सार्वजनिक बसले मापदण्ड पालना गरेनन्, प्रहरी भन्छ, ‘खबर गर्नुहोस्, कारबाही गर्छौं’

 साउन ६, २०७७ मंगलबार १२:१५:३० | दीपा तिमल्सिना
unn.prixa.net

काठमाण्डाै – रविभवनबाट बल्खु जान लागेका सिताराम घिमिरेले कलंकीको खसीबजार पुगेपछि सार्वजनिक बस भेट्नुभयो ।

झण्डै आधी बाटो हिँडे पनि झरी र हिलोमा उहाँलाई धेरै हिँड्न मन लागेन र बस रोक्नुभयो । बस रोकियो । बसमा पहिले नै यात्रु धेरै भैसकेका थिए । रविभवनबाट चढ्नेहरु पनि धेरै नै भए ।

चढ्न खोज्ने धेरै भए पनि सहचालकले उति चासो दिएनन् । सबै यात्रु चढाए । यात्रु पनि खाली सिटमा बसे । भौतिक दूरीको ख्याल गरेनन् । ‘बस चढ्नैपर्ने बाध्यता, तर सुरक्षा मापदण्ड पालना भएको छैन’ घिमिरेले भन्नुभयो ।

सरकारले सुरक्षा मापदण्ड अपनाएर सार्वजनिक गाडी चलाउने निर्णय गरेपछि काठमाण्डौ उपत्यका र अरु जिल्लामा गाडी चल्न थालेका छन् । यसले काम विशेषले हिँड्नुपर्ने यात्रुलाई केही राहत भएको छ । सँगै जोखिम पनि उत्तिकै बढेको छ ।

सार्वजनिक बस चढ्दा मास्क अनिवार्य लगाउनुपर्ने, स्यानिटाइजर लगाउनु पर्ने र एक सिट छोडेर यात्रुलाई राख्नु पर्ने भनिए पनि त्यसो हुन सकेको छैन । न यात्रु सचेत छन्, न चालक, सहचालक नै । 

आफ्नै सुरमा बस चढ्ने यात्रुले सिट छोडेर बस्न ध्यान दिएका छैनन् भने सहचालकले पनि यो यो सिटमा मात्रै बस्नुस् भन्दैनन् । धेरैजसो गाडीमा स्यानिटाइजरसमेत राखेको देखिंदैन ।

भाडादर फरक फरक

सुरक्षाको मापदण्ड पूरा नगरी यात्रु ओसार्दै गरेका सार्वजनिक गाडीले जथाभावी भाडा लिन थालेका छन् । ‘चार महिनापछि बल्ल बस चलाएका छौं, बसमा हाल्ने तेल समेत उठ्दैन, उठाउनै पर्यो’ एक चालकले भने । 
सरकारले एक सिट छोडेर यात्रु ओसार्ने र ५० प्रतिशतसम्म बढी भाडा लिन सकिने व्यवस्था गरेको छ । 

तर केही गाडीले दोब्बर भाडा लिने गरेका छन् । कलंकी नजिकै सिता पेट्रोलपम्मबाट बस चढेका अमृता सुनारले बल्खुसम्मको भाडा ३० रुपैयाँ तिर्नुभयो । सामान्य अवस्थामा भाडा १५ रुपैयाँ हो ।

सुनार भन्नुहुन्छ, ‘के गर्ने बस चढ्नै पर्ने बाध्यता छ । सरकारले लगाएको नियम कानुनको कहिल्यै पूर्ण पालना हुँदैन । जहिले पनि नागरिकलाई नै सास्ती ।’

बढी भाडा लिने र सुरक्षा मापदण्ड पालना नगर्नेलाई कारबाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले बढी भाडा लिने र सुरक्षा मापदण्ड पालना नगर्नेलाई धमाधम कारबाही गरिरहेको जनाएको छ । 

महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले दैनिक ३०–४० वटा सार्वजनिक गाडीलाई कारबाही गर्ने गरको जानकारी दिनुभयो ।  यस्तै दैनिक एक हजारभन्दा धेरै गाडीलाई ट्राफिक प्रहरीले सम्झाई बुझाई गर्ने गरेको छ । 
‘यात्रुहरु गुनासो मात्रै गर्नुहुन्छ, आआफ्नो ठाउँबाट सबै जिम्मेवार बन्ने भने हामीलाई पनि सजिलो हुन्छ ।

बढी भाडा लिने र सुरक्षा मापदण्ड पालना नगर्ने गाडीबारे जानकारी दिनुस् न, हामी पाँच मिनेटभित्रै कारबाही गर्छौं’, ढकालले भन्नुभयो । 

बढी भाडा लिने र सुरक्षा मापदण्ड पालना नगर्ने सार्वजनिक गाडीबारे यात्रुले प्रहरीको १०० नम्बर वा ट्राफिक प्रहरीको १०३ नम्बरमा फोन गर्न सक्नेछन् । 

उपत्यकाका सबैजसो चोकचोकमा ट्राफिक प्रहरीले सुरक्षा जाँच गरिरहेकाले यात्रुलाई ठग्ने र महामारीका बेलामा लापरबाही गर्नेलाई पाँच मिनेटभित्रै कारबाही गर्ने ढकालको दाबी छ । उहाँका अनुसार उपत्यकाका विभिन्न ठाउँमा ट्राफिक प्रहरीको ४५ वटा  युनिटले अहिले काम गरिरहेको छ ।  तर सबै कुरामा ट्राफिक प्रहरीको मात्रै भर नपर्न उहाँको आग्रह छ ।

यातायात व्यवस्था विभाग पनि अनुगमन गर्ने तयारीमा 

यात्रुले अहिले दोब्बर भाडा तिरिरहेको गुनासो गर्न थालेपछि यातायाता व्यवस्था विभागले पनि सार्वजनिक गाडीमा अनुगमन गर्ने तयारी गरेको छ । 

विभागका महानिर्देशक गोगनबहादुर हमालले सुरक्षा मापदण्ड पालना र भाडाको विषयमा अनुगमन गर्ने तयारी भईरहेको बताउनुभयो । उहाँले गल्ती गर्नेलाई ठाउँका ठाउँ कारबाही हुने पनि बताउनुभयो ।  उहाँ यात्रुको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको कुरा भएकाले नियमको पालना नगर्नेलाई कारबाही हुने बताउनुहुन्छ । 

तर यात्रु  भने बढी भाडा असुल्ने सार्वजनिक गाडीलाई कारबाही हुनेमा विश्वस्त छैनन् ।  

सार्वजनिक गाडी चल्न थालेपछि गाडीमा ओहोरदोहोर गर्न थालेका सुशिला घिमिरे भन्नुहुन्छ, ‘पहिले पनि यातायात व्यवस्था विभागले यात्रुको हितका लागि भनेर नियम बनाएको तर  त्यो पालना भएको छैन ।’ आफू सधैं दोब्बर भाडा तिर्न बाध्य भएको उहाँको गुनासो छ ।  

लकडाउनलाई व्यवस्थित गर्न सरकारले बनाएको सुरक्षा सम्वन्धी मापदण्ड २०७७ अनुसार सुरक्षा मापदण्डमा उल्लेख भएका व्यवस्थाको उल्लंघन गरेमा अत्यावश्यक सेवा ऐन  २०१४, सङ्क्रामक रोग ऐन २०२०, मुलुकी अपराध संहिता २०७४ र स्थानीय प्रशासन ऐन २०२८ तथा अन्य प्रचलित कानुन बमोजिम कारबाही हुने उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

दीपा तिमल्सिना

दीपा तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया