातायात

मयूर यातायात प्रालीले पनि काठमाण्डाै उपत्यकामा सेवा दिइरहेकाे छ । लामो समयदेखि ग्यारेजमा थन्किएको भएर सबै गाडी एकै पटक निकाल्न नसकिएको र ६ वटा बसबाट सेवा दिइरहेकाे कम्पनीले जनाएकाे छ । 

गाडीमा सरकारले निर्धारण गरेको मापदण्ड अपनाइएको मयूर यातायातका अध्यक्ष मोहनबहादुर श्रेष्ठले जानकारी दिनुभयो । चालकलाई पन्जा, मास्क, स्यानिटाइजर र सहचालकलाई फेसशिल्ड अनिवार्य गरिएको छ । यस्तै गाडीमा भाैतिक दुरी र यात्रुलाई मास्क अनिवार्य गरिएको छ ।

साझा यातायात 

साझा यातायातले यही साउन १ गतेदेखि काठमाण्डौं उपत्यकाका आठ रुटमा २६ वटा बस चलाइरहेको छ । यात्रु र गाडीका कर्मचारीको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै साझा यातायातमा मापदण्ड बनाइएको यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो । उहाँकाअनुसार यात्रुले अनिवार्य मास्क, पञ्जा र स्यानिटाइजर प्रयोग गर्नुपर्छ ।

गाडी चढ्दा र ओर्लिँदा भाैतिक दुरी कायम गर्नुपर्छ । यस्तै सरकारले भनेजस्तै खुद्रा पैसाको व्यवस्था आफै गर्नुपर्ने र  तोकिएको सिटमा बस्नेलगायतका नियम पालना गर्नु पर्नेछ । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया