मोबाइलमा एसएमएस : ‘खोलामा बाढीको जोखिम छ, सुरक्षित ठाउँमा जानुहोस्’

 साउन ६, २०७७ मंगलबार ९:२५:१४ | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डाै – रौतहट गौर नगरपालिकाका विजय किशोर झाको मोबाइलमा साउन ५ गते बिहान एसएमएस आयो ।

एसएमएसमा लेखिएको थियो, ‘वाग्मती खोलामा बाढीको जोखिम छ, सुरक्षित ठाउँमा जानुस् ।’  त्यसपछि उहाँ परिवार र छिमेकीसहित नजिकैको सामुदायिक भवनमा जानुभयो । 

गौर नगरपालिका  २ का नरेन्द्र महतोको मोबाइलमा पनि साउन ५ गते बिहानै एउटा म्यासेज आयो । म्यासेजमा बाढी आउने भन्दै सुरक्षित ठाउँमा जान भनिएको थियो । वाग्मती खोलामा वर्षौंदेखि डुङ्गा चलाउँदै आउनुभएका उहाँ म्यासेज आउनेबित्तिकै डुङ्गा थन्क्याएर घरतिर लाग्नुभयो ।

विजय किशोर र नरेन्द्र महतो जस्ता नदीखोला आसपासमा बस्नेहरु हिजोआज यसैगरी मोबाइलमा आएको सूचना हेर्छन् र बाढी आउने थाहा पाएपछि सुरक्षित ठाउँमा जान्छन् । बाढी पहिरो प्रभावित ठाउँका बासिन्दालाई सम्भावित जोखिमबारे पूर्व जानकारी दिने काम भइरहेको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका मुरारी वस्तीले बताउनुभयो । पहिरोको जोखिमको पूर्व जानकारी दिने सूचना नभए पनि बाढीको पूर्व सूचना भने धेरै ठाउँहरुमा प्रभावकारी देखिएको छ । 

कसरी हुन्छ सूचना संकलन र संप्रेषण

​बाढी पूर्वानुमान महाशाखाले एसएसमएस तथा साइरनको माध्यमबाट बाढीको जोखिमबारे सूचना दिँदै आएको छ । नागरिकसम्म सूचना पुर्याउनका लागि सरकारले वर्षात स्वचालित केन्द्र स्थापना गरेको महाशाखाकाा बरिष्ठ जलविद् विक्रम श्रेष्ठ जुआले जानकारी दिनुभयो ।

यस्ता केन्द्र देशभर १ सय ४ वटा रहेका छन् । यी केन्द्रहरुबाट हरेक १० मिनेटको अन्तरमा नदी तथा खोलामा पानीको मात्रा कति छ भनेर थाहा हुने उहाँले बताउनुभयो ।  यस्ता स्वचालित केन्द्रहरुमार्फत लगातार अनुगमन भइरहन्छ र जोखिमको सम्भावना हुने बित्तिकै त्यो क्षेत्रका बासिन्दाहरुलाई जानकारी दिने गरिन्छ ।

यो केन्द्रबाट विषेशगरी पानी कति परिरहेको छ भन्नेबारे जानकारी लिने गरिन्छ । यस्तै मान्छेले प्रत्यक्ष रुपमा पानीको मात्रा र बहावको निरीक्षण गरेर सूचना सम्प्रेषण गर्न मिल्ने केन्द्रहरु पनि भएको श्रेष्ठ बताउनुहुन्छ । यस्ता केन्द्रहरु देशभर २ सय वटा रहेका छन् । निरीक्षण गरेर सूचना संकलन गर्ने केन्द्रहरु सबै जिल्लामा सञ्चालनमा रहेका छन् । 

यस्तै बाढीको जोखिम आँकलन गर्न विभिन्न नदी तथा खोलाहरुमा जलसतह नाप्ने यन्त्रहरु स्थापना गरिएका छन् । यो यन्त्रमार्फत खोलाको किनारमै गएर हेर्न सकिन्छ । यो यन्त्र पनि प्रायः सबै जिल्लामा रहेका महाशाखाले जनाएको छ । विषेशगरी यस्ता यन्त्रहरु नदी/खोलाको माथिल्लो र तटीय क्षेत्रमा राखिएको हुन्छ । यसबाट पानीको मात्राले खतराको तह पार गर्यो कि गरेन, कहाँसम्म पुग्यो भनेर जानकारी लिन मिल्छ । 

खतराको तहसम्म पुग्यो या पार गर्यो भने तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा जान सूचना सम्प्रेषण गरिन्छ ।  साना नदी तथा खोलाका आसपास बस्ने बासिन्दालाई कम्तीमा दुई घण्टा अगाडि नै एसएसएसमार्फत् त्यसपछि सूचना दिइन्छ भने ठूला नदी क्षेत्रका बासिन्दालाई ५/६ घण्टा अगाडि नै पूर्व सूचना दिने गरिन्छ ।  

कुनै पनि खोलामा पानीको सतह बढ्यो भने त्यसको सूचना बाढी पूर्वानुमान महाशाखामा पुग्छ । अनि त्यो सूचना विभिन्न माध्यमहरुबाट सम्बन्धित क्षेत्रका बासिन्दालाई पपठाइन्छ ।

बाढी आउनसक्ने सम्भावना भएमा यस्ता प्रविधीमार्फत् दिइएको जानकारी नागरिकले तत्काल अपनाएर सुरक्षित ठाउँमा सरिहाले जनधनको नोक्सानी धेरै हुन नपाउने बाढी पूूर्वानुमान महाशाखाका श्रेष्ठ बताउनुहुन्छ । ठूला नदी तटीय क्षेत्रमा बस्ने बासिन्दालाई ५/६ घण्टा अगाडि नै सूचना दिइने हुनाले मोबाइलमा एसएमएस आउनेबित्तिकै वा साइरन बज्नेबित्तिकै जीउधनको सुरक्षा गर्न सहज हुने उहाँ बताउनुहुन्छ ।  

पहिरोबारे भने अहिलेसम्म नेपालमा पूर्वसूचना प्रणाली नभएकाले नागरिकलाई जानकारी दिन कठिन हुने गरेको खानी तथा भूगर्भ विभागका सूचना अधिकारी डाक्टर जनक बहादुर चन्दले बताउनुभयो । तर सम्भावित जोखिमयुक्त ठाउँ भने छुट्याइएकाले पहिले नै नागरिक सतर्क हुनुपर्ने उहाँको भनाई छ । 

पूर्व सूचना सबैले पाउन सकेका छैनन्

बाढीको जोखिमबारे पूर्व सूचना प्रभावकारी भए पनि पर्याप्त हुन नसकेको गुनासो छ । जोखिम क्षेत्रका केही बासिन्दासँग अझै पनि मोबाइल फोनको सुविधा नभएको र टाढा घर भएकाले यसको फाईदा लिन सकेका छैनन । यस्तै जोखिम क्षेत्रको जिल्ला भन्दा बाहिरको जिल्लाबाट निकालिएका सिमकार्ड प्रयोगकर्ताहरुसम्म पनि यो सूचना पुग्दैन । कतै भने सुरक्षित ठाउँ यकिन नहुँदा र सबैले बुझ्नेगरी सूचना सम्प्रेषण नहुँदा पनि यो हुनुपर्ने जति प्रभावकारी हुन सकेको छैन । 

बढी जोखिम मानिएका र सतर्क रहनुपर्ने क्षेत्रहरु 

प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा अलि धेरै पानी पर्ने भएकोले त्यहाँका बासिन्दाले अलि धेरै सावधानी अपनाउनुपर्ने विज्ञहरुले बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलका अनुसार प्रदेश १, प्रदेश २, गण्डकी र प्रदेश ५ मा बाढीको उच्च जोखिम रहेको छ ।

त्यस्तै २०७२ सालको भूकम्पका कारण प्रभावित क्षेत्र सिन्धुपाल्चोक, नुवाकोट, धादिङलगायत जिल्लाका बासिन्दाहरु पहिरोसँग सतर्क रहनुपर्ने हुन्छ । 

भूकम्प गएका प्रभावित क्षेत्रमा एकदेखि साढे एक प्रतिशत घरहरु जोखिममा रहेका छन् । विपदलाई रोक्न त सकिंदैन, तर समयमै सूचना संकलन र सम्प्रेषण गर्न सकेमा सम्भावित जनधनको क्षति भने पक्कै कम गर्न सकिन्छ । 
 

अन्तिम अपडेट: फागुन २९, २०८०

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया